सहकारीको सम्पत्ति रोक्का गर्न बचतकर्ताहरुको माग

सहकारीको सम्पत्ति रोक्का गर्न बचतकर्ताहरुको माग
सुन्नुहोस्

समस्याग्रस्तमा सूचिकृत शिवशिवर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरुले सहकारीको नाममा रहेको सम्पत्ति लिलामीबाट रोक्न माग गरेका छन् । 

सहकारीको नाममा रहेको सम्पत्ति बचतकर्ताहरुबाट संकलित रकमबाट खरिद गरिएको भएको भन्दै लिलामी हुनबाट रोक्न उनीहरुले माग गरेका हुन् । शिवशिखरले एक दर्जनभन्दा बढी बैंकबाट संस्थाको नाममा रहेको सम्पत्ति धितो राखेर करिब सात अर्ब रुपैयाँ ऋण लिएको छ । 

अहिले ऋण तिर्न नसकेपछि बैंकहरुले धमाधम धितो लिलामीको प्रक्रिया अघि बढाएपछि बचतकर्ताहरु तनावमा छन् । उक्त सम्पत्ति आफूहरुको भएकाले लिलामी प्रक्रिया रोक्नुपर्ने उनीहरुको माग छ । 

लिलामी प्रक्रिया रोकेर उक्त सम्पत्ति कुनै व्यापारी प्रतिष्ठानले किन्नुपर्ने र बचत रकम फिर्ता गर्नुपर्ने बचतकर्ताहरुले बताएका छन् । शिवशिखरले बचतकर्ताबाट संकलित रकमबाट सातै प्रदेशमा ४३ वटा विभिन्न कम्पनीमार्फत लगानी गरेको बताइएको छ । 

मुलुकभरका करिब दुई लाख बचतकर्ताको दश अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोपमा सहकारीका सञ्चालक एंव पूर्वअध्यक्ष केदारनाथ शर्मा र संस्थाको लगानी रहेको कम्पनी शिखर अर्गनाइजेसनकी अध्यक्ष गीता शर्मासहितका व्यक्तिहरु थुनामा छन् । 

गीता शर्मा सञ्चालक केदारनाथकी श्रीमती समेत हुन् । बचतकर्ताहरुले आफ्नो निक्षेप फिर्ता नभए थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

टिप्पणीहरू