मलिका भन्छिन्- 'चलचित्रभन्दा नाटक जटिल'
अभिनेत्री मलिका महतले चलचित्र भन्दा नाटकको प्रक्रिया जटिल रहेको टिप्पणी गरेकी छन् । विभिन्न चलचित्र तथा म्युजिक भिडियोमा काम गर्दासमेत अभिनयको वास्तविक परिभाषा नबुझेको बताउँदै उनले एउटै नाटकले अभिनयप्रति आफ्नो दृष्टिकोण बद्लिएको बताइन् ।
पछिल्लो समयकी व्यस्त अभिनेत्री महतले भोलिबाट मण्डला थियटरमा सुरु हुन लागेको नाटक ‘पगला घोडा’बारे जानकारी दिदै यस्तो धारणा राखेकी हुन् ।
त्यसो त, यही नाटकबाटै थियटर डेब्यु गर्न लागेकी हुन् उनले । नाटकको मुख्य भूमिकामा रहेकी मलिकाले चार वटा फरक-फरक पात्रको भूमिका निर्वाह गर्दैछिन् ।
नाटकको वर्कशप सम्झिदै उनले भनिन्, ‘सुरुमा अभिनय मात्र त गर्ने हो जस्तो लागेको थियो । तर, वर्कशपमा आएपछि नाटकको प्रक्रिया निकै फरक हुँदोरहेछ भन्ने थाहा भयो । चलचित्रभन्दा नाटकको प्रक्रिया जटिल रहेछ । सुरुवातमा गाह्रो भएपनि अहिले भने रमाइलो लागिरहेको छ ।’
नाटकमा मलिकासहित प्रमोद अग्रहरी, आशान्त शर्मा, विजय ताम्राकार, विम्ब अधिकारी लगायतको मुखय अभिनय छ ।
प्रसिद्ध भारतीय नाटककार बादल सरकारको कथा रहेको यो नाटकलाई शिव खाँड ठकुरीले नेपालीमा अनुवाद गरेका हुन् । घनश्याम श्रेष्ठले निर्देशन गरेको नाटकले सुपरिवेक्षकको रुपमा कलाकार तथा निर्देशक आशान्त शर्माले साथ दिएका छन् ।
नाटक माघको ६ गतेसम्म हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ ।
टिप्पणीहरू