रत्ननगर महोत्सव र टिकौली चौरको सवाल
रत्ननगरको टिकौली चौर अहिले टिनले बारिएको छ, त्यसभित्र टिनकै टहरा तथा छाप्रोहरु पनि बनाइँदैछ ।
सधैंझैं रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा दुई–दुई वर्षको अन्तरालमा आयोजना हुने रत्ननगर महोत्सव सञ्चालनका लागि त्यहाँ ठाउँ व्यवस्थापन भइरहेको हो । महोत्सवबारे जानकारी दिन हिजो सौराहाको होटल सेभेन स्टारमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले सोही चउरको विषयमा केही प्रश्न गरेका थिए ।
सधैं महोत्सवको लागि चौरको प्रयोग गर्ने, अरुबेला संरक्षणमा ध्यान नदिँदा झाडीमा परिणत भइरहेको भन्दै पत्रकारले आयोजकको चर्काे आलोचना गरे । टिकौली चौरमा महोत्सव गर्दै आम्दानी बटुलेर संघका कर्मचारी पाल्ने, पोस्ने मात्रै हो ? भनी पूर्वीचितवनकै पत्रकारले प्रश्न गरेका थिए भने मध्यवर्ती वनक्षेत्र अन्तर्गत वन्यजन्तु करिडोरको रुपमा रहेको ठाउँमा यसरी महोत्सव गर्दै हजारौं–लाखौं मान्छे उतारेर होहल्ला मच्चाउनु उचित नभएको टिप्पणी पनि पत्रकारबाट गरिएको थियो ।
सो सम्बन्धमा महोत्सव मूल आयोजक समितिको संयोजक समेत रहेका रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले भने, ‘चौबीसै घन्टा गाडी गुडिरहने र गाडीको चर्काे आवाज आइरहने राष्ट्रिय राजमार्ग रहेको ठाउँमा १०–१२ दिनको महोत्सवले खासै फरक नपर्ला ¤’ उक्त चौरलाई पूर्वीचितवनकै प्रदर्शनी केन्द्र बनाउन खोजिएको, रंगशाला बनाउने भनेर शिलान्यास पनि गरिसकिएको उनी बताउँछन् । अर्काे विकल्प भेटिए ठाउँ परिवर्तन गर्न सकिने पत्रकार सम्मेलनको प्रमुख अतिथि रहेका रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वनको भनाइ थियो ।
रत्ननगर महोत्सवको १२ औं संस्करण यही पौष २६ देखि माघ ८ गतेसम्म हुने तय भएको छ । रत्ननगर महोत्सव २०८० मा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय गरी करिब ४५० स्टलहरु रहने बताइएको छ । रत्ननगर महोत्सवले समग्र जिल्ला तथा विशेषगरी पूर्वीचितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको आयोजकको भनाइ छ । ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारा छ ।
महोत्सव परिसरमा बृहत व्यवसायिक कृषि प्रदर्शनी तथा मकैबाली विशेषमा मकैका नयाँ प्रविधि, मकैका परिकार, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई जोड दिइएको बताउँदै अध्यक्ष गिरीले भने, ‘स्थानीय स्तरमा उत्पादित अन्नबाली, मकैबाली, ताजा तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्री लगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल, बीउबिजनहरु महोत्सवमा प्रदर्शन र बजारीकरणको व्यवस्था गरिनेछ ।’ महोत्सवमा चितवनका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरिने, अटो, कृषि, शैक्षिक, पशुपक्षी व्यवसायसँग सम्बन्धित छुट्टै परिसर रहने जनाइएको छ । बालबालिकाहरुका लागि फनपार्क परिसर पनि रहने बताइएको छ । विगतमा जस्तै रत्ननगर महोत्सव २०८० अन्तर्गत सौराहाचोक बसपार्कमा पौष २९ देखि माघ ४ गतेसम्म ‘रत्ननगर सांस्कृतिक खाना महोत्सव’ पनि हुने आयोजकले बतायो ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुति त हुने नै छ । यस वर्ष अझ भव्य र व्यवस्थित सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने तयारी गरिएको आयोजकले बताएका छन् । टिकट शुल्क सर्वसाधारणलाई रु. ५० र विद्यार्थीलाई २५ रुपैयाँ राखिएको छ । रत्ननगर महोत्सवको अवलोकन गर्न टिकट काटेका दर्शकलाई मौलाकालिका केबुलकारबाट लिइने टिकट दर रु. ५५० मा ५० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिइएको छ । सुरक्षाको दृष्टिले महोत्सवलाई पूर्णरुपमा सिसिटिभीबाट निरीक्षण गर्नुका साथै रु. १० करोड बराबर बिमाको व्यवस्था गरिएको आयोजक बताउँछन् ।
टिप्पणीहरू