भित्र भन्दाचाहिँ भाँड्ने अमेरिका र भारत

बाहिर बोल्दा कम्युनिष्टकै नेतामाथि बात

भित्र भन्दाचाहिँ भाँड्ने अमेरिका र भारत

एमाले अध्यक्ष केपी शर्मा ओलीका हरेक सार्वजनिक भाषणमा नछुट्ने एउटा अभिव्यक्ति हो – मलाई षड्यन्त्र गरेर प्रधानमन्त्रीबाट हटाइयो ।

प्रतिनिधिसभा विघटन गर्ने आफ्नै निर्णयपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण प्रधानमन्त्रीबाट बाहिरिनुभएका ओलीले त्यसयता प्रचण्ड र माधव नेपालले दक्षिणपन्थी शक्तिको इशारामा कम्युनिष्ट सरकार ढालेको आरोप लगाउँदै आउनुभएको छ । उहाँको त्यो आक्रोश पछिल्लो संकल्प यात्राका क्रममा पनि दोहोरियो।

ओलीले सार्वजनिक मञ्चमा प्रचण्ड र माधवका कारण आफू प्रधानमन्त्रीबाट हट्नुपरेको आक्रोश पोखे पनि पार्टीका बैठकमा भने बाह्य शक्तिलाई दोष दिने गर्नुभएको छ । आन्तरिक छलफल र निकटहरूसँगको अनौपचारिक कुराकानीमा अमेरिका र भारतको नामै लिएर अहिले पनि आफूविरुद्ध घेराबन्दी भइरहेको बताउने गर्नुहुन्छ । 

संकल्प यात्राअघि गत महिना बसेको केन्द्रीय सचिवालय बैठकमा उहाँले राष्ट्रिय शक्तिको लामो व्याख्या गर्दै आफूलाई राष्ट्रवादको नायकका रूपमा प्रस्तुत गर्नुभएको थियो । एमाले मात्रै मुलुकको बलियो राष्ट्रिय शक्ति भएकाले आफूहरूलाई एक्ल्याउन भारत लागिरहेको उहाँको दाबी थियो । सचिवालयको पछिल्लो बैठकमा पनि अध्यक्ष ओली त्यसैगरी आक्रामक ढंगले प्रस्तुत हुनुभएको बुझिएको छ ।

भारतको लोकसभा बैठक चलिरहेका बेला स्प्रे सल्काएर धुँवा फालिएको घटनामा १४२ जनालाई निलम्बन गरेको प्रसंग उप्काएर उहाँले भारतीय संस्थापनको खरो आलोचना मात्र गर्नुभएन, अचाक्ली तानाशाहीकरण भएको र त्यसको प्रभाव नेपालमा पनि पर्ने चिन्तासमेत व्यक्त गर्नुभएको बताइएको छ । बैठकको प्रारम्भमै उहाँले त्यहाँका पूर्वसेनापति मनोजमुकुन्द नरवानेले ‘छिमेकीहरूलाई तह लगाउनुपर्छ’ भनेको विषयमा आपत्ति प्रकट गर्नुभएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार उहाँको अभिव्यक्तिमा नेपालमाथि पनि खतरा छ भन्ने प्रष्टै बुझिन्थ्यो । यद्यपि, त्यसमा लामो ब्याख्या भने भएन । 

आन्तरिक बैठकमा यसरी भारतको निन्दा गर्ने अध्यक्ष ओली बाहिर भने प्रचण्ड र माधवका कारण कम्युनिष्ट सरकार ढलेको भन्नुहुन्छ । ‘उहाँले बारम्बार मलाई प्रधानमन्त्रीबाट हटाए भनिरहनुभएको छ, त्यसको अर्थ भारत र अमेरिकाले मिलेर हटाए भनिएको हो’, ती नेताले भने, ‘उता सिधै भन्न नसकेर प्रचण्ड र माधवलाई देखाउँदै हुनुहुन्छ ।’

अर्कोतिर, प्रमुख दुई पार्टी मिलेर नयाँ राजनीतिक समीकरण बनाउने एमालेको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा सहमत नहुनुलाई बालकोट निकटहरूले दक्षिणको चाहना ठानेका छन् । राष्ट्रियसभा निर्वाचनमा कांग्रेस र एमालेबीच गठबन्धन गर्दा फाइदा हुने हिसाब देखाउन पुगेका पार्टीको दोस्रो तहका नेतालाई देउवाले ‘ओली रहेसम्म एमालेसँग मिल्न सकिँदैन’ भनेको विषयलाई पनि एमालेहरूले दक्षिणकै बोलि भनेका छन् । एमालेलाई एक्ल्याउन अहिलेकै गठबन्धनलाई कम्फरटेबल छ भन्ने कुरा देउवामार्फत अभिव्यक्त भएको बालकोट निकटहरूको विश्लेषण छ । 

बाह्य शक्ति केन्द्रसँग यतिधेरै रुष्ट हुँदाहुँदै पनि सिधा भन्ने आँट नगर्नुको कारण हो– भविष्यको चिन्ता । किनभने नेपालको राजनीतिमा भारत र अमेरिकाको प्रभाव लुकेको कुरा होइन । ०७० सालको नाकाबन्दीपछि राष्ट्रवादको नायक कहलिनुअघि भारतसँग राम्रै सम्बन्धमा रहनुभएका ओलीलाई भोलि प्रधानमन्त्री हुन उतैको सदाशयता चाहिन्छ भन्ने राम्रोसँग थाहा छ । त्यसकारण उहाँले ‘नाङ्लो ठटाएर हात्ती तर्साउने’ रणनीति अपनाएको सहजै बुझ्न सकिन्छ ।

टिप्पणीहरू