विद्यार्थी नेता जति भए, क्याम्पसचाहिँ बेवारिस
नेपालको संसद्, कार्यपालिका र न्यायपालिकादेखि अन्तर्राष्ट्रिय क्षेत्रमा त्रिभुवन बहुमुखी क्याम्पस तानसेनका विद्यार्थी पुगे पनि यतिबेला उक्त क्याम्पस सबैतिरबाट उपेक्षित बन्न पुगेको छ ।
पार्टी नेता, चलचित्रका नायक, न्यायाधीशदेखि गायकलगायत समाजको विभिन्न क्षेत्रमा स्थापित छन् । यहाँका विद्यार्थी तर क्याम्पसको आर्थिक अवस्था कमजोर र दक्ष जनशक्ति अभावको पीडा बढ्न पुगेको क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई बताउनुहुन्छ । यही क्याम्पसमा शुरु नियुक्ति लिनुभएका त्रिभुवन विश्वविद्यालयका वर्तमान कामु उपकुलपति प्राडा शिवलाल भुसालले समेत समस्यालाई ध्यान दिन नसकेको पूर्वविद्यार्थी तथा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना बताउनुहुन्छ ।
२०११ सालमा स्थापित त्यतिबेला पश्चिम नेपालकै बहुचर्चित यस क्याम्पसमा कुनै बेला करीव ४ हजार विद्यार्थीसम्मले अध्ययन गर्थे । ०१८ मा त्रिभुवन विश्वविद्यालयबाट मान्यताप्राप्त यो क्याम्पस हाल आंगिक भए पनि विश्वविद्यालयले ५८ जना प्राध्यापकको मात्र पारिश्रमिक व्यहोर्ने, आंशिक ३९ प्राध्यापक र ११ कर्मचारीसमेत ५० जनालाई निजी स्रोतबाट तलब खुवाउनुपर्ने अवस्थाले क्याम्पस आर्थिक संकटमा परेको लेखाका एक कर्मचारी बताउँछन् । मानविकी, व्यवस्थापन, विज्ञान, कानुन, शिक्षा संकायलगायत २ हजार ५ सय विद्यार्थीले अध्ययन गर्ने यो क्याम्पसमा प्राध्यापकको दरवन्दी १ सय जना भए पनि पूर्णकालीन ५६ जना मात्र छन् ।
यस क्याम्पसमा अध्ययन गरेका विद्यार्थीमध्ये खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष र प्रधानन्यायाधीश, रामप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश र माधवप्रसाद घिमिरे नेपाल सरकारको गृहमन्त्री बन्नुभयो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू मोहनमान सैंजू र पृथ्वीराज लिगल, राजनीतिक क्षेत्रमा स्थापित चन्द्र भण्डारी, घनश्याम भुसाल, हस्तबहादुर केसी, घनश्याम पाण्डेलगायतले यही क्याम्पसमा पढ्नुभएको हो । तानसेनका पूर्व मेयर अशोककुमार शाही र वर्तमान मेयर सन्तोषलाल श्रेष्ठ यही क्याम्पसका विद्यार्थी हुनुहुन्छ । सन्तोषलाल त क्याम्पस प्रमुखसमेत बन्नुभयो ।
नेकपा (एमाले) पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठलगायतले यही क्याम्पसमा पढ्नुभयो । धनेन्द्रराजले यहीँ पढाउनुभयो । साहित्यकार चोलेश्वर शर्मा, नायक राजेश हमालका पिता चुडाबहादुर हमाल पनि यो क्याम्पसका पूर्वप्रमुख हुनुहुन्थ्यो । पाल्पाका सांसद तथा नेता ठाकुर गैरे, नारायणप्रसाद आचार्य, वीरबहादुर राना, पूर्वमन्त्री सोमप्रसाद पाण्डेलगायतले यहाँ शिक्षा आर्जन गर्नुभयो । यो क्याम्पसमा अध्ययन गर्नुभएका विद्यार्थी राष्ट्रियदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित हुँदा यहाँ दक्ष जनशक्ति अभाव, भवन अभावसँगै आर्थिक अभाव हुनु दुःखद पक्ष हो भन्नुहुन्छ उपप्राध्यापक डा. टंक पन्थ ।
संस्थापक क्याम्पस प्रमुख अयोध्याप्रसाद प्रधानदेखि टंकप्रसाद भट्टराईको पालासम्म आउँदा दलका नेता हुन् वा अन्य अगुवाले क्याम्पसको साख जोगाउन चासो देखाएको पाइँदैन । त्रिभुवन विश्वविद्यालयले १० जना भन्दा कम विद्यार्थी भए नपढा भनेर उर्दी जारी गर्छ, कतिपय संकायमा न्यून संख्या भए पनि विद्यार्थीको मर्का बुझेर क्याम्पस नेतृत्वले अध्यापनलाई निरन्तरता दिनुपर्ने अवस्था छ । आंगिक क्याम्पस भए पनि त्रिभुवन विश्वविद्यालयले उपेक्षा गरेको पाइन्छ ।
विगतमा पाल्पाबाहेक, पर्वत, कास्की, म्याग्दी, बागलुङ, दाङ, सल्यान, प्युठान, सुर्खेत, बर्दिया, बाँके, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, नवलपरासीलगायत जिल्लाबाट विद्यार्थी उच्चा शिक्षा हासिल गर्न आउने त्रिभुवन बहुमुखी क्याम्पस पाल्पालाई विश्वविद्यालयको केन्द्रीय नेतृत्वले समेत उपेक्षा गरेको छ । पटकपटक अनुरोध गर्दा पनि आफूले जिम्मेवारी सम्हाले (२०७७ असार) यता केन्द्रीय नेतृत्वसँग बैठक बस्ने अवसर नजुरेको क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईले गुनासो गर्नुभयो । निजी स्रोतबाट ५० बढी जनशक्ति थेग्न धौ भएको छ ।
भूकम्पले क्षतिग्रस्त पुरानो भवन, पुस्तकालय भवन जीर्ण भएकाले नयाँ भवन बनाउन पुननिर्माण प्राधिकरणबाट प्रस्तावित योजनाको (करीव ७५ करोडको) डिपिआर तयार भयो तर संघीय सरकारले टुंगो लगाउन नसक्दा समस्या परेको छ । यावत् संकटका बाबजुद बिदाका दिनसमेत प्राध्यापकहरू क्याम्पसको काममा खटेको पाइन्छ भने नयाँ–नयाँ विषयमा अध्यापनका लागि क्याम्पस नेतृत्वले प्रयास गरेको देखिन्छ ।
टिप्पणीहरू