बेवारिस बनाए मारवाडीले चिया बगान
सरकारले भारतीय व्यापारी सुवास सांघाईलाई लिजमा दिएको इलामको चार वटा चिया बगान यतिखेर बेवारिसेजस्तै बनेका छन् । सांघाईले बगानको पर्याप्त हेरचाह नगर्दा बोटहरू मासिने अवस्थामा पुगेका छन् । बगानलाई झार जंगलले ढाक्दै लगेको छ । नेपालकै पुरानो चिया बगान हेरचाहको अभावमा झाडी बन्दै गएको छ । लिज समयमा बढीभन्दा बढी नाफा लिने ध्याउन्नमा रहेका सांघाईले चिया स्याहार्नका लागि खासै लगानी गर्दैनन् । यसले गर्दा चियाको बोटको आयुसमेत घट्दै गएको स्थानीय बताउँछन् ।
‘चिया टिप्ने कामबाहेक बोट स्याहार्ने, झार फाँड्ने, मलजल गर्ने काम नगरेकाले बोटभन्दा झार अग्लो भइसकेको छ’, स्थानीय हेम लिम्बूले भने, ‘यस्तै हो भने ५० वर्षमा बोटै सखाप होला जस्तो छ ।’ बगानको बीच–बीचमा रहेको खाली भागमा नयाँ बोट रोप्नुपर्ने भए पनि सांघाईले एक बोट पनि नयाँ चिया रोपेको छैन भने सरकारले समेत यसतर्फ ध्यान दिएको पाइन्न ।
०५७ सालमा सरकारले इलामका इलाम चिया बगान, कन्याम चिया बगान, सोक्तिम चिया बगान र चिलिमकोट चिया बगानसँगै झापाका तीन वटा गरी सात वटा ५० वर्षका लागि सांघाईलाई लिजमा दिएको हो । कहिल्यै पनि बगानको निरीक्षण र यसको स्याहार सुसारका लागि सांघाईलाई निर्देशन दिने काम हुँदैन । यता स्थानीय सरकारले पनि आफ्नो स्वामित्वमा नरहेकाले यसको संरक्षणमा चासो देखाउने गरेका छैनन् । इलाम चिया बगान इलाम नगरपालिकामा, कन्याम चिया बगान सूर्योदय नगरपालिकामा, सोक्तिम र चिलिमकोट चिया बगान माई नगरपालिकामा पर्छ । यी पालिकाले सांघाईसँगको ५० वर्षे लिज भंग गरेर आफूहरूलाई बगान सञ्चालनको जिम्मा दिन माग गरिरहेका छन् ।
सांघाईले कर नतिरेको गुनासो
सांघाईले लिजमा लिएको चिया बगानको भूमि करलगायत अन्य कर बुझाउनुपर्ने स्थानीय सरकारको माग छ । केही स्थानीय तहले पत्राचार पनि गरिरहेका छन् । तर, सांघाईले स्थानीय तहको पत्रलाई बेवास्ता गर्दै कर नतिर्ने गरेको सूर्योदय नगरपालिकाका प्रवक्ता ख्याम भुजेलले बताए । कर नतिर्ने, चिया मजदुरको समस्यालाई संबोधन नगर्ने र बगानको व्यवस्थापन समेत चित्त बुझ्दो नगरेको भन्दै पालिकाहरूले लिज भंग गर्न केन्द्र सरकारसँग माग गर्दै आएको पनि उनले बताए ।
कारखानाको ऐतिहासिक पार्टपुर्जा गायब
इलाम सदरमुकामस्थित नेपालकै पुरानो चिया कारखानाका पार्टपुर्जासमेत सांघाईले अन्यत्र लगेर बेपत्ता बनाएको स्थानीयको आरोप छ । चिया बगान नेपालको पहिलो चिया खेती भएको ठाउँ हो । १९२० मा पहिलो पटक यहाँ चिया खेती गरिएको थियो । सोही ठाउँमा नेपालकै पहिलो उद्योगको रूपमा १९३५ मा कारखाना स्थापना भएको थियो । सांघाईले लिजमा लिएपछि पुराना पित्तलका सामग्री अन्यत्रै लगिएको थियो । नेपालको पुरानो उद्योगमध्येको एक पहिलो चिया उद्योगका पुराना सामग्रीसहितको चिया संग्रहालय बनाइनुपर्ने स्थानीयको माग छ ।
चिया पर्यटन पुस्तकका लेखक डा. देवी क्षेत्री दुलाल नेपालकै पुराना चिया कारखानामा चिया खेती शुरु गर्ने तत्कालीन बडाहाकिम गजराजसिंह थापाको सालिकसहित कारखानालाई संग्रहालयको रूपमा विकास गरिनुपर्ने बताउँछन् । तर, डेढ सय वर्ष पुरानो मेसिनको खोजी गर्ने र संग्रहालय बनाउने कुरामा न स्थानीय सरकारको ध्यान जान सकेको छ न त संघीय सरकारकै !
टिप्पणीहरू