सत्ताका दुई ‘प्रकाश’, युवाको जीवन अन्धकार

सत्ताका दुई ‘प्रकाश’, युवाको जीवन अन्धकार
सुन्नुहोस्

– विराट अनुपम 

पुस १३ गते शुक्रबार नेपाली रोजगार र बेरोजगार इतिहासमा एक मानक दिन बन्यो । रोजगारको क्रममा सरकारले लाएको तगारो खुस्काउन युवाले दिएको दबाबमा दुई युवाले अनाहकमा ज्यान गुमाउनुपर्‍यो । डोटीका २२ वर्षीय वीरेन्द्र शाह र दैलेखका २३ वर्षीय सुजन रावतको गोली तथा कुटाइबाट ज्यान गएको हो । कोरियाली भाषा परीक्षामा भएको तनावको प्रतिक्रियास्वरूप उनीहरूले प्रदर्शन गरेका थिए । सरकारी झण्डावाला गाडी जलाएका थिए । 

 ​​​​​कोरियाली भाषा परीक्षा ‘इपिएस’को नाजायज सरकारी जञ्जालको विरोध गरेका युवाको ज्यान गएको केही क्षणमै त्यो सरकारी जञ्जाल आफैँ हल भएर गयो । अर्थात् जुन मुद्दामा युवाले विरोध गरेका थिए, त्यही मुद्दामा समाधान आयो । यो आफैँमा राज्यको अकर्मण्यताको एक विशाल नजिर हो । 

कुरा यत्तिमै सकिँदैन । दुई युवाको ज्यान जानुमा मूलतः दुई प्रकाशको योगदान देखिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको हठको कारण दुई युवाले ज्यान गुमाउनुपरेको प्रहरीको तर्क हो । प्रहरी प्रमुख वसन्त कुँवरले मन्त्री प्रकाश ज्वाला त्यहाँ गएको कारण दुई युवाले अनाहकमा ज्यान गुमाएको भनेका छन् । मन्त्री ज्वाला घटनामा दोष देखिनुमा केही कारण देखाइएको छ । जस्तो प्रदर्शन भएको स्थलमा  पुगेका मन्त्री गाडीबाट ओर्लिएर भनाभनको अवस्थामा पुगे । प्रहरीले प्रदर्शन भएको रुटमा नजाऊ भन्दा उनकै जोडबलले गएको एकथरीको आरोप छ । 

घटनामा भुल्न नहुने दोषी अर्का प्रकाश पनि छन् । ती हुन् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ । उनी नेतृत्वको नेपाल प्रहरीले न्यूनतम प्रोटोकल, प्रदर्शनको सूचना अद्यावधिक, भीड नियन्त्रण पद्धतिदेखि गोली प्रहारको अनुशासन कतै पनि ख्याल गरेको देखिएन । भटट गोली हान्नेदेखि निर्घात कुटेर युवाको ज्वान ढलाउने लाइनमा प्रहरी पुगेको छ । 

घटनाका दोषी दुई प्रकाश नै हुन् । तर, प्रधानमन्त्री प्रचण्डले घटनालाई नयाँ मोड दिन खोजेका छन् । उनी बालकुमारी घटनामा गणतन्त्र बिरोधीको षड्यन्त्र देख्छन् । देख्ने मात्रै होइन आमसर्वसाधारणलाई त्यही कुरा भनेर भ्रम छर्न सक्रिय छन् । आफ्नो अक्षमता र कमजोरी लुकाउने राजनीतिक अस्त्र भनेकै व्यवस्थाविरोधी र विदेशी शक्तिको हल्ला हो । प्रधानमन्त्री अहिले त्यही सूत्र प्रयोगमा मुखर देखिएका छन् । 

देशमा केही भएन भनेर निराश नहुन प्रधानमन्त्रीदेखि विपक्षी दलका नेताले भन्दै आएका छन् । तर, उनीहरूले राज गरेको देशमा आशावादी हुने ठाउँ नै छैन । देशमा हुँदा सरकारको गोली । विदेशमा हुँदा कहिले हमास त कहिले युक्रेनको गोलीले नेपाली युवा मरिरहेका छन् । देशमा रोगजारी देऊ भन्दा गोली उपहार पाउने अवस्था छ । जीवन देऊ भन्दा मृत्यु उपहार पाउने समय आएको छ ।

अहिलेसम्मकै उन्नत राजनीतिक व्यवस्था भएको दाबीलाई मात्रै अब जनताले पत्याउनेवाला छैन । त्रिभुवन विमानस्थलबाट हुलका हुल देश छाड्ने युवाले त्यो भाष्य मान्दैन । अब जनताले खोजेको नेताको कुरा होइन । काम हो । पद होइन । परिणाम हो । तर्क होइन । तथ्य हो । भावना होइन । यथार्थ हो । जोकतन्त्र होइन । लोकतन्त्र हो । दलतन्त्र होइन । गणतन्त्र हो । ज्यान गएका युवाको परिवारलाई दश लाखको क्षतिपूर्तिदेखि परिवारमा रोजगार ग्यारेन्टीको नाटक गरेर मात्रै हुँदैन । किस्ता–किस्तामा आउने यस्ता तनाव र त्यो तनावमा नेपाली युवाले पाउने सास्तीको समयमै न्यायोचित सम्बोधन हुनुपर्छ । 

 

टिप्पणीहरू