एप्स गलत भए कि चलाउने औंला ?
०४६ सालमा आन्दोलनको माउस र किबोर्ड प्रयोग गरेर निरंकुश राजतन्त्रलाई अनइस्टल हान्दै प्रजातन्त्रको एप्स इन्स्टल गरेको पनि तीन दशक नाघिसकेछ । फेरि ०६२/६३ देखि गणतन्त्ररुपी अर्को एप्स चलाउँदै आएको पनि १५ वर्ष कटिसकेको छ । यसरी ३४ वर्षको अवधिमा नेपाली जनताले उही पार्टी र उनै नेताहरूलाई इन्स्टल मात्र होइन, एकोहोरो अपडेट पनि गरिरहे । कहिले कांग्रेस त कहिले एमाले, कहिले माओवादी । ३४ वर्षमा देशमा विकासको चारचाँद लाग्नुपर्ने हो तर दुर्भाग्य लाग्न सकेन । यस विषयमा बेला–बेला बहस नभएका पनि हैनन् तर ती आरोप र प्रत्यारोपका इमोजीमा मात्र सीमित भैदिए । गालीगलौज र सत्तोसरापका जिआइएफमा मात्र सीमित हुन पुगे ।
एप्सका फिचर राम्रा छन् अनि उन्नत पनि ! तर, एप्स चलाउने औंला गलत पो भएका हुन् कि ? जनताले चाहेको एडिट, अडियो, टेक्स्ट, ओभरले, इफेक्ट टेम्प्लेट, फिल्टर्स, एडजस्टजस्ता महत्वपूर्ण फिचरको उपयोगिता र प्रयोगको पक्षमा चुक्दै पो गइएको हो कि ! या दुरूपयोग पो बढेको हो ? हैन भने १५ वर्षकै अवधिमा गणतान्त्रिक एप्सप्रति किन वितृष्णा जाग्दै छ ? यो एप्सले अलमल्याउने काम मात्र गरिरह्यो, परिवर्तनको अनुभूति दिन सकेन किन भन्दैछन् जनता ? एकथरि मान्छे कुनै बेला अनइस्टल हानिसकेको राजतन्त्रको एप्सलाई फेरि लञ्च गर्ने दाउमा छन् र बजारीकरण गर्दै पनि हिँडेका छन् ।
फेरि पनि उही पुरानै नेतृत्वलाइ देशकाे चाबी थमाउन खाेज्याैँ भने आफ्नाे खुट्टामा आफैँ बञ्चराे हान्नेतर्फ हाम्राे कर्म उन्मुख भएकाे मान्नुपर्ने हुन्छ ।
जनता जनार्दन हुन् । तिनले चाहे जे पनि हुन सक्छ । जनताले चाहे पुरानो, कामै नलागेर अनइस्टल हानिसकेको राजतान्त्रिक नामक एप्स फेरि इन्स्टल भैदिन सक्छ । तर यसो गर्दा के साँच्चिकै जनतालाई फाइदा हुन्छ त ? जनताले मन मस्तिष्कको प्लेस्टोरबाटै अनइस्टल भइसकेको त्यो एप्स फेरि खोज्दै हिँड्नु के बुद्धिमत्ता हुनेछ त ? के जनता आजको सुविधासम्पन्न मोबाइल फोनको सेवा सुविधालाई लत्याएर हिजोकै कटवाल संस्कार, चिठीपत्र, हुलाकको संरचना वा आकाशवाणीको सिष्टमतिर फर्कन चाहन्छन् ? उँभोगति छाडेर, अधोगति खोज्नु चाहेको नियति पक्कै पनि होइन । जनता प्रगति नै चाहन्छन् । त्यसैले त कहिले कांग्रेसलाई इन्स्टल गरे, कहिले कम्युनिष्टलाई ।
निर्वाचनका माध्यमबाट पटक–पटक तिनैलाई इन्स्टल गरिरहँदा पनि ती दलले जनताको न लाज ढाक्न सके, न मुखमा माडको जोहो नै गर्न सके, न त मुलुककै इज्जतलाई अक्षुण्ण राख्न सके । फेरि पनि विकल्पहीन भएका जनताले त्यही पुराना दल र तिनका पुराना शीर्षस्थ फिचरलाई निर्वाचनमार्फत अपडेट गरिरहे । पटक–पटक, काँध थापिरह्यो । काँध थाप्दा थाप्दै छाला उप्कियो, रगत बग्न थाल्यो फेरि पनि हाम्रा दल, हाम्रा नेता सुध्रिने नाममा रिबुट हानिराखियो ।
परीक्षणमाथि परीक्षण पटक–पटक जनताले गरिसकेका छन् । फ्लपी डिस्कवाला डेस्कटपजस्तै बनिसकेका नेतालाइ स–सम्मान आराम गर्न दिनुपर्छ । यही व्यवस्थालाई नै विश्वास गर्ने हो भने पुराना पार्टीलाई अपडेट हैन फरम्याट गर्नुपर्छ । उही प्रोग्राम, उही फिचर, उही एप्स, उही फाइल र उही डकुमेण्टलाई पटकपटक विश्वास गर्दा दुःखसिवाय के पायाैँ ? त्यसैले अब नो फलो, नो अपडेट अनि नो इन्स्टल । वन्ली फरम्याट । फरम्याट गरी पुनः स्टार्ट गर्दा राम्रा, डाइनामिक प्रोग्राम, फिचर वा एप्सलाई डाउनलोड वा इन्स्टल गर्न सकिनेछ ।
नाम्लो र कुम्लोको जमाना होइन यो । त्यसका लागि कार्यकर्ताले पनि भक्तिगान छाडेर अदम्य साहस देखाउन सक्नुपर्छ । यदि, यो चेतको विकास हुन सकेन र फेरि पनि उही पुरानै नेतृत्वलाई देशको चाबी थमाउन खोज्यौँ भने आफ्नो खुट्टामा आफैँ बञ्चरो हान्नेतर्फ हाम्रो कर्म उन्मुख भएको मान्नुपर्ने हुन्छ । सबैभन्दा आशा गर्ने भनिएकै तेस्रो तहकाहरूबाट हो । ऊर्जावान, शिक्षित, बौद्धिक, नयाँ सोच, नयाँ भिजन र उमेरले युवाको घेराभित्रका नेताबाट पक्कै पनि परिवर्तनको प्रत्याभूति हुनेछ भन्ने विश्वास अहिलेलाई लिन सकिन्छ ।
जनताले यो मिसन आजैबाट थाल्नुपर्छ र ‘जनताको मिसन ८४’ पनि यही हुनुपर्छ । हैन भने पिँडालु रोपेर आलु फलेन भनी चिच्याउनु, कराउनुको कुनै तुक रहन्न ।
टिप्पणीहरू