बेलुका ‘बलात्कार’, बिहानै गर्भवती !

बेलुका ‘बलात्कार’, बिहानै गर्भवती !

समय कति अप्ठेरो छ भने, फुपूलाई रिस उठ्यो, केटा बलात्कारी हुनुपर्ने ! अनि, १५ वर्षकी बालिकाको पेटमा एक महिनाको गर्भ भेटिने । मालिगाउँ प्रहरी बृत्तको हिरासतमा मंसिरको २५ वटा चिसो रात काटेर धादिङका ३६ वर्षीय युवक घर फर्किएका छन् । अदालतले तत्काल उपलब्ध प्रमाणका आधारमा करणी ठहर नहुने भन्दै उनलाई १० लाख रुपैयाँ धरौटीमा छाडेको छ ।

नेपाली बजारमा साउनदेखि मंसिरको ५ महिनामा १२ करोड २ लाख रुपैयाँको १ करोड ९४ लाख वटा कण्डम आयात भयो । भन्सारमा भने राजश्वबापत २४ हजार मात्रै दाखिला भयो । अनि, देशका ७७ वटै जिल्लाको चापलाई हेर्दा ठगी, लेनदेनपछि यौनसँग सम्बन्धित मुद्दाको संख्या बढी छ । भनिन्छ, नयाँ कानुनको कारण जबरजस्ती करणीमा ‘भएर’ हैन ‘बनाइएर’ लगिएका मुद्दाको संख्या बढी हुने गरेको छ । तर, मुद्दाको स्थिति जेसुकै भए पनि पीडक भनिएको पुरुषले सजिलै उन्मुक्ति पाउने अवस्था छैन । धादिङका ती युवकको हकमा पनि भएको त्यही हो । 

मंसिर १२ गते भक्तपुरस्थित एक निजी विद्यालयमा कक्षा १० मा पढ्ने मंगोलियन समुदायकी १५ वर्षीया युवतीसँग भेट भयो । युवती स्कूल सिध्याएर घुम्दै नक्साल, भाटभटेनीमा भेटिइन् । पहिलो भेट र सामान्य चिनजान थियो । खाँदा–पिउँदा त्यहीँ साँझ पर्‍यो । युवतीले फुपू मात्रै भएको, रातिको बेला घर जान आनाकानी गरिन् । तर, पुरुषले फुुपूलाई आफूसँग कुरा गराएपछि पुर्‍याइदिने बताए । २९ पटकसम्म डायल गर्दा पनि फुपूको फोन उठेन । यसपछि रातको ९ बजे युवतीलाई आफ्नै गाडीमा हालेर भक्तपुर लगे ।

युवतीले घर फेला पारिनन्, फुपूको फोन पनि रिसिभ भएन । यसो गर्दागर्दै १० बज्यो । त्यसपछि फर्केर पुगे, विशालनगरस्थित अपार्टमेन्टमा, जहाँ धादिङे पुरुषको बसोबास थियो । आफ्नो कोठामा युवतीलाई सुताएर उनी टिभी कोठामा गए । राति युवतीले ‘एक्लै सुत्न डर लाग्यो’ भन्दै ढोका ढक्ढक्याइन् । पुरुषले फेरि उनको मोबाइलबाट फुपूको नम्बरमा डायल गरे । फोन लाग्यो, उठ्यो पनि । घरको लोकेशन सोध्दै युवतीलाई त्यहीँ पुर्‍याएर फर्किए ।

बिहान पुरुष सुतिरहेका थिए, ६ बजे नै प्रहरीसहित युवती र फुपू अपार्टमेन्टमा पुगे । राति आफूमाथि जबरजस्ती यौनसम्पर्क गरेको आरोप थियो, युवतीको । प्रहरीले जाहेरीभन्दा पहिला स्वास्थ्य परीक्षण रिपोर्ट माग्यो । १३ गते बिहानै शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य परीक्षण गरिँदा युवतीको पेटमा पुग, नपुग एक महिनाको गर्भ देखियो । तर, रक्तस्राव वा वीर्य स्खलनजस्ता करणी प्रमाणित हुने तथ्य पुष्टि भएन । फुपूको तर्क थियो, ‘यसैले पेट बोकाएको हो !’ यसो भन्दाभन्दै जाहेरी दर्ता भयो । पुरुषले २५ दिन हिरासत बसेपछि २६ औं दिनमा अदालतले भन्यो, ‘जबरजस्ती करणी नै भन्ने अवस्था छैन ।’

युवतीमा यौनको लत बसेको उनको पेटमा रहेको गर्भले नै बताउँछ । तर, घटना भएको भनिएको दिन उनको योनिको स्थितिले करणी प्रमाणित गर्दैन । त्यति हुँदा पनि केटाले २५ दिन चिसो छिँडीमा बसेर, १० लाख तिरेपछि मुक्त हुनुपरेको छ ।

अर्कातिर, बलात्कृत युवतीसँग बयानका नाममा गरिने व्यवहारले महिलामाथि अर्को तरिकाबाट हिंसा भइरहेको आवाज उठेको छ । घरेलु कामदार युवतीसँगको करणी मुद्दा लागेर पुर्पक्षका लागि जेल पठाइएका सडक विभागका इञ्जिनियर हरिकुमार पोखरेलका हकमा पीडितको बकपत्र गर्दा यस्तो भएको हो । जिल्ला अदालतले तत्काल उपलब्ध प्रमाणबाट करणी भएको भन्दै पुर्पक्षका लागि जेल चलान गरेको थियो । उच्चले पनि जिल्लाकै आदेश सदर गरेको छ ।

त्यसपछि जिल्ला अदालत काठमाडौंको इजलाश नं. २२ मा दुई हप्तासम्म पीडित युवतीसँग लगातार बयान लिने काम भयो । त्यसक्रममा व्यक्तिगत जीवनसँग सम्बन्धित प्रश्न सोधियो । प्रश्नहरूको यातनाका कारण युवतीले सयौंपटक बलात्कार भएजस्तो अनुभव गरिरहेकी थिइन् । त्यसो हुनुको कारण हो, दिनदिनै थपिने वकिल । संयोगले जाहेरवालाको वकिल पनि महिला नै हुन् ।

 

टिप्पणीहरू