फेसबुकबाट डरलाग्दो ठगी

फेसबुकबाट डरलाग्दो ठगी

वैदेशिक रोजगार विभागमा कसुरदार पक्राउ गरी अनुसन्धानसहित कारबाहीको माग गरिएको निवेदनउपर तीन वर्षसम्म कारवाही हुन सकेको छैन । ०७७ चैत २४ गते काभ्रेलगायत विभिन्न जिल्लाका युवाले आफूहरू बैदेशिक रोजगारीका नाममा ठगिएको ब्यहोराको उजुर हालेका थिए । अहिले तुल्सीराम फरार छन् । 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा ठगी गर्ने व्यक्तिलाई पक्राउ गर्न माग गर्दै निवेदनसमेत दर्ता भएको थियो । वैदेशिक रोजगार विभागले समेत पत्र लेख्दै मालारानी गाउँपालिका– ६ घर भई काठमाडौँमा डेरा गरी बस्ने तुल्सीराम भुषाललाई समात्न अनुरोध गरेको थियो । प्रहरीले व्यक्ति फेला नपरेको जानकारी पठाए पनि थप खोजबिन र अनुसन्धान भने नभएको पीडित प्रज्वल तामाङले बताए । तुल्सीरामले ९ जना युवाबाट ६ लाख ५२ हजार ठगी गरेका थिए भने अन्य सयौँ युवाबाट रकम असुल्दै फरार भएका थिए । 

०७८ साल भदौ १६ गते महानगरीय प्रहरी परिसर टेकु काठमाडौँमा अर्काे जाहेरी पनि दर्ता भएको छ । नक्कली विज्ञापन प्रकाशन गरी दुबईस्थित कम्पनीमा रोजगारीमा जानका लागि धमाधम वर्किङ भिसा प्रक्रिया भइरहेको भन्दै युवाहरूलाई सम्पर्कमा ल्याएका थिए । सम्पर्कमा आएका युवालाई दिएबापत एक जनाबापत ८० हजार लिने प्रस्ताव गरेका थिए । रकम जम्मा गरेर भिसा ल्याउन सकिन र अलपत्र पारेँ भने फिर्ता गरी कानुनी कारबाही भोग्छु भन्दै पनौती–९ का युद्धप्रसाद दाहाल, कविन्द्र थोकर, खड्गबहादुर थोकर, कृष्णबहादुर सिंतान, रामबहादुर थोकर, अनिल थोकर, कान्छालाल भोलोन, रेशमलाल सिंथान, अम्बर थोकर र शान्तबहादुर वाइवा समेतलाई प्रलोभनमा पारेर राहदानी लगेका थिए । सबै युवाले ग्लोबल आईएमई बैंकमार्फत उसको खातामा रकम जम्मा गरिदिएका छन् । 

रकम जम्मा गरेसँगै भिसा आयो भन्दै मेडिकल गर्न काठमाडौँ कुलेश्वर पोलिक्लिनिकमा लागेर प्लेन टिकट कटान र श्रम गर्नसमेत रकम मागेका थिए तुल्सीरामले । सामाजिक सञ्जालमार्फत सूचना प्रकाशन गरी युवालाई वैदेशिक रोजगारलगायत क्षेत्रको आकर्षक ठाउँमा लग्ने भन्दै ठग्ने व्यक्ति बढिरहेका छन्् । फेसबुकमा आएको सूचनालाई विश्वास गरी नवीनकुमार बस्नेत र सुशील ढकाल (शर्मा) ले दुबईका लागि ‘अर्जेन्ट भ्याकेन्सी’ भनेर आकर्षक तलबसहितको सूचना शेयर गरेका थिए । 

संवादको क्रममा बस्नेत र ढकालले आफू दुबईमा ठूलो कम्पनीको म्यानेजर रहेको र जति जना युवा भए पनि आफूहरूले सस्तो मूल्यमा भिसा पठाउने भनेपछि युवाहरु युएई जान तयार भएका थिए । बस्नेत र ढकालले ती युवालाई कम्पनीको अफर लेटर पठाए पछि तुल्सीराम भुसालको खातामा प्रतिव्यक्ति ८० हजारको दरले रकम हालिएको थियो । पैसा हालेको हप्तौं हुँदासमेत कुनै जानकारी नआएपछि पीडित युवा आत्तिए । विभिन्न माध्यमबाट फेसबुकमा हालेको ‘डिमान्डदेखि कम्पनीको अफर लेटर’सम्म नक्कली रहेको जानकारी प्राप्त भएपछि ती प्रहरीको सम्पर्कमा पुगेका हुन् । भुसाल, बस्नेत र ढकालले त्यसरी नै नक्कली ‘डिमान्ड र नक्कली अफर लेटर’ बनाएर भक्तपुर, चितवनलगायतका सयाैँ युवासँग लाखौं रकम ठगी फरार भएको बुझिएको छ । 
 

टिप्पणीहरू