कट्रिनालाई मनपर्न थाल्यो घ्यूँमा बनाएको रोटी

कट्रिनालाई मनपर्न थाल्यो घ्यूँमा बनाएको रोटी
सुन्नुहोस्

अधिकांश कलाकारहरुको उमेर ढल्किएसँगै दर्शकमाझ क्रेज पनि घट्दै गएको पाइन्छ । जुन स्वभाविक पनि हो । तर, बलिउड अभिनेत्री कट्रिना कैफ भने अपवाद बनेकी छन् । 

४० वर्षीया कट्रिनाको क्रेज आज पनि उत्तिकै छ, जति २० वर्षअघि थियो । उनलाई बलिउडमा 'सदाबहार अभिनेत्री'को संज्ञासमेत दिन थालिएको छ । उनै कट्रिना अभिनित चलचित्र 'मेरी क्रिसमस' यतिबेला प्रदर्शनमा छ । 

चलचित्रमा उनले दक्षिण भारतीय सिनेमामा अब्बल मानिने अभिनेता विजय सेथुपतिसँग स्क्रीन शेयर गरेकी छन् । 'सस्पेन्स रोमान्टिक-ड्रामा' जनरामा बनेको यस चलचित्रलाई श्रीराम राघवनले निर्देशन गरेका हुन् । जसले यसअघि 'अन्धाधुन' र 'बदलापुर' जस्ता सस्पेन्स चलचित्र निर्माण गरेका थिए ।

जनवरी १२ बाट रिलिज भएको 'मेरी क्रिसमस'ले दर्शकहरुको राम्रै प्रतिक्रिया पाइरहेको छ । चलचित्र पुरापुर एक रातको घटनामा केन्द्रित छ । क्रिसमसको रात एउटा रेष्टुँरामा भेटिएका दुई अज्जान पात्रको जीवन कसरी रातारात उलट-पुलट हुन्छ भन्ने कथालाई चलचित्रमा क्लासिक तरिकाले प्रस्तुत गरिएको छ ।

'मेरी क्रिसमस'को सफलतापछि कट्रिनाले सामाजिक सञ्जालमा एउटा सेशन सम्पन्न गरेकी छन् । 'ह्याज्ट्याग आस्क मी' शीर्षकको सेशनमा उनले दर्शकहरुले सोधेको विभिन्न प्रश्नको रमाइलो जवाफ दिएकी छन् । दर्शक र कट्रिनाको संवादको छोटो अंश यस्तो छ :

दर्शक : 'मेरी क्रिसमस' गरेपछि सभैबन्दा ठूलो खुशी के पाउनुभयो ?

कट्रिना : मेरो श्रीमान (विक्की कौशलको)को किस् । 'मेरी क्रिसमस' रिलिज भएपछि पहिलो शो हेरेर कामको प्रंशसा गर्दै श्रीमानले हलमै किस गरे । आफ्नै मान्छेबाट यस्तो प्रतिक्रिया पाउँदा सायद जो-कोहीलाई पनि खुशी मिल्छ । मैले पनि खुशी पाएँ ।

दर्शक : चलचित्रमा तपाई आफैँलाई सबैभन्दा बढी मन परेको सीन कुन हो ?

कट्रिना : चलचित्रको एउटा सीनमा विजयले मलाई सहानुभूति दिन एउटा कथा सुनाएका छन् । त्यो सीन मलाई खुब मन परेको थियो । अहिले पनि त्यो सीन शुट गर्दाको क्षण सम्झेर अनायसै ओठमा मुस्कान आउँछ ।

दर्शक : चलचित्र बहुभाषामा प्रदर्शन भइरहेको छ । तपाई त अंग्रेजी लजवको मान्छे, हिन्दी त हम्मे हम्मे पर्छ । तामिल झन् कसरी बोल्नुभयो त ?

कट्रिना : (हास्दै) तपाईले यो रमाइलो प्रश्न गर्नुभयो । तपाईले भनेको सही हो, म हिन्दीसमेत राम्ररी बोल्न सक्दैन । तर यस चलचित्रमा मलाई तामिल बोल्न विजयले ठूलो सहयोग गरेको छ । प्रत्येक संवादको वाक्य मैले शुटिङको अघिल्लो रात नै तयारी गर्थे । रातभरी म विजयलाई सताउथे । विजय यति चर्चित कलाकार भएर पनि उ मसँग बच्चा जसरी प्रस्तुत भयो । उसले सजिलो तरिकाले मलाई सिकाउने प्रयास गर्यो । चर्चित भएर पनि सरल हुन कसलै विजयबाट सिक्नुपर्छ । उसँग काम गर्न पाउनु नै मेरो ठूलो सौभाग्य हो ।

दर्शक : विजयको लागि दुई शब्द भन्नुपर्यो भने के भन्नुहुन्छ ?

कट्रिना : मक्कल सेलवन । दक्षिण भारतमा विजयको यति धेरै क्रेज होला भनेर मैले सोचेको पनि थिइनँ । जहाँ-जहाँ हामी शुटिङका लागि गयौँ, त्यहाँ-त्यहाँ मलाई भन्दा पनि दर्शकले विजयलाई घेरो हाल्थे । कतिबेला त मलाई समेत डाहा भएको थियो । म आफैँ चर्चित छु । तर साउथमा उ मभन्दा धेरै चर्चित रहेछ । उनलाई सबैले प्रेमले मक्कल सेलवन भन्दा रहेछन् ।

दर्शक : तपाई उमेरले त बुढी भइसक्नु भयो, तर हेर्दा अझै २० वर्षे तन्नेरी देखिनुहुन्छ । यो कसरी ?

कट्रिना : बुढो उमेरले भएको हुँ, सोच र कामले होइन । शारिरिक सुन्दरताको कुरा गर्नु भएको हो भने हाम्रो लागि यो अपरिहार्य शर्त हो । आफूलाई फिट्नेसमा राख्न म समय मिलाएर कसरत, योगा गरिरहन्छु । म खानाको निकै पारखी हुँ । मलाई नयाँ-नयाँ स्वाद खाइरहन मनपर्छ । तर म सबैकुरा सीमित मापदण्ड बनाएर खान्छु ।

दर्शक : तपाई खानाको पारखी हुनुहुन्छ, सबैभन्दा बढी के मनपर्छ ?

कट्रिना : तपाईले एकदमै सही भन्नुभयो । मलाई ख्याली पुलाउ खान खुब मनपर्छ ।

दर्शक : पञ्जावी परिवारको बुहारी हुँदा के मन पर्यो ?

कट्रिना : परिवारको सम्पूर्ण माया । पञ्जावी परिवारको बुहारी हुन पाउँदा म निकै खुशी छु । परिवारमा पाक्ने भोजन पनि मन पर्न थालेको छ । अझै खासगरी सरसोंको साग र घ्युँले पिठो मुछेर बनाइएको रोटी खुब मन पर्न थालेको छ ।

दर्शक : सफलता कसरी प्राप्त गर्ने ?

कट्रिना : आफूलाई मनपर्ने काम गर्नुहोस् । अरुले के भन्छ भनेर ज्यादा नसोच्नुस् । वश् मनको मात्र सुन्नुस् । ढिलो चाँडो तपाई पनि सफल हुनुहुन्छ ।

दर्शक : अन्त्यमा, मैले 'मेरी क्रिसमस'को टिकट बुक गरेको थिएँ, तर तपाईसँग यही कुराकानी भइहाल्यो । अब हलमा जाउँ कि नजाउँ ?

कट्रिना : शतप्रतिशत जानुहोस् । तर एक्लै नजानुस् । (हास्दै) प्रेमिका लिएर जानुहोस् ।

टिप्पणीहरू