बेलायत जाने रहर, भिसा नलागेको ठहर

बेलायत जाने रहर, भिसा नलागेको ठहर
सुन्नुहोस्

चलचित्र विकास बोर्डका सदस्य एवम् प्रवक्ता के.एल पीडित विवादमा तानिएका छन् । आफैंले सहमति जनाएको कार्यक्रमको अचानक आफैंले विरोध गर्न थालेपछि उनी विवादमा तानिएका हुन् । 

घटनाको वास्तविकता :

इन्टरनेशनल डेल्फिक काउन्सिल नामक संस्थाले बेलायतमा नेपाली चलचित्रको छ दशक, चुनौती र अन्तर्राष्ट्रिय बजारको खोजी विषयक एउटा छलफल कार्यक्रम गर्दैछ ।

आयोजकले नेपालबाट बोर्ड अध्यक्ष र एक जना सदस्यलाई बेलायत निमन्त्रण पत्र पठाएको थियो । बोर्डलाई निमन्त्रण पत्र हस्तान्तरण गर्दै गर्दा प्रवक्ता पीडित पनि उपस्थित थिए । यहाँसम्म कि उनी आफैं यस कार्यक्रमका लागि उत्साहित देखिएका थिए । बोर्डले प्रवक्तालाई बेलायत पठाउन सञ्चार मन्त्रालयसमक्ष सिफारिस गर्यो । मन्त्रालयले पनि बोर्डको सिफारिस स्वीकृत गर्दै पीडितलाई बेलायत पठाउन अनुमति दिएको थियो । 

यतिबेलासम्म सबै सहज अवस्थामा अघि बढिरहेको थियो । तर बेलायत जान तयार भएका उनै पीडित उक्त कार्यक्रमको विरोधमा उत्रिएपछि घटनाक्रमले नयाँ रुप लिएको बताइन्छ । पीडितले कार्यक्रम जान ठूलो रकमको चलखेल भएको जनाउँदै मन्त्रालयमा निवेदन दर्ता गराएका छन् ।

स्रोतका अनुसार पीडितले बेलायती दूतावासले भिसा अस्वीकार गरेपछि बबण्डर मच्चाएका हुन् । युके डिसिजन मेकिङ सेन्टरले पठाएको पत्रमा पीडितको आवेदन रद्द गरिएको छ । पीडितले दिएको आवेदनमा मापदण्ड नपुग्ने भन्दै उनको भिसा रद्द गरिएको हो  

भिसा निवेदन अस्वीकार भएपछि उनी कार्यक्रमको विरोधमा उत्रिएको अरुको भनाई छ । फिल्मीकर्मीहरुले बेलायतको कार्यक्रममा जान चर्को पैसा असुली गरिएको विषय उठाएपछि आफ्नो ध्यानाकर्षण भएको उनले बताए । यसबारे बोर्डका अध्यक्ष भुवन केसीले भने केही बताएका छैनन् । 

जनवरी २० मा हुने भनिएको कार्यक्रम सोही विवादले फेब्रुअरी १० सम्मको लागि स्थगित भएको छ ।

टिप्पणीहरू