ढाँटेको कुराले कतिञ्जेल टालिन्छ भ्वाङ
जिबी राईले दुई शब्द मात्रै बोलिदिए भने
‘ढाँटेको कुरा काटे पनि मिल्दैन’ भनेजस्तो छ, रवि लामिछानेको स्पष्टिकरण । अर्थात्, एउटा कुरालाई ‘होइन’ भन्दा अर्कातिरबाट भ्वाङ परेको छ !
ग्यालेक्सी टिभीबाट बुझेको १५ प्रतिशत शेयरबापतको एक करोड ८० लाखको मामिलालाई हत्तपत्त बैंकको चिठी देखाउँदै झुटो भने पनि कम्पनी रजिष्ट्रारको कागजले देखाएअनुसार उनी निर्दोष छैनन् । समाचारको खण्डन गर्दा जसरी रविले अर्कोतिरबाट समस्या सिर्जना गरेका छन्, त्योभन्दा ठूलो चिन्ता छ, ‘कतै जिबी राईले केही बोलिहाल्ने पो हुन् कि’ भन्ने ! यही चिन्ता बोकेर लण्डन जानुअघि मलेसिया पनि छिरी जिबीसँग भेट्ने प्लान बनाएका थिए । पहिला नेचर हब्र्स नामक कम्पनीसँग सम्बन्धित एक व्यक्तिमार्फत रविको जिबी राईसँग भेट भएको थियो । नेचर हब्र्स नेटवर्किङ व्यवसाय गर्ने अवैध कम्पनी हो ।
२०७८ सालमै विवादमा आएपछि त्यसका मुख्य सञ्चालक जिबी र कुमार रम्तेल केही समय फरार भएका थिए । पछि सहकारी खोल्दै रविसँगको सम्पर्कमा आएर टेलिभिजन सञ्चालनमा संलग्न भएका हुन् । उनलाई लागेको थियो, मिडियाको आवरणमा पुराना आर्थिक र कानुनी झमेलाहरु ढाकछोप हुनेछन् । तर, भइदियो उल्टो । पुराना कुरा मिल्दै जानु त कता हो कता, नयाँ–नयाँ झमेलामा फसे । कारक हुन्, रवि लामिछाने । पाँच वर्ष काम गरेर एक नम्बरको टेलिभिजन बनाउने सपना देखाउँदै बीचमा स्थानीय चुनावमार्फत् बालेन उदाएको देख्नासाथ हौसिएर राजनीतितिर हाम्फालेको एक वर्ष नपुग्दै रविकै कारण जिबी नयाँ र जटिल समस्यामा परेका छन् । त्यसैले जिबी जहाँ भए पनि एकचोटि भेटेर फकाउने चाहना छ । किनभने, यदि कुनै दिन उनले पत्रकार सम्मेलन गरेर वा कुनै भिडियो रेकर्डमार्फत आफूलाई रविले डुबाइदिएको मात्रै भनिदिए भने उनको राजनीति समाप्त हुने खतरा छ ।
त्यसैले अहिले मलेसियामा रहेका जिबीका पुराना सम्पर्क सूत्रमार्फत भेट्ने प्रयास थियो । रविले जिबीसँग ९ करोड हाराहारीमा पैसा लिएको आशंका छ । गत वर्ष सम्पन्न निर्वाचनअघि सोही रकमको विषयलाई लिएर रवि र जिबीबीच लुकामारी नै चल्ने गरेको थियो । तर, रविले पार्टी खोलेको चार महिनापछि चुनाव भयो । चुनाव भएको अर्को महिना उनी जबर्जस्ती उपप्रधान तथा गृहमन्त्री भए । त्यसपछि शक्तिकेन्द्रको प्रयोग गरेर पैसा कमाउन सकिने भयो भन्दै जिबी पनि चुपचाप रहे । तर, रविले खासै सहयोग गरेनन् । त्यसपछि जिबीले गत वर्ष नै पत्रकार सम्मेलनमार्फत सबै कुरा सार्वजनिक गर्न लागेका थिए । यो कुराको सुइँको पाएपछि रविको सातो गयो । जिबीलाई थुम्थुम्याए । त्यसो गर्दागर्दै ग्यालेक्सी टिभीको कार्यकारी प्रमुख टीकाराम राईले कम्पनी छोडे । त्यसपछि कुमार रम्तेल त्यो ठाउँमा गए । उनी पनि पोखराको सहकारी काण्डमा पक्राउ परेपछि जिबी देशमा बस्न नसक्ने भए । रविको मनमा डरचाहिँ बाँकी नै रह्यो । किनभने, अहिले भाग्नुपर्ने स्थितिमा पुर्याउने व्यक्ति उनी नै हुन् भनी जिबीबाट आधा मीनेटको भनाइमात्रै बाहिर आयो भने बर्बाद हुने अवस्था छ ।
उता, दाइ हरिशरण लामिछानेसँग अंश मुद्दा चलिरहेको छ । रविले पार्टी खोल्ने बेला वास्ता नगरेपछि उनी लौरो अभियान भनेर हिँडेका थिए । अहिले बौद्ध महांकाल, पानीट्यांकीस्थित पुख्र्यौली सम्पत्तिको विषयमा हरिशरणबाट अंश पाउनका लागि रविले मुद्दा हालेका हुन् । दाजु हरिशरणले पनि बहुविवाह गरेका, तर रविको जस्तो तीन वटी हैन, दुई पत्नीमात्रै छन् । रविहरुले ग्यालेक्सी टिभी चलाउने भएपछि हरिशरणकी कान्छीपत्नी तथा टेलिभिजन पत्रकार पुनम पौडेललाई सम्पादक बनाउने कुरा निस्किएको थियो । तर, पुनमलाई रविले हुन दिने छाँटकाँट थिएन । भनेकी थिइन्, ‘नटवरलालहरुले हामीलाई के बनाउँछन् र ?’ पछि उनी अर्कै टेलिभिजनमा समाचार सम्पादक भएर गइन् ।
रविले पार्टी घोषणा गरेको बेला ‘मेरा दाजु, भाइ, नर, नाता कोही हुँदैनन्’ भनेका थिए । त्यही कारण हो, हरिशरण लौरो अभियानमा लागेको । तर, गृहमन्त्री भएपछि खादा–माला लिएर हरिशरण भाइलाई भेट्न पुगे । गृहमा सल्लाहकार बनाउनुपर्ने माग थियो । ‘परिवारको मान्छे राख्दिनँ’ भनेर पहिल्यै बोलेको विषयमा रविले केही गर्न नसक्ने बताए । फेरि प्रेस सल्लाहकार बनाउने कुरा भयो । पछि ग्यालेक्सी टिभीकै नवराज पाण्डे गए ।
रविलाई अहिले फेरि गृहमन्त्री नै बन्नुपर्ने बाध्यता छ । किनभने, उनलाई समस्याहरुले पहिलाको भन्दा पनि नराम्रोसँग घेरिरहेको छ । अदालतले नागरिकता रद्ध गरेपछि आफूले गृह मन्त्रालय छाड्नुपर्यो । उनको पार्टीका तर्फबाट शिक्षा मन्त्री भएका शिशिर खनाल र श्रम मन्त्री डिपी अर्यालका कुनै दोष थिएनन् । बरु, उनीहरु ती–ती मन्त्रालयसँग सम्बन्धित विषयका विज्ञ पनि भएका कारण मन्त्रालयमा राम्रोसँग काम गरिरहेका थिए । आफूले छाड्नुपरेपछि आफ्नो पार्टीका कसैलाई पनि सरकारमा रहन दिएनन् ।
रविको अवस्था काठमाडौंका मेयर बालेन साहको जस्तो पनि छैन । बालेनसँग विद्वत वर्गहरु सल्लाहकार छन् । तर, रविको आफ्नै छवि ठीक नहुँदा विद्वान तथा प्राज्ञिक क्षेत्रमा उनलाई रुचाइँदैन । उनीसँग स्वर्णीम वाग्लेपछि मनिष झा हुन्, अलि राम्रो छवि भएका मानिस । अहिले उनीहरु ‘हाम्रो विज्ञताले मात्रै हुँदैन, रविको चुरिफुरीले चुनाव जित्ने हो’ भन्ने लाइनमा छन् । काठमाडौं– ७ बाट जितेका विराजभक्त श्रेष्ठले रविको विषयमा अलिकति बोले पनि अरुले मुख खोल्न सकेका छैनन् । भित्रभित्र उनीहरु संगठन निर्माणको तयारीमा लागेका छन् । एकजना केन्द्रीय सदस्य भन्छन्, ‘जहाँ जहाँ संगठन बन्छ, त्यहाँ हाम्रो बेग्लै बलियो धार बन्छ ।’ अर्थात्, त्यहाँ स्वर्णिमको धारका मान्छे छन् । ती मान्छे हिजो कांग्रेस हुँदा गगन पक्षका थिए । मनिषसँग मधेसका युवाको ठूलो जमात छ । यदि त्यसरी नै संगठन बन्ने हो भने पार्टीभित्रै रविलाई कठिन हुने अवस्था छ । किनभने, उनी संगठन गरेर नेता बनेका पात्र हैनन् ।
होटलभित्र यस्तो थियो रविको वाचा
रवि लामिछानेले धुलिखेलमा ओरिएन्टेशन भेला गर्दै भनेका थिए, ‘दुईजना बच्चाको स्कूल फि, उपचार खर्च सब कम्पनीबाट आउँछ, कामबाहेक केही चिन्ता गर्नुपर्दैन !’ होला त भन्दै कसैले कान्तिपुर, कसैले एपिवनदेखि कत्राकत्रा मिडिया हाउस छाड्दै ग्यालेक्सीमा गए । अन्तिममा ९ महिनादेखि तलब नपाएर पत्रकारहरुको चिहिलबिहिल छ ।
सूर्यदर्शनसहित विभिन्न नाममा सहकारी नेटवर्क खडा गरी अर्बौं रकम हिनामिनापछि जिबी राई बेपत्ता छन्, उनका पार्टनर रवि लामिछाने ढाकछोप गर्न व्यस्त छन् । तर, पीडितले जिबी र रविका हकमा उस्तै उजुरी दिएका छन् । अचम्म के छ भने, कुनै पनि बैंक तथा वित्तीय संस्थाले सामान्य किमिसको कुनै पनि ऋण जारी गर्दा ऋणीको सामाजिक अवस्था तिर्ने सुनिश्चितता खोज्छ । ऋण दिने र लिनेबीचमा कुनै स्वार्थ बाझिने सम्बन्ध भए, नभएको हेरिन्छ । तर, जिबीको सहकारी, रविको टेलिभिजन भन्दै खनखनी पैसा खन्याइयो । यति गरेर पनि त्यहाँ काम गर्ने कर्मचारी र पत्रकारले पैसा पाएको भए एउटा कुरा हुन्थ्यो । उल्टै ग्यालेक्सीपीडित पत्रकारहरु आन्दोलनको तयारी गरिरहेका छन् ।
अहिलेसम्म पत्रकार आन्दोलनको नेतृत्व गर्ने उपयुक्त पात्र देखा परेका छैनन् । गर्नुपर्ने नवराज पाण्डेले हो । तर, उनी रवि मन्त्री हुँदा प्रेस संयोजक भएका कारण नैतिक बन्धनमा छन् । रवि मन्त्रीबाट हटेपछि ‘बेरोजगार भएँ’ भन्दै जानासाथ उनलाई फेरि त्यहीँको समाचार वाचकमा जागिर मिलेको हो । त्यसअघि रिपोर्टिङ कोअर्डिनेटर थिए । उनीबाहेक पनि अंगराज न्यौपाने, राजेन्द्र भट्ट, मिलन बुढाथोकी (विछोड) जस्ता चिनिएका पत्रकार छन् । त्यहाँका पत्रकारले तलब नपाएको आठ महिना बढी भइसक्यो । यसबारे व्यवस्थापनले केही बोलेको छैन । सोध्यो भने ‘नयाँ लगानीकर्ता आउँदैछन्’ भनिन्छ । अहिले त्यहाँ सबै विभागमा गरी १ सय २२ जना कर्मचारी छन् । पत्रकारमा नवराज, मिलन, अंगराजसहित प्रशान्त ठाकुर, बासु खड्का, नृवेश नेपाल छन्, जसले समाचार लेख्छन् । वाचनतर्फ प्रजिना देवकोटा, स्मृति मल्ल, टुना भट्ट, जानुका अर्यालहरु छन् । अहिले सरदर साढे चार करोड रुपैयाँ तलबबापत दिनुपर्ने स्थिति छ । पहिला पनि रविसहित अरु पत्रकारले खाएको तलबको करकट्टी भएको छैन ।
रविले टेलिभिजन छोड्दा भनेका थिए, ‘आजको मितिदेखि म यहाँ छैन । व्यवस्थापनले दिएको शेयरको स्वामीत्व हस्तान्तरण गरेको छु ।’ त्यसो भन्दा जिबी र रवि दुबै खुशी थिए । त्यसअघि जिबीले रविबाट ठूलो धोका भयो भन्ने गरेका थिए । भन्थे, ‘पाँच वर्ष कतै जान्नँ भन्ने विश्वासमा ठूलो बज्रपात भयो ।’ २०७८ असोज १५ गते टेलिभिजन स्थापना भयो । २०७९ असारमा रविले छाडिदिए । अर्थात्, एक वर्ष पनि बसेनन् । स्थानीय तह निर्वाचनमा बालेनहरुको उदय भएपछि त्यो लोभमा परेर राजनीतितिर लागे । टेलिभिजन शुरु हुनुभन्दा एक–डेढ महिनाअघि धुलिखेलको दृश्यम रिसोर्टमा ‘इण्डक्सन मिटिङ’ बोलाएर रविले पत्रकारहरुलाई ‘टेलिभिजन भनेको यस्तो हुन्छ’ भनी ठूलो सपना देखाए । कम्पनीले नै दुई–दुई सन्तानलाई स्कूल पढाइदिने र परिवारको उपचार खर्चसमेत व्यहोर्ने भनेपछि पत्रकारहरु लोभ्भिए ।
उनीहरु चर्चा गर्दै थिए, ‘विवाह नगरेकाले विवाह गरिहाल्नुपर्ने भयो । एकमात्र सन्तान हुनेले दुई सन्तान बनाइहाल्नुपर्यो ।’ यसरी हँसिमजाक चलेको ९ महिनापछि उनै रवि राजनीति गर्न हिँडे । उनीसँगै साराका सारा विज्ञापनदाता र कार्यक्रमका प्रायोजक पनि बाटो लागेपछि कम्पनी डुब्नेतिर गयो । पहिलो वर्षको दशैंमा तलब खान हम्मेहम्मे भयो । कार्यकारी प्रमुखका रुपमा वरिष्ठ पत्रकार टीकाराम राई गएपछि केही होला–होलाजस्तो भयो । उनी खर्च घटाउने दायित्व लिएर गएका थिए । न्युज रुममा अनावश्यक मान्छे थिए । त्यसमध्ये कान्तिपुरबाट गएकालाई निकाल्न थालियो । प्रशान्त अर्यालसँग टकराव पर्यो । प्रशान्तले छोडेपछि कान्तिपुरबाट उत्पादित भएका रुपेश श्रेष्ठले तीन महिना काम गरे । त्यसपछि रामबहादुर रावललाई सम्पादक बनाइयो । चैतदेखि दायित्व थुप्रिएपछि जेठदेखिको तलब कसैले पाएनन् । कम्पनीको तर्फबाट अहिले हेमन्त अधिकारीले कारोबार हेर्छन् । जिबी, कुमार रम्तेलपछि जिबी गु्रप अफ कम्पनीको तर्फबाट अनन्त अधिकारीले केही समय कारोबार हेरेकोमा उनी पनि पोखराको सहकारी काण्ड लागेर फरार सूचीमा छन् ।
रविले चाहिँ बिनालगानी ‘पसिना’ शेयर पाएर १६ प्रतिशतका दरले आठ करोड हात पारे । लगानीकर्ताका लागि योभन्दा दुःख के होला ? जनतासँग दुई वर्षमा फिर्ता गर्छु भनेर लगेको पैसा आजसम्म फर्किएन । पाँच वर्ष काम गर्छु भनेको मान्छे एक वर्ष नपुग्दै टाप कसेपछि जिबी त डुबेडुबे पत्रकार र कर्मचारी पनि बिजोग अवस्थामा छन् ।
– विश्वमणि सुवेदी
टिप्पणीहरू