चिया मेला, जाडो मौसमको बेला

चिया मेला, जाडो मौसमको बेला
सुन्नुहोस्

‘टी लभर’ अर्थात् ‘चियाप्रेमी’ धेरै भेटिन्छन् । चिया भनेपछि हुरुक्क हुनेको संख्या बढ्दो छ । चिया नै नपिउने मानिस कति होलान् र ? अहिलेको समाजमा प्रायः धेरै जनाको प्रत्येका दिनको सुरुवात नै बिहानीको चियाको चुस्कीसँगै हुने गरेको छ । 

बिहान, दिउँसो र बेलुकी चिया पिउनैपर्ने बानी त्यस्ता टी लभरको शौखमा पर्छ । हिजोआज चियाको लोकप्रियता र व्यवसायिकतासँगै आधुनिकता पनि बढिरहेछ । अत्यत्रझैँ चितवनमा पनि चिया पारखीहरुका लागि खुशीको खबर छ ।

यही माघको अन्तिमतिर भरतपुरमा चियाको मेला लाग्दैछ । टोकलालगायत देशका ठूला चिया कम्पनीहरुनै प्रदर्शनीमा सहभागी हुँदैछन् । उक्त प्रदर्शनी संघीय सरकारको कार्यक्रम रहेको बताइन्छ । 

नेपाली चियाको स्थानीय बजार प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा माघ २६ र २७ गते चितवनको भरतपुरमा राष्ट्रिय चिया महोत्सव हुन लागेको हो । प्रदर्शनीमा छिर्न टिकट नलाग्ने र चिया पनि सित्तैमा पिउन पाइने भएकाले धेरैजसो स्थानीयले प्रतिक्षारत रहेको प्रतिक्रिया दिएका छन् । 

सबैभन्दा महत्वपूर्ण कुरा, प्रदर्शनीमा हामीकहाँ कस्ता–कस्ता, कति प्रकारका चिया पाइन्छन् ? त्यो सबै जानकारी पाउन सकिने आयोजकले बताएका छन् । चिया कसरी पिउने, कसरी पकाउने ? कसरी चियाले सत्कार गर्ने ? यसका तरिकाहरु पनि सिकाउने कार्यक्रमको उद्देश्य छ ।
यो खबर लिएर राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक स्वयम् चितवन आएका थिए । कार्यक्रम व्यवस्थापनको निम्ति बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराई, योजना अधिकृत गौरव लुइँटेल, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड झापाका निमित्त क्षेत्रीय निर्देशक इन्द्रप्रसाद अधिकारी, कृषि प्राविधिक अनन्त ढुंगानालगायतको टोली केही दिनअघि चितवन आएको थियो । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानासँगको भेटपछि टोली गत शुक्रबार दिउँसो उद्योग वाणिज्य संघमा पुगेको थियो । बुटवलमा भयो, अहिले पोखरा वा चितवन कहाँ कार्यक्रम गर्ने ? भन्दा चितवन छनोट भएको कार्यकारी निर्देशक विष्णु भट्टराईले जानकारी दिए । चितवनमा चियाको ठूलो मार्केट रहेको योजना अधिकृत गौरव लुइँटेल बताउँछन् ।

उक्त ‘राष्ट्रिय चिया प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम’को चितवनमा आवश्यक व्यवस्थापन गरिदिन उवासंघलाई आग्रह गरिएको थियो । ‘हामीले गर्ने सपोर्ट छ’, संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले भने, ‘हामी पूर्णरुपमा सहयोग गर्छाैं ।’ उद्योग वाणिज्य संघ चितवन सह–आयोजक रहनेछ । उवासंघमा भएको छलफलमा भरतपुर–२२ का वडाअध्यक्ष विष्णुराज महतो पनि आएका थिए । संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, उपाध्यक्ष अशोक अधिकारी, कार्यसमिति सदस्य दाताराम घिमिरे, कार्यक्रम अधिकृत गणेश सुवेदीसहित बसेर छलफल गरिएको थियो । 

प्रदर्शनी नारायणी नदीको किनारमा गर्ने सम्बन्धमा मोटामोटी स्थानको तय भएको बताइन्छ । कृषिमन्त्रीले उद्घाटन गर्ने प्रदर्शनीमा झापा, इलामलगायत जिल्लाबाट सहभागी कम्पनी तथा संस्थाहरुको सहभागिता रहने छ । कम्तीमा २५ देखि बढीमा ३० वटा स्टल रहने बताउँदै आयोजक पक्षले भन्यो, ‘त्यसबारे पत्रकार सम्मेलन माघ २४ गते उवासंघकै सभाहलमा गरिने छ ।’ 

 

टिप्पणीहरू