अचेल अस्तव्यस्त किन बन्यो एयरपोर्ट

अचेल अस्तव्यस्त किन बन्यो एयरपोर्ट
सुन्नुहोस्

नेपालमा विदेशी यात्रुको आवागमन हुने एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय अस्तव्यस्त छ । रातिको समय २२ वटा डेस्क (ड्युटी टेबल) चल्नुपर्नेमा अचेल जम्मा ७/८ वटा मात्र चल्छन्, दिउँसोको हालत पनि यस्तै छ । चौबिसै घण्टा सञ्चालन नहुने अध्यागमनमा अहिले कर्मचारीको चरम अभाव छ । १४० अधिकृतको दरबन्दी भए पनि अढाई महिनाको अवधिमा झण्डै ५० जनाले एयरपोर्ट छाडेका छन् । अधिकांश कर्मचारी त्यहाँबाट सरुवा चाहन्छन् भने विभिन्न ठाउँबाट त्यहाँ सरुवा गरिएका दुई दर्जनभन्दा बढी कर्मचारी महिना बितिसक्दा पनि गएका छैनन् ।

केही महिनाअघिसम्म अत्यन्त आकर्षक मानिएको अध्यागमनबाट कर्मचारी किन भागाभाग गर्छन् त ? कार्यरत राष्ट्रसेवकलाई प्रहरीले पक्राउ गर्ने, ५० जनाभन्दा बढी कर्मचारीले अध्यागमन छाड्ने, यात्रुले घण्टौंसम्म उभिएर दुर्दशा भोग्नुपर्ने र मुलुकको नै बेइज्जत हुनेगरी अध्यागमन अस्तव्यस्त बन्नुपर्ने कारणमा भने दुई हाकिमबीच पैसाको झगडासमेत रहेको बताइन्छ ।

तत्कालीन एयरपोर्ट अध्यागमन प्रमुख (सहसचिव) रामबन्धु सुवेदी र उपसचिव झंक ढकालबीच चार महिनाअघि यही विषयलाई लिएर निकै पेचिलो झगडा परेको थियो । यो द्वन्द्व यति पेचिलो बन्यो कि प्रधानमन्त्रीकै प्रभावका कारण त्यहाँ लगिएका रामबन्धु सुवेदीले ६ महिना मात्र बसेर ठाउँ छाड्ने अप्रिय निर्णय लिए । शिक्षक पृष्ठभूमिका रामबन्धु खुलातर्फ नाम निकाली निजामती सेवामा प्रवेश गरेका र प्रमपुत्री मेयर रहेको भरतपुर महानगर पालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका हुन् । सोही सम्बन्धकै कारण उनले निकै आकर्षक जिम्मेवारी पाएका थिए ।

झंक पनि यसअघि प्रचण्ड प्रधानमन्त्री भएका बेला उनको स्वकीय सचिव भइसकेका छन् । उनको स्थानमा इन्जिनियर गोगनबहादुर हमालले मौका पाए । त्यसपछि हप्तामा करोडौंको गन्तीमा उठ्ने अवैध रकमको भण्डारे बन्न सत्तारुढ माओवादीनिकट आधा दर्जनभन्दा बढी कर्मचारीबीच हानाथाप चल्यो । हमालले नरविर खड्गालगायतलाई खटाएपछि दाबेदारहरू चिढिए । ६ करोडसम्म रकमको हर्ताकर्ता बन्न नपाएपछि भाँडिएकाहरूले दैनिक झैं एयरपोर्टमा बबाल गरिरहन्थे । उनीहरूलाई त्यहाँ राखिरहँदा वातावरण अरु बिग्रने भएपछि गोगनलेसरुवा गरिदिए । सरुवा भएर जाने र भण्डारे बन्नेहरू सबै माओवादी नेतानिकट कर्मचारी छन् ।

तिनले बालुवाटारमै गई गोगनका विरुद्ध कुरा लगाउँदै तत्काल त्यहाँबाट सरुवा गर्न माग राखे । उनीहरूको सुनुवाइ नभएपछि अनियमित कार्यका जानकारहरू नयाँ भण्डारेलाई फसाउने र गोगनलाई पनि सुखले कमाउन नदिने निर्णयमा पुगे । उनीहरूले प्रहरीमा गएर पर्यटकीय भिसामा गलत तरिकाले बाहिरिने प्रक्रियादेखि उठ्ने रकम, यसमा संलग्न बिचौलिया, ट्राभल व्यवसायी र अरु कार्यालयका कर्मचारीको बारेमा पनि बताइदिए । प्रहरीले सबैका बारेमा विवरण पाएको भएपनि बिचौलियाबाट पक्रन शुरु गर्‍यो ।

यति नै बेला प्रहरीले दलाल र नक्कली कागतपत्र बनाउनेहरूलाई पक्रन थालेको हो । त्यसपछि भण्डारे बन्न नसकेका कर्मचारीकै सल्लाहबमोजिम रकमसहित अध्यागमन अधिकृत नरविर खड्गालाई प्रहरीले समात्यो । नरविर माओवादी नेता जनार्दन शर्माका खास मानिस र रुकुमकै हुन् । नरविर समातिएपछि यता गोगनले आफू एक्लै उठेको रकम नलिने र पुरानै तरिकाबाट बक्सामा संकलन गरी बाँडफाँड गर्ने त भने तर त्यतिबेलासम्म प्रहरीले यति धेरै गिजोलिसकेको थियोे कि अध्यागमनका कर्मचारीबीच भागाभाग नै चल्न थाल्योे । त्यसपछि भताभुंग अवस्थामा पुगेको एक मात्र अन्तर्राष्ट्रिय अध्यागमन कार्यालय महिनौं बितिसक्दा पनि लयमा आउन सकेको छैन ।  

झंक ढकाल भने रामबन्धुले एयरपोर्ट छाडेको केही दिनपछि लोकसेवा आयोगको तयारीका नाममा डेढ महिनासम्म बिदा बसी सहसचिवमा नाम निकालेर मात्र अध्यागमन छाड्ने योजनामा छन्् ।
 

टिप्पणीहरू