सुनकाण्ड लुकाउन खोज्ने को को हुन् ?
सुन काण्डमा केपी ओलीको कार्यकालमै ‘शाक्यहरुको’ संलग्नता भेटिन्छ, तर प्रतिवेदन भेटिँदैन । माग्यो, ‘कता पर्यो–कता’ भन्दै टारिन्छ !‘नियमित आकस्मिकता’ भनेजस्तो विमानस्थल भन्सारबाट एकपछि अर्को गर्दै तस्करीका सुन फेला पर्न थालेपछि सरकारले उच्चका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग बनाएर काममा लगाएको छ । उसले ‘पुराना प्रतिवेदन अध्ययन गरी त्यसको प्रभावबारे सुझाव दिने’ कार्यादेश पाएको छ । तर, सबै प्रतिवेदन आयोगले पाएको छैन । त्यसमध्ये २०७५ सालमा ३३ किलो सुन काण्डपछि गृह मन्त्रालयका सहसचिव ईश्वरीराज पौडेलको संयोजकत्वमा सुन तस्करी छानविन समिति गठन भएको थियो ।
अहिले जाँचबुझ आयोगले त्यसबेलाको प्रतिवेदन धुइँपत्ताल खोजिरहेको छ । तर, कतै फेला परेको छैन । ईश्वरी अहिले महावाणिज्यदूतको जिम्मेवारी सम्हाल्न भारतको कलकत्ता पुगेका छन् । अघिल्लो महिना काठमाडौं आएको बेला अध्ययनका निम्ति प्रतिवेदन माग्दा उनले खै कता पर्यो भनेर दिन मानेनन् । उनको छानविन टोलीका सदस्य हुतराज थापा त अहिले पनि गुप्तचर प्रमुख छन् । उनले बुझाएको प्रतिवेदन भेटिनुपर्ने ठाउँ हो, गृह मन्त्रालय । त्यहाँबाट जहिल्यै ‘खोज्दैछौं’ मात्रै भनिन्छ, भेटिएको खबर आउँदैन ।
कतै मन्त्रिपरिषद्को कार्यालयमा पो छ कि भनेर खोज्यो, गृहतिर देखाइन्छ । त्यसबेला सहसचिव पौडेल नेतृत्वको समितिले तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई प्रतिवेदन बुझाएको थियो । सामान्यतया यस्ता आपराधिक सन्दर्भका छानवीन वा अनुसन्धान प्रतिवेदन गृहमा संग्रहित हुने गर्दछ । यसरी प्रतिवेदन लुकाइनुको कारण हो, तत्कालिन प्रधानमन्त्रीको सचिवालयका ‘शाक्य’ हरु त्यसमा मुछिनु । यसरी आयोगलाई कार्यादेश दिने, तर त्यसअनुसारको सामाग्री नदिने कुराले समस्या हुँदा समयमा प्रतिवेदन आउन नसक्ने स्थिति छ ।
आयोगले विमानस्थल भन्सारबाट बरामद भएका १५, ६ र १ किलो सुनको तस्करीमा संलग्न व्यक्तिहरुको पहिचान गरिसकेको बताइन्छ । त्यसमध्ये १ किलो सुन तस्करीमा बागमती प्रदेशका मन्त्री तीर्थ लामाको संलग्नता भेटिन्छ । यसचोटि दिएको कार्यादेशभित्र २८ दिन त बिदा नै भयो । भनिन्छ, फागुन पहिलो साता प्रतिवेदन लेख्ने सुुरसार हुँदैछ । तर, करिव १५–२० जनासँग सोधपुछ गर्नुपर्ने, अध्ययन गर्नुपर्ने ठाउँमा पुग्न बाँकी भएका कारण आयोगले थप तीन महिनाको समय माग्दा थपिएको दुई महिनाको जानकारी पनि आयोगले ढिलो गरी पाएको छ ।
पहिला पनि ईश्वरी पौडेल नेतृत्वको समितिले छानवीनका निम्ति थप समय माग्दा ‘हैन–हैन’ भन्दै हत्तपत्त प्रतिवेदन बुझाइहाल्न आदेश दिइएको थियो । अहिलेको जाँचबुझ आयोगले पुराना तस्करीका घटनामा आशंका लागेपछि तत्कालिन एआइजी बसन्त लामालाई बोलाएरै सोधपुछ गरेको छ । उनी सिआइबीले बुझेका, तर अभियोग नलगाइएका व्यक्तिभित्र पर्छन् । उसले कागज गरेर छोडेकामध्ये क–कसलाई बोलाउने ? वा, कागज गराएर छोड्ने भन्नेमा आयोगभित्र मतैक्यता भएको छैन । सरकारी वकिल र त्यसबेलाका अनुसन्धान अधिकृतसँग सोधपुछ भइसकेको छ । यसबीच दुई सरकारी वकिलसहित एसपी सञ्जयसिंह थापा र तत्कालिन डिएसपीसँग सोधपुछ भएको स्रोतले जनाएको छ ।
सुन तस्करीमा नागरिक उड्डयन प्राधिकरणको भूमिका देखिन्छ, समन्वयको अभाव । ‘तँभन्दा म ठूलो भन्ने’ भन्ने द्वन्द्वले विमानस्थल अस्तव्यस्त रहेको समितिका एक सदस्य बताउँछन् । नागरिक उड्डयन घरबेटीजस्तो, अरु भाडामा बस्नेजस्तो व्यवहार भएको उनले बताए । ल्याइएका सुन शौचालयमा लगेर राख्ने कुराको सम्बन्ध पनि प्राधिकरणसँग जोडिन्छ । विमानस्थलभित्रै सयभन्दा बढी निकाय छन् । एयरलाइन्सका टिकट काउण्टरदेखि बोर्डिङ काउण्टर, विभिन्न पसल, सरसफाईसहितका निकाय छन् । त्यसमा काम गर्नेहरुको चेकिङ हुँदैन । यसरी धेरै बाटो र उपायको फाइदा उठाउँदै तस्करी चल्ने गरेको बुझाई छ ।
टिप्पणीहरू