हतियारै नभएर विचरा प्रहरी हैरान
पत्याउनुहुन्छ, प्रहरीसँग हतियार छैन भन्दा ? सत्य त्यही हो, हतियार छ, तर मागेर चलाइएका ! भएका हतियारको पनि मिति पुगिसकेका ! गत पुसको दोस्रो साता ललितपुर, बालकुमारीमा इपिएस परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा दैलेखका सुजन रावतको निधन भयो, टियर ग्यासले छातीमा असर पुर्याएर । यस्तो हुनुको कारण रहेछ प्रहरीले टियर ग्यास र रबर बुलेटजस्ता अत्यावश्यक हतियार नकिनेको १० वर्ष कट्नु ।
एकपटक किनिएको ती सामानको आयु १० वर्ष हुन्छ । त्यसपछि टियर ग्यास पड्किन्छ, तर असर गर्दैन । टियर ग्यासले प्रदर्शनकारीको आँखा पिरो बनाएर भीड तितरबितर गर्नुपर्ने हो । त्यसको पिरोपना १० वर्षपछि निकै घट्छ । त्यसपछि एउटा सेल फ्याँक्दा हुनेमा म्याद सकिएका ८–१० सेल टियर ग्यास फ्याँक्नुपर्ने हुन्छ । फलतः आँखा पोलेर हैन, त्यसले छातिको देब्रे भाग, मुटुतर्फ पीडा दिन्छ र मानिसको मृत्यु हुन्छ ।
नेपाल प्रहरीले १० वर्षअघि चीन, इटाली र इजरायलबाट त्यस्ता हतियार खरिद गरेको थियो । तर, गत वर्ष सम्पन्न निर्वाचनमा आवश्यक हतियार नहुँदा सेनासँग मागेर काम चलाउनुपर्यो । ती हतियार पनि प्रहरीले चलाउन जानेर हैन, देखाउनलाई लिएको हो । सेनासँग भएको हतियार प्रहरीले चलाउन जान्दैनन् । त्यसरी सेनाले प्रहरीलाई पुरानो इन्सास र एके ४७ हतियार दिएको थियो । प्रहरीसँग पहिल्यै थ्रीनटथ्री राइफल थियो ।
इन्सास र एके ४७ घातक हतियारभित्र पर्छन् । त्यो पनि पुरानो र जडौरी ! त्यसमाथि प्रहरीले त्यस्ता हतियार लिइसकेपछि आफ्ना जवानलाई तालिम र फायरिङ गराउनेजस्ता काम गरेन । चार–पाँच राउण्ड पड्काउन लगाउने र बोकाएर पठाउने काम भयो । यही कारणले गर्दा फिल्डका प्रहरी हतास मनस्थितिमा देखिन्छन् । नजानेको हतियार चलाउँदा फर्किएर आफैंतिर आउला भनी डराउनुपर्ने अवस्था छ । प्रहरीले सेनासँग १० हजार थान इन्सास र त्यसको गोली १२ हजार थान लिएको थियो ।
हतियारको आवश्यकता महसूस गरी दुई वर्षअघि प्रहरी प्रधान कार्यालयले ६ वटा प्याकेजमा टेण्डर आह्वान गर्दा त्यसमा डबल बुलेट हान्ने १२ सय थान सटगन, हजार वटा सानो पेस्तोल, २५ हजार सेल टियर ग्याँस र १० हजार थान रबर बुलेट थिए । त्यसबाहेक दुई–तीन लाख पेस्तोलको गोली पनि । खरिदकार्यका निम्ति अर्थले स्रोतको सुनिश्चितता दियो ।
तर, एलसी खोल्ने बेला डलरको अभाव भन्ने समाचार आएको भरमा रकम निकासा हुन पाएन । रकम दिएको भए त्यतिबेला आउने हतियार चुनावमा काम लाग्थ्यो । त्यसबेला अमेरिकी डलरको भाउ एक सय २० का दरले थियो । अहिले बढेर एक सय ३३ पुगेको छ । अर्थात्, १३ डलर उसै घाटा भइसक्यो । यदि त्यसबेला सरकारले रकम निकासा दिएको भए ७८ करोडमा काम सकिन्थ्यो, जुन काम अब ९३ करोडमा मात्रै सम्भव छ ।
टिप्पणीहरू