एयरपोर्टबाट अफिसर भागेर अष्ट्रेलिया

पटक–पटक उनै असइद्वारा पिटपाट

एयरपोर्टबाट अफिसर भागेर अष्ट्रेलिया

यसअघि नै अभिलेख किताबमा जनिने गरी नसिहत पाएको कर्मचारी घुमिफिरी किन एयरपोर्टमै पुग्छ ? र, वर्षाैंसम्म त्यहीँ बसिरहन्छ ? अनि आफूले सलाम ठोक्नुपर्ने तहका हाकिमलाई पछाडिबाट लात्तीले भकुर्छ ? ‘ब्याक फोर्स’ विना त्यो काम कसरी सम्भव होला ? 

गत हप्ता देशकै बेइज्जत हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी र प्रहरीबीच हानाहान चल्यो । अधिकृत मात्र होइन, सहसचिवमाथि नै लात्ती भकुरियो । यो प्रकरणमा मुछिएका सहायक निरीक्षक (असई) हुन् सञ्जय तामाङ ।

उनले शुरुमा अध्यागमन अधिकृत छायाँलाल मोक्तानलाई भकुरे । एक जना मात्र होइन, प्रहरीको समूह नै मिलेर निर्घात कुटपिट गरेको क्लोज सर्किट क्यामेराको फुटेजमा देखिन्छ । त्यसपछि सिसिटिभी रुममा प्रमुख अध्यागमन अधिकृत गोगनबहादुर हमाललगायत कर्मचारीलाई ढोका थुनेर पछाडिबाट लात्तीले हानियो । सिसी क्यामेरा कन्ट्रोल रुमभित्रकै घटना भने रेकर्ड नहुँदा बाहिर नआएको कर्मचारीहरू बताउँछन् । 

यसरी अधिकृत र सहसचिवमाथि हातपात गर्ने असइलाई तीन वर्षअगाडि यस्तै प्रकृतिको घटनामा नसिहत दिइएको पाइएको छ । कम्प्युटर कोड ४७९४७८ र संकेत नम्बर सी ००१३३५७८ रहेका सञ्जयको त्यतिबेला अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरमै दरबन्दी थियो । उनले त्यसबेला पनि यस्तै काण्ड मच्चाएको फेला परेपछि प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले अभिलेख किताबमा जनिने गरी नसहित दिने निर्णय गरेका थिए ।

तामाङले प्रहरी नियमावली ०७१ (संशोधन सहित) परिच्छेद १० को नियम ११० को (क) कसुरमा नियमावली ११९ को ४ (क) ले दिएको अधिकार प्रत्यायोजन गरी १०९ (क) २ बमोजिम पहिलो पटक नसिहत पाएको तथ्य जनआस्थाले फेला पारेको छ । आफूलाई नसिहत दिने निर्णयविरुद्ध उनले पुनरावेदन गरेका थिए । यसरी एउटा कर्मचारी नसिहत पाउँदासमेत तीन वर्षदेखि एयरपोर्टमा टिकिरहेको भेटिएको हो । 

उता, भिजिट भिसा प्रकरणमा अदालतबाट पक्राउ पुर्जी जारी भएका ८ मध्ये दुई अधिकृत अष्ट्रेलिया पुगेको जनाइएको छ । नक्कली कागजपत्र बनाएर विदेश पठाउने काममा संग्लग्न अधिकृतहरूको भागाभाग छ । नयाँको हकमा ५५ हजार र एक पटक विदेश गएर फर्किएकाको हकमा ४० हजार रूपैयाँ लिएर अध्यागमन अनुमति दिने गरेको तथ्य फेला परेसँगै कर्मचारीको भागाभाग चलेको हो ।

 

टिप्पणीहरू