महिलाको ठाउँमा महिला, को पहिला

महिलाको ठाउँमा महिला, को पहिला

गतसाता सम्पन्न राष्ट्रियसभा निर्वाचनमा विकसित घटनाक्रम र उक्त परिणामका आधारमा बदलिएको शक्ति सन्तुलनले भन्छ, राष्ट्रियसभाको अध्यक्ष नेपाली कांग्रेसका लागि अब फलामको च्युराजस्तो भयो ।

परिणामअनुसार राष्ट्रियसभाको ठूलो दल माओवादी होे । ठूलो पार्टीले नै अध्यक्ष पाउनुपर्छ भन्ने कुनै कानुनी वा संसदीय व्यवस्था त होइन । तर, ‘किन छाड्ने ?’ भन्दै माओवादीभित्र यसबारे तीव्र बहस शुरु भएको छ । गत वर्षको सहमतिअनुसार प्रचण्डले आउने वर्षको पुसमा प्रधानमन्त्री पद त्याग्नुपर्ने छ । त्यसबेलासम्म त संवैधानिक परिषद्मा माओवादीको प्रतिनिधित्व उहाँले गर्ने हुनु नै भयो । तर, त्यसपछि शून्य स्थिति रहन्छ ।

यदि अहिले कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाएर जाने र प्रचण्डले प्रधानमन्त्री छाड्नेबित्तिकै सिटौलालाई हटाएर माओवादीबाट उर्मिला अर्याललाई उकाल्ने कुरा भएछ भने पनि त्यतातिर  नलाग्ने भनी माओवादी नेताहरुले प्रचण्डलाई चेतावनी दिइसकेका छन् । जसरी गठबन्धनबाट उठाइएका १९ मा १८ जनाले सर्लक्कै चुनाव जित्ने र मात्रै चम्पा कार्कीले हार्ने स्थिति बन्यो, त्यो विशुद्ध नेपाली कांग्रेसको बेइमानी हो भन्दै माओवादी नेताहरु चर्किएका हुन् । अहिल्यै चुनाव हराउनेले एक वर्षपछि पाइसकेको राष्ट्रियसभा अध्यक्ष छाडेर माओवादीलाई दिन्छन् भन्ने कुनै ग्यारेण्टी छैन ।

हटाउन पनि सकिन्छ, तर दुई तिहाईले । कांग्रेसले कोशी प्रदेशमा माओवादीप्रति देखाएको रवैयाका आधारमा ऊसँगको गठबन्धन छोडेर एमालेसँग मिल्नु हितकारी हुने कतिपय माओवादी नेताको ठम्याई छ । तर, एमाले अध्यक्ष केपी ओलीले माधव नेपालको पार्टीबिनाको गठबन्धन भएमात्र स्वीकार्ने सन्देश पठाउनुभएको बताइन्छ । प्रचण्डले सिटौलालाई राष्ट्रियसभामा ल्याउनुपर्छ भनी शेखर कोइरालाहरुसँग पनि कुरा गर्नुभएको थियो ।

शेखरहरुले त्यही कुरा त माने, तर चम्पालाई हराएर कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेले लगाएको गुन तिरिदिए । एउटी महिलामाथि भएको यस्तो अन्यायको बदलामा अर्की महिला तथा माओवादीबाट राष्ट्रियसभा उपाध्यक्ष रहेकी उर्मिला अर्याललाई अध्यक्ष बनाउने र उपाध्यक्ष कांग्रेसलाई दिने गरी जानुपर्ने माओवादी नेताहरुको ठम्याई छ । बरु, कृष्ण सिटौलालाई उपप्रधानसहित गृहमन्त्री बनाएर सम्मानजनक स्थानमा राख्न सकिने विकल्पमा जान ती नेताहरुले प्रचण्डलाई दबाब दिइरहेको बताइन्छ ।
 

टिप्पणीहरू