पाथीभरातिर अहिले विवादको पहाड
ताप्लेजुङको पाथीभरा अग्लो डाँडा र निकै उचाइ भएका कारण त्यहाँ पुग्न अशक्त तथा ज्येष्ठ नागरिकलाई निकै कठिन पर्छ ।
केही वर्षयता देवीको दर्शन र कञ्चनजंघा, फक्ताङलुङ (कुम्भकर्ण)लगायत हिमाल र पहाडी सुन्दरताको दर्शन गराउन स्थानीय युवा त्यस्ता तीर्थयात्रीलाई ढाडमा बोक्न थालेका छन् । सुकेटारदेखि तेर्सो र भालुगौडे काफ्ले पाटीदेखि उकालो भएका कारण कान्छीथान भनिने फेदीदेखि लेक लाग्ने उचाइ र ठाडो उकालो पर्छ । मान्छेहरू हिँड्न नसक्ने यही फेदीदेखि माथि हो । यही कान्छीथान फेदीमा धुपबत्ती र पूजाआजा शुरु गर्ने चलन छ । पहिले त मानिस यहींबाट धागो टाँगेर माथि डाँडोसम्मै पुग्थे । अहिले यो कार्य बन्द गरिएको छ । धागो किन टाँगिन्थ्यो त्यो त थाहा भएन तर बढी फोहोर र अल्झाउने भएका कारण वातावरणीय कुरालाई उठाएर टाँग्न बन्द गरिएको छ ।
पाथीभरा मन्दिर क्षेत्र केही वर्षयता विवादको घेरामा छ । एउटा त नामकै विषयलाई लिएर विवाद छ भने यहाँ बन्न लागेको केबुलकार पनि विवादको कारण बनेको छ । पहिलो त लिम्बुवान प्रदेश भनेजस्तै मुकुम्लुङ राखिनुपर्ने माग छ ।
केबुलकार निर्माण गर्ने निकै पहिलेदेखि केही व्यवसायीले सोच राखे पनि धेरैको त्यसमा आँखा परेपछि छिनोफानो राज्यबाटै गरिएको थियो । आधिकारिकता पाएको कम्पनीले काम शुरु गर्दा जग्गा प्राप्तिका समयदेखि नै यो विषय विवादित भएको थियो, केही व्यक्तिले सस्तोमा जग्गा खरिद गरेर केही दिनमै लाखाँै भाउ बढाई कम्पनीको नाममा पास गरिएको थियो । यस्तो कार्यले सेयरमा प्रभाव पर्ने र स्थानीयले त्यसको मार व्यहोर्नुपर्ने गुनासोबाट शुरु भएको विवाद अहिले वातावरणीय र वन्यजन्तु संरक्षणपछि जोड्न थालिएको छ ।
यता, राज्य पक्षबाट केबुलकार निर्माण कम्पनीलाई काम गर्ने वातावरण बनाउन जि.स.स. प्रमुखको संयोजकत्वमा एक समिति बनेको छ । समितिलाई उपलब्धि अहिलेसम्म हात लाग्न सकेको छैन । पाथीभराको नामांकन र केबुलकार निर्माण ताप्लेजुङको पाथीभरा चुचुरोमा माघको जाडोमा पनि निकै गरम बहसको विषय बनेको छ ।
– कमल भट्टराई
टिप्पणीहरू