हाटबजारमा गाँजा बेच्ने दिन आउला ?
स्थानीय उत्पादन र कला संस्कृतिको प्रवद्र्धनका लागि मकवानपुरको राक्सिराङ गाउँपालिकाले पाक्षिक हाटबजार चलाइरहेको छ ।
यो आर्थिक संकटका बेला चलाइएको हाटबजारले स्थानीय बासिन्दाको आर्थिक कारोबारमा ठूलो असर पार्न नसके पनि स्थानीय कला, संस्कृतिको प्रवद्र्धनमा भने प्रभाव पार्न थालेको छ । स्थानीय स्तरमा नवप्रतिभा एकपछि अर्काे गर्दै उत्पादन भइरहेका छन् ।
हरेक महिनाको १ र १५ गते लाग्ने हाटबजारमा खासगरी सीमान्तकृत चेपाङ समुदायको भेषभूषा, कला, संस्कृति, गीतसंगीत र उनीहरूको जीवनयापनका लागि उपयोगी हुने खानेकुराको प्रदर्शनी, बिक्री वितरणलाई जोड दिइएको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जीवन धान्नका लागि उपभोग गरिएका वस्तुको संरक्षण र प्रचारप्रसार गर्नु स्थानीय सरकारको कर्तव्य भएको बताउनुभयो ।
उक्त गाउँपालिकालाई चेपाङ उद्गम थलोको रूपमा पनि लिइन्छ । गाउँपालिकाले राक्सिराङ ५ चैनपुरस्थित पालिका मुकाममा ठूलो भवन निर्माण गरिरहेको छ, जहाँ चेपाङ संग्रहालय स्थापना हुनेछ । चेपाङले प्रकृतिको भरमा उत्पादन र उपभोग गर्ने गिट्ठा, भ्याकुर, तरुल, स्थानीय जातका मौरीको मह, पिँडालु, सखरखण्ड, कोदो, फापरको पिठोबाट बनेको ढिँडो, लोकल कुखुरा, लोकल खसीको मासु, बंगुरको मासु, स्थानीय जातका सिमी, बोडीलगायत सिजनका तरकारी हाटबजारमा राखिएको प्रचारप्रसार समितिका संयोजक ज्ञानेन्द्र तामाङले बताए । गाउँपालिकाले किसानका लागि सहुलियतको रासायनिक मलको बिक्री वितरण पनि हाटबजारबाटै गर्न थालेको छ ।
यसैबीच, गाउँपालिकाका सर्वदलीय प्रतिनिधिले भने हाटबजारमा कहिलेदेखि गाँजा बिक्री वितरण गर्न पाउने वातावरण बन्ला ? भनेर प्रश्न गर्न थालेका छन् । केही दिनअघि अर्थमन्त्री रामशरण महतलाई गाँजाको व्यावसायिक उत्पादन र कानुनी बैधानिकताका लागि ज्ञापनपत्र बुझाएको कांग्रेस राक्सिराङका सभापति वीरेन्द्र जिम्बाले हाटबजारको सन्दर्भ जोड्दै छिट्टै हाटबजारमा गाँजा बेच्ने वातावरण सरकारले बनाउनुपर्ने धारणा राखे । ‘हामी सबै दलका प्रतिनिधिको प्रयत्न गाँजाको वैधानिकता भई हाटबजारमा समेत बिक्रीको वातावरण बनोस् भन्ने छ’, जिम्बाले भने ।
टिप्पणीहरू