सुगतलाई एनसेलमा लाने सुर
एनसेलको विवादास्पद शेयर खरिद–बिक्रिको स्थिति अब के हुन्छ ? यो कुरा नेपाल सरकारको तजविजमा निर्भर छ । मलेसियाको अजिएटा ग्रुप बहार्ड र स्पेक्ट्रलाइट युकेबीच भएको शेयर कारोबारबारे छानवीन गर्न गठित टंकमणि शर्मा संयोजकत्वको समितिले यथास्थितिमा त्यसलाई कार्यान्वयन गर्न नहुने सुझाव दिएको छ । तर, उक्त सुझाव मान्ने कि नमान्ने वा निश्चित शर्त र बन्देजसहित उसको कारोबारलाई मान्यता दिन सकिनेजस्ता विषय पनि अब सरकारकै हातमा छ ।
२०७० सालमा मलेसियाको अजिएटा ग्रुप बहार्डले पुँजिगत लाभकर नतिरेदेखि अहिले शेयर बिक्रिसम्मको घटनालाई केलाउँदा नेपाली अर्थतन्त्रका निम्ति उक्त कम्पनी ठूलै आतंकका रुपमा प्रस्तुत भएको छ– बेलायतले भारतमा इष्ट इण्डिया कम्पनी खडा गरेर कोलोनी चलाएजस्तो ! अहिलेसम्म पनि भारतीयहरु बेलायत भन्नेबित्तिकै आतंकित हुन्छन् ।
एनसेलको हकमा ०७२ सालदेखि ०८० सालसम्म आउँदा त्यस्तै भएको छ । एनसेलले नेपालमा सबै कुरा पैसाका बलमा हुन्छ भन्ने मानसिकता राख्दै आएको थियो । अहिले पनि नेपाली बुँख्याचालाई प्रयोग गर्दै त्यस्तो धन्दा जारी छ । कारोबार भएर वा नभएर करोडौँको खेल चलेका चर्चा भइरहेका छन् । टंकमणिको समितिले शेयर खरिद प्रक्रिया यथास्थितिमा स्वीकार गर्न नहुने त भनेको छ ।
तर, दूरसञ्चार प्राधिकरण र सञ्चार मन्त्रालय बलियो भइदिएको भए यस्तो रमिता देख्नैपर्ने थिएन । दूरसञ्चार ऐन, दफा ३३ को उपदफा १ अनुसार अबको ५–६ वर्षमा एनसेलको सारा श्रीसम्पत्ति सीधै सरकारको स्वामीत्वमा आउने हो तर, २ र ३ अनुसार उसले पैसा तिरेर थप २५ वर्ष चलाउन पाउँछ । ४ मा यस्तो पनि दफा छ– नेपाली पक्षको ५० प्रतिशतभन्दा बढी लगानी छ भने केही नभनी खुरुखुरु अगाडि गैरहन पाइन्छ !
अहिले सतिशलाल आचार्यको ८० र उनकी पत्नी भावना सिंहको २० प्रतिशत शेयर देखाइएको छ । पत्नी नेपाली हुन्, सतिशलालमात्रै सिंगापुरका । भनिन्छ, सन् २०२९ मा सरकारलाई स्वामीत्व नदिनका लागि यो सबै गरिएको हो ।
टंकमणिको समितिले अब नवीकरण गर्न जाँदा नेपाल सरकारले कर पाउने कुराको सुनिश्चितता गरसम्म त भनेको छ । उच्च अदालत पाटनले शेयर हस्तान्तरण कार्यान्वयन नगर्नु, रोक्का गर्नु भनेको कारण कानुनी रुपमा शेयर लगत कायम भएको छैन ।
अदालतले पहिलाका २० प्रतिशतवाला निरजगोविन्द श्रेष्ठलाई करमा नकस्न ७ वर्षअगाडि अन्तरिम आदेश दिएझैं अनन्तकालसम्म हलो अड्काएर गोरु उम्काउने काम त भइरहेको छैन भन्ने आशंका पनि जन्मिएको छ । उता, नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुगतरत्न कंसाकारलाई एनसेलको प्रमुख कार्यकारी निर्देशक बनाएर लैजाने तयारी छ ।
टिप्पणीहरू