ऋणम् कृत्वाः घृतम् पिवेतः
नागरिकबाट विभिन्न बहानामा बटुलेको रकमका आडमा राजनीति राजनीति तथा शक्तिमा आएर तर मार्ने वर्ग शहरबजारमा ह्वात्तै बढेको छ । नागरिकको बचत ठगी गर्नेहरू नै अपराध कर्म ढाक्न खोज्दै छन् । लाखौँ सहकारी पीडित बचतकर्ता थाल खाऊँ कि भात खाऊँको अवस्थामा छन् ।
रविको पछि लाग्ने अनिल शाहका अभिव्यक्तिले पूरै बैंकिङ क्षेत्रमाथिको भरोसा र विश्वासमा धमिरा लाग्ने खतरा बढ्दै गएको छ । बैंकमा चेक जम्मा गर्नेबित्तिकै सम्बन्धितको खातामा रकम जम्मा हुने जोकरीपूर्ण तर्क उनले गरेका छन् । जबकि पेश भएको चेक सम्बन्धित बैँकमा अनलाइन प्रक्रिया र प्रविधिमार्फत पठाई ब्यालेन्स भएको र भुक्तानी दिन मिल्ने कन्फर्म भइआएपछि मात्र सम्बन्धितको खातामा जम्मा हुने हो । चेक मात्र बुझाएका आधारमा कन्फर्म नै नगरी बैँकले रकम जम्मा गर्दैन । बैँकले दिने स्टेटमेन्ट पनि फर्जी हुने अनिल शाहको तर्क आफैँमा हलुका, झुट्टा र आधारहीन छ । पैसा नभई स्टेटमेन्ट आउँदैन । बरु स्टेटमेन्ट लिएलगत्तै झिक्नचाहिँ मिल्ने हुन्छ ।
राज्य चौतर्फी कर असुल्छ नागरिकसँग । नागरिकप्रतिको आफ्नो दायित्वचाहिँ ठान्दैन ।
यसबीच तीन खम्बे अर्थनीति भनेर खुबै प्रचारमा ल्याइयो । सरकारी, निजी र सहकारी क्षेत्रबाट मुलुक बन्ने भनियो । नेपालको आर्थिक विकासमा तीन क्षेत्रको समुचित भूमिका हुने भन्दै सहकारीलाई अर्थतन्त्रको मेरुदण्ड हो भन्ने भाष्य लामो समयदेखि राज्यका तर्फबाट आएका लिखित दस्तावेजमा लेखियो । सरकार, मन्त्री र नेताबाट सहकारी क्षेत्रलाई बैँकसरहको विश्वासयोग्य भनियो ।
सहकारी व्यवसायलाई असल, चोखो र नागरिकको सार्थक सहभागिताको व्यवसाय र पेशा हो भन्ने पारियो । त्यही कारण सामान्य र सोझा नागरिकले खाइनखाइ आफूले कमाएको, खसी बोका बेचेको, कृषि उत्पादन बेचेको वा वृद्ध भत्तासमेत त्यहाँ लगेर राखे । तर, दुर्भाग्य मुुलुकमा सञ्चालित ठूला भनिएका सहकारीले आफ्नो निजी मोजमस्तीमा, भोजपाटीमा, निजी घर खरिदमा, देश विदेश घुमाइमा रकम उडाए । नागरिकका बचत क्वाप्पै खाइदिए ।
राज्य चौतर्फी कर असुल्छ नागरिकसँग । नागरिकप्रतिको आफ्नो दायित्वचाहिँ ठान्दैन । एकथरी राजावादी, ठग र पत्रुहरू ठगिएका नागरिकको संवेदशीलतामाथि खेल्दै छन् । संंघीय सरकार, सहकारी विभाग, राष्ट्र बैँक मात्र होइन संसदका सम्बन्धित समितिसमेत चुपचाप बसेका छन् ।
कार्यक्रम, नीति, विचार, सिद्धान्त, कार्यदिशा र संरचना खडा नगरी हाहाहुहुमा ‘आए आँप गए झटारो’ जस्तो सोच र शैलीबाट राजनीतिमा आउँदा त्यसले सबैतिर भ्रमित पार्दै लगेको छ । राजनीतिलाई हल्ला गर्ने र ठूला कुरा गर्ने पेशा मात्र हो भन्ने बनाइँदै छ । नागरिकले हातले खुशीसाथ दिएको पैसा पाउन अहिले रुँदैरुँदै खुुट्टाले दुःख पाउने अवस्था आइलागेको छ । ‘ऋणम् कृत्वाः घृतम् पिवेत’ भनेजस्तो अर्काले सहकारीमा ल्याएर राखिदिएको बचत ध्वस्त गर्ने चुसाहाहरु बढेका छन् । नेपाली समाजमा पहिले–पहिले रहेका ल्याप्चेवाला साहुमहाजन ठगभन्दा पनि चुसाहा हुन् यी आधुनिक ठग ।
त्यस्ता अपराधीमाथि कानुनी कारबाही गर्ने र बचतको सुनिश्चितता हुने गरी घर जग्गा र सम्पत्ति रोक्का गर्नुपर्नेमा सरकार र सम्बन्धित निकाय मौन भइदिँदा ठग, अपराधी र स्टन्टबाजले उल्टो बचतकर्तालाई धम्क्याउने मौका पाएका छन् । सरकारी निकायचाहिँ अर्काे निकाय वा कार्यालयलाई देखाएर चोखो बन्ने सोचबाट अघि आएको कारण नागरिक र बचतकर्ता आत्महत्या गर्नुपर्ने ठाउँमा पुग्दै छन् । अर्काले राख्न दिएको बचत ऋणजस्तै हो, त्यो मासेर खाने तरमारा वर्गचाहिँ ‘घृतम् पिवेत’ भनेजस्तो घिउ पिएर ठाँटसँग राजनीतिका ठूला गफ गर्दै हिँडेका छन् ।
उता, राजावादी चिहानका नलिखुट्टा फुक्नेहरू सहकारीबाट लिएको ऋण मिनाहा हुनुपर्ने भन्दै छन् । दुवै प्रवृत्तिले मुलुकको व्यावसायिक वातावरण ध्वस्त पार्ने खतरा छ । सहकारीका ठग जो–कोही भए पनि ठाउँको ठाउँ कानुनी कारबाही गर्नु अनिवार्य र आवश्यक देखिन्छ ।
टिप्पणीहरू