सिपाहीले बाटो छेक्ने, दूतावासले कार्पेट ओछ्याउने

सिपाहीले बाटो छेक्ने, दूतावासले कार्पेट ओछ्याउने
सुन्नुहोस्

नेपाल–चीन सीमा नजिक व्यास गाउँपालिका– १ तिंकरको छियालेकमा कात्तिक १५ गते सशस्त्र प्रहरीको बिओपी उद्घाटन भयो । उक्त कार्यक्रममा सहभागी हुन भारतीय मोटरमार्ग भएर जाने क्रममा सशस्त्र सीमा बल (एसएसबी) ले व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीसहित तीन जनालाई कात्तिक १४ गते रोक लगायो । तर, सशस्त्र प्रहरीका एआइजी, सुरक्षा अधिकारी र प्रजिअ किरन जोशीसहितलाई भने भारतीय मोटरबाटो प्रयोगमा कुनै अवरोध गरिएन । 

दार्चुला सदरमुकामबाट भारतीय बजार धारचुला हुँदै व्यासतर्फ सँगै हिँडेका सुरक्षा अधिकारीले कात्तिक १५ गते तिंकर पुगेर बिओपी उद्घाटन गरे तर उनीहरूसँगै व्यासतर्फ हान्निएका अध्यक्ष धामी, महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर र विद्यार्थी नेता दीपक खातीले बीच बाटोबाटै फर्किनुप¥यो । धारचुलास्थित भारतीय एसएडिएम कार्यालयबाट लिखित अनुमति (परमिट) बनाएको भए पनि यी तीन जनालाई माथिको आदेश भन्दै अगाडि बढ्न दिइएन । तीन महिनाअघि भारतको सीमा सुरक्षा हेर्ने एसएसबीद्वारा आवतजावतमा अवरोध गरिएका व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीलाई काठमाडौंस्थित भारतीय राजदूतावासले भने न्यानो स्वागत गरेको छ ।

माघ १२ गते आयोजित ७५ औँ गणतन्त्र दिवस कार्यक्रममा सहभागी हुन दूतावासले उनलाई लिखित आमन्त्रण नै गरेको थियो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण र भारतीय विदेशमन्त्री एस. जयशंकरको पछिल्लो काठमाडौँ भ्रमणपछि नेपाल र नेपालीसँगको सम्बन्ध सुधारमा छिमेकी भारतले नयाँ प्रयास थालेको बुझिन्छ । यसै क्रममा लैनचौरस्थित दूतावासको कार्यक्रममा सहभागी हुन एक हजार किमि टाढाबाट स्थानीय सरकार प्रमुखलाई निम्ता गरिएको छ । 

उक्त कार्यक्रममा व्यास गाउँपालिका अध्यक्षसँगै दार्चुला जिल्लाका दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह बडाल, नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामी र शैल्यशिखर नगरपालिका प्रमुख विजयसिंह धामीलाई पनि निम्ता गरिएको थियो । व्यास, दुहुँ र नौगाडका अध्यक्षहरू कार्यक्रममा सहभागी हुन काठमाडौँ पुगे पनि शैल्यशिखरका मेयर विजयसिंह धामी भने कार्यव्यस्तता भन्दै गएनन् । माघ ११ गते धनगढी राष्ट्रियसभा निर्वाचनमा सँगसँगै भोट हालेर तीन जना अध्यक्ष काठमाडौँतर्फ लागे पनि नगर प्रमुख भने गृहजिल्ला फर्किएका थिए । 

स्थानीय सरकारसँग समानान्तर सम्बन्ध बनाउने उद्देश्यले उच्च प्रभावयुक्त विकास परियोजनाको बजेट सीमा २० करोड पु¥याएको भन्दै चर्चा र विरोध भएको बेला पहिलोपटक दूतावासले स्थानीय सरकारलाई यसरी निम्ता गरेको हो । आफू शुक्रवार दिउँसो ३ घण्टासम्म दूतावासको कार्यक्रममा सहभागी भएको मंगलसिंह धामीले बताउँदै उपराष्ट्रपतिदेखि प्रधानमन्त्रीसहित अधिकांश मन्त्री र सबैजसो दलका शीर्षनेता सहभागी भएको त्यहाँ जानकारी दिनुभयो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित देखिए पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, नेता कृष्णगोेपाल श्रेष्ठ सहभागी थिए । 

उक्त दूतावासको आर्थिक साझेदारीमा विकास कार्यक्रम सञ्चालन भइरहेका स्थानीय सरकारलाई गणतन्त्र दिवसमा निम्ता गरिएको स्रोतले बतायो । दार्चुलाको व्यास, दुहुँ र नौगाड गाउँपालिका तथा शैल्यशिखर नगरपालिकामा एक÷एक वटा विकास कार्यक्रम सञ्चालित छन् । व्यास गाउँपालिकाको हिमालय मावि हुती भवन निर्माण, दुहुँ गाउँपालिकाको जनविकास मावि बारबाज भवन निर्माण र नौगाड गाउँपालिकाको स्वास्थ्य चौकी नागु भवन निर्माण दूतावासको साझेदारीमा भैरहेका छन् ।

शैल्यशिखर नगरपालिकाको गलैनाथ मावि झरकडा भवन पनि बनिरहेको छ । प्रत्येक विकास निर्माणमा करिब ४ करोड रुपैयाँ हयोग दिइएको छ । पछिल्लो समय दार्चुलाका नौ वटामध्ये अपीहिमाल र मार्मा गाउँपालिकाबाहेक सातवटा स्थानीय तहमा भारतीय दूतावासले एम्बुलेन्स गाडी पनि उपलब्ध गराएको छ । दार्चुला सदरमुकामनजिक दुई देश जोड्ने मोटरपुल पनि निर्माण गरिरहेको छ । केपी शर्माओली प्रधानमन्त्री भएको बेला महाकाली नदीमा नेपाल–भारत जोड्ने थप ४ वटा झोलुंगेपुल निर्माण गरिएका छन् ।

ती झोलुंगेपुल भने तुइन विस्थापन कार्यक्रमअन्तर्गत नेपाल सरकारले बनाएका हुन् । व्यास गाउँपालिका–२ दुम्लिङ र वडा नम्बर १ बुँदीमा पनि स्थानीयस्तरमा निर्माणको माग भएको छ । तर, भारत सरकारले यी दुई स्थानमा झोलुंगेपुल निर्माणको सहमति दिइसकेको छैन । 

 

टिप्पणीहरू