दुबईमा बन्धक एउटा रोल्पालीको जिन्दगी
रोल्पाका २१ वर्षीय बालकुमार वली बिदेसिनुअघि सोच्थे, ‘ऋण लागोस्, विदेश जान्छु । तर दिन नलागोस्, दैव नलागोस् ।’ दिन लाग्यो कि, दैव ! उनैलाई थाहा छैन । ‘मलाई भाग्यले ठग्यो । सानी छोरीले बाबा खोजिरहेकी छ । घरपरिवार ऋणले थलिएको छ । मलाई दुबईको कम्पनीले रूवाएको छ, उपचार खर्च नतिरिदिँदा हस्पिटलले बन्धक बनाएको छ । मेरो बिजोक छ,’ बालकुमारले भने ।
डेढ वर्षअघि पैसा कमाउन दुबई पुगेका उनी ‘बन्धक’जस्तै छन् यतिबेला । साँघुरो कोठाभित्र खुम्चिएका छन् । एकछिन हाँस्छन्, क्षणभरमै दुःखी हुन्छन् । सबैतिरबाट एक्लिएका उनी टाउकोमा ‘चोट’ बोकेर कैद छन् । पातलो शरीर । मलिन अनुहार । भारी मन । सबैतिरबाट खेदिएको ‘एउटा मजदुर’ । समुद्रको छालसितै हराइरहेका ‘दुबई सपना’ । मृत्युको मुखबाट उम्किएको बालकुमारको ‘जिन्दगानी’, मरुभूमिको तातो घाममा सेकिँदै छ ।
‘वली परिवारको कान्छो छोरा’ बालकुमारका रहर थपिँदै थिए । ०७८ असोज २९ गते प्रेमिका ‘लीला’ सित विवाह गरे । त्यो पनि उमेर २० वर्ष नपुग्दै । एकातिर पढाइ, अर्कोतिर घरबार । परिवार ऋणमा डुब्दै थियो । बालकुमारले पत्नी लीला, पिता र घरछेउका साथीभाइसँग सल्लाह मागे । सबै जनाको सुझाव थियो– ‘दुबई, मलेसिया वा कतार जाऊ’ । चर्को ब्याजदरमा ऋण काढेर उनी ०७८ चैतको पहिलो सातातिर काठमाडौँँ हिँडे । योजना थियो– ‘विदेश’ उड्ने । केही दिन नयाँ बसपार्क–छेउको एउटा होटलमा बसे । कनिकुथी राहदानी बनाए । ‘प्याराडाइज म्यानपावर’का एजेण्ट साउने गिरीलाई १ लाख ५० बुझाएर दुबई उड्ने पक्कापक्की गरे । र, १२ कक्षा पढ्दापढ्दै ०७९ वैशाख ९ गते आफन्तलाई बिदाइका हात हल्लाउँदै ‘सपनाको शहर’ दुबई उडे ।
---
बालकुमारका लागि दुबई नयाँ थियो । तर जताततै रमाइलो र आफ्नो जीवनमाा भरोशाको ‘रंगीन शहर’ थियो । ‘इजदा असिस्टेन्ट म्यानेज्मेन्ट ग्रुप’मा कार्यरत उनी श्रम सम्झौतामा उल्लेख भएबमोजिम १ हजार २ सय दिराम पारिश्रमिक पाउँथे । कम्पनीले खातामा हालिदिएको तलब खुरुखुरु घरमै पठाइदिन्थे ।
उनी ग्रुपमार्फत ‘साम्स फोर जेबिआर’ अपार्टमेन्टमा सरसफाइको काम गर्थे र ‘ब्लुवाटर’ नजिकै खटिन्थे । लगभग १४ महिना अपार्टमेन्टमा सरसफाइको काम गरे । ‘कम्पनी राम्रो थियो । बस्न र खान कहिल्यै समस्या भएन । समयमै भनेअनुसारको तलब–सुविधा दिन्थ्यो । मैले १४ महिना अपार्टमेन्टमा क्लिनरको काम गरें,’ बालकुमार भन्छन् । राम्रो कम्पनी भएकाले राम्रै सुविधा थियो । ‘इजदा’ले आफ्ना कामदारलाई कम्पनीकै गाडीबाट अपार्टमेन्टसम्म ओसाथ्र्याे । त्यहाँ नेपाली, भारतीय, पाकिस्तानी र बंगालीहरू छरपस्टै छन् । तीमध्ये उनीहरू सरसफाइकर्मी र सुरक्षागार्ड हुन् ।
---
दैनिकी उही हो, बालकुमार ०८० असार १२ गते एकाबिहानै कोठाबाट निस्के । ड्युटीतिर जाँदै थिए । कम्पनीको गाडी पर्खिने ‘जेबलाली’ पुगेर रोकिए । समय घर्किसकेको थियो । ‘साम्स फोर जेबिआर’ अपार्टमेन्ट जाने कम्पनीको गाडी छुटेको पत्तो पाए । अनि, अर्को गाडी कुरेर बसे ।
एकैछिनमा ‘इजदा असिस्टेन्ट म्यानेज्मेन्ट ग्रुप’को अर्को गाडी आइपुग्यो । त्यो थियो– सुरक्षागार्डको । उनी थिए– सरसफाइकर्मी । तैपनि, बालकुमार गाडीमा चढे । उनी चढेको गाडी ‘ब्लुवाटर’तिर हुइँकियो । गाडी चालकलाई भनेका थिए, ‘मेरो गाडी छुट्यो । पुलमा झार्दिनु ।’ गाडी आफ्नै रफ्तारमा गुडिरहेको थियो । काममा पुग्नै हतार थियो । झ्याप्प ढोका खुल्यो । गाडीबाट ओर्लिन खोज्दा भुइँमा बजारिए । तर गाडी रोकिएको थिएन । उनी भुइँमा ठोकिएपछि पनि गुडिरह्यो गाडी ।
बालकुमारको टाउको रोडछेउको पेटीमा बेस्सरी ठोकियो । उनले आफू चढेको गाडी द्रूतगतिमा कुदेको पत्तो नै पाएनन् । र, बिहान साढे ६ बजे गाडीबाट ओर्लिन खोज्दा दुर्घटनामा परे । ‘...मलाई त्यसपछि केही याद छैन,’ बालकुमारले भने, ‘बेहोस् भई बाटोमै छट्पटाइरहेका बेला दुबई प्रहरीले साउदी जर्मन अस्पतालमा पु¥याएको रहेछ । यो सबै कुरा एक महिनापछि थाहा पाएँ ।’
---
तीन महिनाको उपचारपछि आफू डिस्चार्ज भएको र कम्पनीले बेवास्ता गर्दा ‘दुबईमै बन्धक हुनुपरेको’ उनको गुनासो छ । महिना दिनपछि होशमा आएका बालकुमारको उपचार निरन्तर २ महिना चल्यो । अस्पतालले डिस्चार्ज गर्नेबेला भइसकेको थियो । तर कम्पनीले उपचारखर्च नतिरिदिँदा थप १ महिना त्यहीं बस्नुप¥यो । र, ‘बन्धक’जस्तै बनाएको अस्पतालले त्यहाँ राखेबापत दैनिक करिब ५ हजार दिरामका दरले भुक्तानी दाबी ग¥यो । ‘होश आएपछि दिमागले कामै गरेन । पागलझैँ थिएँ । बेहोसीमै कुराकानी हुन्थ्यो रे,’ बालकुमारले भने, ‘तीन महिनापछि मात्रै राम्रोसँग परिवारसँग कुराकानी भयो ।’
रोल्पाली सेवा समाज युएईका अध्यक्ष दिल पुनका अनुसार उनको उपचारमा साढे ९ लाख दिराम खर्च लागेको छ । (साढे ३ करोड रुपैयाँँ) त्यसमध्ये ४ लाख ३७ हजार दिराम बीमा कम्पनीले तिरेको छ । बाँकी उपचारखर्च भुक्तानी नभएको भन्दै अस्पतालले मुद्दा हालेको छ । ‘भाइको स्वास्थ्य अवस्था राम्रो छ । उनी अहिले सुरक्षित छन् । रोल्पाली सेवा समाजको पहलमा गैरआवासीय नेपाली संघ युएईले खाने, बस्ने प्रवन्ध मिलाएको छ,’ पुनले भने, ‘अस्पतालबाट हाम्रो समाजले बाहिर निकालेको हो ।’
बालकुमार कार्यरत ‘इजदा असिस्टेन्ट म्यानेजमेन्ट ग्रुप’ले चालकको बचाउ गरेको छ । गाडी चालक भारतीय नागरिक हेमराम खेशरले ‘जेबेल अली’बाट ३० देखि ४० कामदार बोकेर आफू ‘ब्लुवाटर’तिर गइरहेको दुबई प्रहरीलाई बयान दिएका छन्् । चालकले भनेका छन््, ‘अराइभल प्वाइन्ट ब्लुवाटर पार्किङअघि नै गाडीको ढोका खुल्यो । र, बालकुमार ओर्लिए । गाडी सुरुङमार्गअघि करिब १५ देखि २० किमीको गतिमा गुडेको थियो ।’
---
अस्पतालबाट डिस्चार्ज भएको १५ दिनपछि कम्पनीको कार्यालयमै पुगे र भीसा सम्झौता तोडिदिन आग्रह गरे । कम्पनीले आग्रह स्वीका¥यो । भीसा खारेज ग¥यो । दुबईदेखि काठमाडौँँसम्मको टिकट पनि काटिदियो । असोज २५ गते दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँँका लागि उडान थियो, राति साढे १ बजे सरासर विमानस्थल पुगे । चेकिङ जारी थियो । अध्यागमन कर्मचारीले रोके । राहदानी हेरे । र, माथिल्लो अधिकारीकहाँ रिफर गरे । उनी डराउँदै डराउँदै अधिकारीसामु पुगे । भनियो– ‘तिमी घर जान पाउँदैनौ । अदालतमा मुद्दा चलिरहेको छ ।’
विमानस्थलबाट अध्यागमनले फर्काएपछि बाहिर निस्केर बेस्सरी रोए । तर उनको रोदन सुनिदिने कोही थिएन । भोलिपल्ट कम्पनीको कार्यालयमा गए । फेरि एचआरलाई भेटे । आफ्नो समस्या सुनाए । उनले धेरै कुरा सुन्न चाहेनन् । तर कम्पनीले शुरूमा बस्ने, खाने प्रवन्धचाहिँ मिलायो । बालकुमारले बुझ्दै जाँदा पत्तो पाए, अस्पतालले रोकेको रहेछ । दुबईमा एक्लिएका छन् । कम्पनीको सम्पर्कमा छैनन्, चाँडै घर फर्किन पाउँदैनन् । ‘मेरो कम्पनीले हस्पिटललाई एक रुपैयाँँ पनि दिएको रहेनछ,’ बालकुमारले भने । दुबईमा ‘बन्दी’ जीवन बिताइरहेका उनी नेपाली दूतावासलाई गुहारिरहेका छन् । दुबई प्रहरी, कम्पनी र अदालत धाइरहेका छन् । अस्पतालको उपचार खर्च नतिर्दासम्म जन्मभूमि फर्किन पाउँदैनन् । सामाजिक सञ्जाल ‘मेटा’को इन्ट्रोमा लेखेका छन्– ‘दुःख मात्रै यस्तो चिज हो, जसले अझै पनि म जीवित छु भन्ने आभाष दिलाइरहन्छ !’
यी हरफहरू बालकुमारले कोरेका होइनन् । तर ‘फेसबुकको भित्ता’मा व्यक्त–व्यथा भने उनी आफैंले डेढ वर्षदेखि भोग्दै आएको ‘गरीबी र दुर्घटना’भित्र रुमल्लिएको एउटा कथा–सार हो । रोल्पाली बालकुमार ‘पीडैपीडाको पहाड’ छिचोल्दै हिँडिरहेका छन् । र, दुबईमा ‘जीवित छु भन्ने आभाष दिलाइरहेछन् ।’
टिप्पणीहरू