गोर्खेको छोरो, न यताको न उताको
आफू राम्ररी हिँड्न नसक्ने ।
उकालो सिँढी उक्लनुपर्ने, यसैकारण उपन्यास ‘टिस्टादेखि सतलजसम्म’को फोटोकपी जिरक्स दोकानबाट ल्याइदे भनेर नाति शुभमलाई बिहान ११ बजेतिर अह्राए दुई हप्ताअघि ।
मसँग भएको उक्त उपन्यासको मूल तर अन्तिम कपी नातिनी जेनी सेनचुरीलाई पठाइदिने भएर आफूसँग यस उपन्यासको फोटो कपी राख्नेभएकोले नै यसरी नातिलाई अह्राउनुपरेको थियो ।
घर माथि हाम्रै कम्पाउण्डमा घरभाडामा बस्ने एकजना गोर्खेको जिरक्स दोकान छ । दोकानमा धेरैजसो उसको तन्नेरी छोरो बस्ने गर्छ । जिरक्स गर्ने काम पनि उसकै हो ।
लकडाउनले गर्दा डेढ महिनादेखि जिरक्स दोकान बन्द थियो तर केही सातादेखि हाम्रो गाउँमा बिहानदेखि साँझ ३ बजेसम्म दुईपल्ट दिन बिराएर दोकान खोल्ने अनुमति प्रशासनले दिएको छ तर दोकानमा भीड गर्नुभएन ।
साँझ नाति शुभमले जिरक्स गरिएको कपी ल्याएर दियो । मैले एकएक गरी हेरेँ । छपाइमा भद्रगोल । कतै छापिएको छैन । कतै पृष्ठको अंक क्रमअनुसार मिलेको छैन । यो देखेर शुभमसँग रिसाएजस्तो गरेँ,’ चेक गरेर, राम्ररी हेरेर ल्याउनुपर्दैन ! भोलि फेरि ठीक गरेर ल्याइदे!’
उसले भन्यो, ‘भोलि बन्द हुन्छ । जहिले खुल्छ, ल्याइदिन्छु ।’
‘जिरक्स गरेपछि पूरा चेक गरेर ल्याउनू ।’,त्यसलाई सम्झाएँ,’तेरो जिरक्स गर्ने साथीलाई भन्नू राम्ररी, नछुट्ने गरी नम्बर मिलाएर गरिदिनु भनेर ।’
‘हुन्छ ।’, त्यसले भन्यो ।
मैले शंका मान्दै भनेँ, ‘जिरक्स गर्ने तेरो साथीलाई नेपालीमा लेखिएको अंक पनि पढ्न आउँदैन होला र नै पेजमा पनि गडबड गरिदियो ।’
‘अब गडबड हुँदैन । म त्यसलाई केयर गरेर जिरक्स गरिदिनु भन्छु ।’
‘ल .. हुन्छ’, मैले भनेँ ।
आज दुकान खोल्ने अनुमति पाएको बार । तर, मेरो चित्तले मानेन नातिलाई पठाउन । कारण म आफै नगएर सम्झाइनँ भने जिरक्स गर्ने गोर्खेको तन्नेरी छोरोले जिरक्स गर्नमा फेरि गडबडी गरिदिन्छ भन्ने शंकाले अनि एउटा हातमा उपन्यास ‘टिस्टादेखि सतलजसम्म’को उल्लिखित अन्तिम प्रति लिई अर्को हातले लौरो टेक्दै पुगेँ दोकानमा ।
दोकानमा गोर्खेको तन्नेरी छोरा नै रहेछ ।
उसलाई भनेँ, ‘छपाइमा कतै ब्लेंक निस्केको छ । कतै पेज मिलेको छैन । फेरि जिरक्स गर्नुपर्ने भएको छ । गडबड नहोस् भनेर म आफै आएको ।’
गोर्खेको छोरोले नढाँटी भन्यो, ‘मलाई नेपाली पढ्न आउँदैन । कुन नम्बर कति हो थाहा नै भएन । शुभमले त नेपाली पढ्न जान्दछ । मलाई बताइदिए त गडबडी नै हुने थिएन ।’
मैले भनेँ, ‘त्यो पनि तन्नेरी । तिमी पनि तन्नेरी । तन्नेरी भएपछि इमान्दर भएर कामप्रति कसले ध्यान दिन्छ र ? तिमीले भटाभट छाप्यौ । त्यसले नहेरी जिरक्स कपी बोकेर ल्यायो । म आएँ । अब लापरवाही काम चल्दैन ।’
गोर्खेको छोरोले भन्यो, ‘मलाई नेपाली पढ्न आउँदैन । नम्बर पनि बुझ्दिनँ । गडबड नहोस् भनेर अंकल म पेच वाइज पेन्सिलले अंग्रेजीमा नम्बर लेख्छु है !’
मैले भनेँ, ‘जेसुकै गर तर गडबड भने नहोस् ।’
गोर्खेको छोरोलाई उपन्यास ‘टिस्टादेखि सतलजसम्म’को अन्तिम प्रति छाडेर आएको छु । अब गोर्खेको छोरोले के गर्ने हो–उपरवाला जाने !
आजका अधिकांश गोर्खेमा अंग्रेजी शिक्षाले नोकरी दिन्छ । अंग्रेजीमा शिक्षा दिएर आफ्नो स्ट्याण्डर्ड बढ्छ । नेपाली भाषामा पढाए स्ट्याण्डर्ड घट्छ भन्ने मानसिकता छ, यसैकारण आज वर्णित गोर्खेका छोराझैँ अरू गोर्खेहरूका छोराछोरी पनि हाम्रो समाजमा छन् । तर, यो दोष यी छोराछोरीहरूको होइन ।
दोष हो आडम्बरी स्ट्याण्डर्ड देखाउने आमाबाबुको । यो सिलोङको गोर्खे समाजको मात्र कुरा होइन । दार्जिलिङ, सिक्किम, असमतिरका गोर्खा समाजको कुरा पनि हो ।
फेसबुकले नै प्रमाण दिन्छ कमेन्ट गर्नेहरूको अंग्रेजी लेखाइ । बाबु छ गोर्खे । छोरोले हाँक्छ अंग्रेजी । यसैकारण लेख्न मन लाग्छ, ‘गोर्खाको छोरा, यता न उताको । न गोर्खाको,न अंग्रेजको ।’
टिप्पणीहरू