माधवहरू गएपछि त मिल्नु नि

माधवहरू गएपछि त मिल्नु नि

सकिए भनिएका ‘दुःख’ हरू घुम्दैफिर्दै झन्झन् ठूला भएर घेरिएपछि एमाले अध्यक्ष केपी ओली झन् तनावमा हुनुहुन्छ ।

पार्टीबाट माधव–झलनाथ र तिनका सेनामेना हिँडेपछि दुःखहरू सकिए भन्ठान्नुभएका ओलीका निम्ति शनिबार उद्घाटन भएको धादिङ जिल्ला अधिवेशन कतिसम्म घाँडो बन्यो भने, दुई दिनमा सकिनुपर्ने काम कहिलेसम्म तन्कने हो टुंगो छैन । आफ्नो पक्ष सोत्तर हुने भएपछि उहाँकै निर्देशनमा अधिवेशन स्थगन छ ।

अहिलेका अध्यक्ष भूमि त्रिपाठी र डा.रामकुमार अधिकारी अध्यक्ष बन्ने प्रतिस्पर्धामा थिए । गत वर्ष सम्पन्न प्रदेशसभा निर्वाचनमा नेत्र पौडेललाई दिनुपर्ने टिकट ओलीले आफ्ना पूर्वपिए रमेश आचार्यलाई दिएपछि उत्पन्न विवादमा भूमिको साथ पाएर पौडेलले बागी उम्मेदवारी दिए । त्यहाँदेखि भूमि ओलीविरोधीका रूपमा चिनिन थाले । त्यसैले फेरि पनि अधिवेशनबाट उनैलाई अध्यक्ष बनाइँदा आफ्नो पक्ष शून्यमा झर्ने भयका कारण ‘जसरी पनि’ बन्न नदिने नीति लिइयो । 

भूमि आफैं अध्यक्ष भएका कारण उनले जिल्ला इञ्चार्ज धर्मदत्त देवकोटाको अध्यक्षतामा अध्यक्ष मण्डल बनाउन प्रस्ताव गरे । हराउनु छ भूमिलाई, अनि उनैले बनाएको अध्यक्ष मण्डलबाट उनी हारिने अवस्था नरहने भएपछि प्रदेश इञ्चार्ज रहेका गुरु बरालले आफ्नै नेतृत्वमा अध्यक्ष मण्डल बन्नुपर्छ भनी प्रदेश अध्यक्ष कैलाश ढुंगेल, खेम लोहनी, रमेश आचार्यहरूलाई परिचालन गरे । तर, त्यो कुरा भूमिले मानेनन् ।

ओलीपक्षले गुरु, कैलाश र १ नंं. निर्वाचन क्षेत्रकी इञ्चार्ज जानुका सिंखडा, अर्को पक्षबाट धर्मदत्त र २ नं. निर्वाचन क्षेत्र इञ्चार्ज रेशम लामा रहेको अध्यक्ष मण्डल प्रस्ताव गरेको थियो । त्यसो गर्दा ओली पक्ष पाँचमा तीन र भूमि पक्षको दुईमात्र हुन्थ्यो । ‘यो भए हुन्छ, नभए स्थगित’ भन्दै रमेश आचार्यहरूले आपत्ति जनाए । ‘केन्द्र र प्रदेशले नमानेको अध्यक्ष मण्डल कसरी हुन्छ ?’ भन्ने उनीहरूको तर्क थियो ।

त्यसपछि शनिवार उद्घाटन सत्र सिध्याएर बेलुकी दुबै पक्ष बसे । मनोनित हुने प्रतिनिधिमा ओली पक्षका खेम लोहनीहरूले भनेको चार जनाको नाम राखेर भूमिले आफू पक्षका चार जनालाई हटाइदिए । अधिवेशन अनुगमन समितिको संयोजक गुरु, अध्यक्ष मण्डलमा कैलाशलाई थपिदिने कुरा भयो । यसअनुसार, गुरु, भूमि र खेम अनुगमनमा रहने भए । यो सहमति बनाएर सबैजना राति सुत्न गए । 

तर, कैलाशले राति नै अधिवेशन स्थगित गरिएको विज्ञप्ति टाँसेर आफू काठमाडौंतिर लागे । विज्ञप्तिमा प्रतिनिधिमाथि हातपात भएकोसम्मका कुरा उल्लेख थियो । उद्घाटन समारोह चलिरहँदा दिउँसो सन्तोष खनाल नामक प्रतिनिधि आफ्नै जुत्ताको तुनामा अल्झिएर भ¥याङबाट लडे । प्रतिनिधिहरूले उनलाई उठाएर अस्पताल लगे । कैलाशहरूले भूमि समर्थकले सन्तोषलाई कुटेको हल्ला चलाए । सन्तोषले ‘म आफैं लडेको हुँ, बरु उहाँहरूले उठाएर अस्पताल लगिदिनुभयो’ भन्दा पनि हल्लाचाहिँ उल्टो नै चलाइयो । त्यसरी अस्पताल लानेमा खानिखोलाका केदार पाठक, मन्दिरा श्रेष्ठ, पत्रकार बासु श्रेष्ठ थिए । 

भोलिपल्ट (आइतबार) भूमिले वक्तव्य निकालेर अधिवेशन स्थगित नभएको र शुरु हुने भने । यो कुरा सुन्नेबित्तिकै अध्यक्ष ओलीले बालकोटबाट फोन गरेर काठमाडौं बोलाउनुभयो । भन्नुभएको थियो, ‘आज एक दिनलाई रोकिदिनुस्, भोलिबाट सुचारु गरौंला ।’ बेलुका भूमिहरू बालकोट पुगे । ओलीले सोध्नुभयो, ‘गुरु बराललाई अध्यक्ष मण्डलको अध्यक्ष बनाएको भए के हुन्थ्यो ?’ भूमिले भने, ‘यो चुनावमा एउटा पक्ष गुरु बराल, अर्को पक्ष भूमि भनेर हल्ला चलाइँदै थियो । ०८४ मा हुने चुनावका निम्ति अहिल्यै वडाध्यक्षसम्मको टिकट बाँडिदै छ । तर, चुनावचाहिँ मैले नै जित्ने हो । यो अवस्थामा पार्टीको प्रदेश इञ्चार्ज, सिनियर नेता गुरु कमरेडलाई हराएको भन्ने कलंकको टीका मैले किन लगाउने ? उहाँप्रति सम्मान नै छ । तर, अध्यक्ष मण्डलको अध्यक्ष बनाउन चाहिनँ, अनुगमनको संयोजन उहाँबाटै हुने भनेकै थियो ।’ 

यति कुरा भएपछि ओलीले ‘सहमतिको कोसिस गरौं’ भन्नुभयो । धर्मदत्तको प्रस्तावअनुसार, भोलि (सोमबार) प्राविधिक काम सकेर पर्सि (मंगलबार) अधिवेशन गर्ने कुरा भयो । धर्मदत्तले अध्यक्ष मण्डलको अध्यक्ष भनेर यही कुराको विज्ञप्ति निकाले । संगठन विभागले प्रतिनिधिको फाइल मगायो । खोट लगाउने ठाउँ थिएन । १ सय ४ वटा वडालाई निर्वाचन क्षेत्र मानिएको थियो । सबैतिरबाट सर्वसम्मतिले प्रतिनिधि छानिएका थिए । उनीहरूले लेखेरै नाम पठाएका छन् । २० वटा जनसंगठनलाई तीन–तीनका दरले प्रतिनिधि पठाउन भनिएअनुसार उनीहरूले लेखेरै दिएका छन् । मनोनित गर्ने भनेको ठाउँमा संस्थापनले आफ्नो अनुकूल गर्ने नै भयो ।

त्यसो गर्दा पनि बनिसकेका प्रतिनिधि कटाएर भूमिले चार जनाको नाम थपिदिएकै थिए । यस्तो हुँदा प्रतिनिधि विवाद पनि भएन । तर, जसो गर्दा पनि ओली पक्ष पाखा लाग्ने नै भयो । त्यसैले सोमबार संगठन विभागले दिनभरि प्रतिनिधिको नाम रुजु गर्ने भनेर अल्मल्यायो । बेलुकी भएपछि भनियो, ‘एक पक्ष आउँदै नआउने भयो । यसै पनि धादिङ कमजोर छ । अहिले फाइल नदिनु भनेको छ ।’ त्यसो भनेर मंगलबार हुने अधिवेशन भएन । गरौं, बदर गरिदिन्छन् । ५ सय ८० मा मनोनितसमेत गरेर ६ सयभन्दा बढी प्रतिनिधिलाई धादिङ बेसीमा चार दिनदेखि पाल्नुपरेको छ । लाखौं खर्च भइसक्यो, अधिवेशन सुचारु गर्न बालकोटबाट कहिले सिग्नल आउने पत्तो छैन । 

यो खेलमा रमेश र उनका बाबु तथा थाँक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य संलग्न रहेको र खेम लोहनीलाई हुलाकी बनाएर बालकोट र शंकर पोखरेलकहाँ कुरा पु¥याउन लगाएको चर्चा छ । ओलीका निम्ति कमिटीहरू अनुकूलका नहुँदा केसम्म हुन्छ भन्ने कुरा त कर्णाली प्रदेशको हकमा देखियो नै । अधिवेशनबाट उपसचिवमा जितेका रमेश शाहीलाई सोही पदमा कायम गर्नु भनी पार्टीको निर्वाचन आयोगले भन्यो ।

तर, बालकोटबाट सन्देश गयो, ‘पदमा खड्कालाई बनाउनु, नत्र कमिटी भंग हुन्छ ।’ त्यसपछि ओली सुर्खेत जानुहुँदा ‘पार्टीको प्रदेश अध्यक्षलाई पोलिट्व्युरो सदस्य भनेको होइन’ भन्नुभयो । जबकि, विधानमा व्यवस्था नभए पनि सचिवालय बैठकले प्रदेश अध्यक्षहरू स्वतः पिबिएम हुने भन्ने निर्णय नै भएको छ । तर, उक्त निर्णयलगत्तै भएका प्रदेश अधिवेशनहरूमा लगालग ओलीविरोधीले चुनाव जितेपछि उहाँले त्यस्तो व्यवस्था नभएको भन्दै भएको निर्णय स्वीकार गर्नुभएकै छैन । 

टिप्पणीहरू