महावीर पुनको पक्षमा
- लेखनाथ भण्डारी
नजाने गाउँको बाटो हिंडेर गन्तव्यमा पुगिन्न ।
यसको अर्थ हो- जाने गाउँको बाटो हिंडे मात्र गन्तव्यमा पुगिन्छ ।
तर प्रश्न अझै बाँकी छन्-
गन्तव्य के हो र कहाँ छ ?! न जानेहरूले गन्तव्य देखाएर गए न आउनेहरूले बाटो सोधेर नै आए | तर पनि गन्तव्य नसोधि आउने र गन्तव्य नभनि जाने क्रम रोकिएको छैन | एउटा चर्चित हिन्दी गीत यस्तो पनि छ – ‘आदमी मुसाफिर है, आता है, जाता है आते जाते रस्ते में, यादें छोड़ जाता है |’
कहाँ थियो वास, अघी म को थिएँ,
कसो हुँदा यो पिंजरा लिंदो भएँ ।
कहाँ छ जानू कुन साथ लीकन,
तँलाई मालुम् छ कि यो कुरा भन ?
- कवि शिरोमणि लेखनाथ पौड्याल
जानेर नै नजाने गाउँको बाटो हिंडेको त होइन । तर मस्तिष्कमा ‘सेट’ भएको ‘नेभिगेटर’ले ‘रङ् सिग्नल’ दिएको पो थियो कि ? अमेरिकी भूमिमा पाइला टेकेको दुई दशकपछि मनमा यस्तै कुरा खेलीरहेका वेला यो पङ्कतिकारको हातमा महावीर पुनको 'सम्झना,सपना र अविरल यात्रा' पुस्तक हातमा परेको छ ।
यी माथि उल्लेख पङ्कतिहरूको कुनै सान्दर्भिक अर्थ वा सन्देश छ कि छैन यकिन छैन । तर यी पङ्क्ति लेख्दै गर्दा काठमाण्डूका कम्तिमा आधा दर्जन नेपाली अखवारमा यस पङ्क्तिकारका लेखहरू ‘पेण्डिङ्’ परेका भएपनि यस अखवारका सम्पादकले एकाध सन्दर्भमा कैँची चलाए पनि अधिकांश लेख ऐन मौकामा नै प्रकाशित गरेर गुन लगाएका छन् ।
यो पङ्क्तिकारले यस अखवारका सम्पादक किशोर श्रेष्ठजीलाई दिएको अनुमति चैं यो हो- ‘तपाईं सम्पादकहरूको मनमा लागेको विचार नै हामीले लेखिदिनु पर्ने हो भने जे मन लाग्छ,त्यो लेखेर तपाईंहरूलाई मन परेका हामी जो कोही लेखकहरूकै नाममा प्रकाशित गर्नु भए हुन्न र !’ तर अरु सम्पादकहरूका हकमा यति नै मात्र भने ऐन मौकामा पाइने अवसर पनि गुमाउनुपर्ला भन्ने डर छ । ती सम्पादकहरूले भने यो लेख नपढिदिए नै जाती हुन्थ्यो । यो गुन कस्ले कस्का लागि किन र कसरी सम्पादक वा पाठकले नै ठहर गर्नु हुने विश्वास छ ।
महावीर पुन, नेपाली समाजलाई रुपान्तरणका लागि प्रविधि मैत्री बनाउने हुटहुटी बोकेका अभियन्ता हुन् । आफ्नो साधन-स्रोप,सीप र आर्जन सबै राष्ट्रिय आविष्कार केन्द्र मार्फत सामाजिक कार्यमा समर्पण गरेका पुनले यो कृतिको बिक्रिबाट आर्जित रकम पनि यही केन्द्रकै केन्द्रमा प्रयोग गर्ने कुरा पनि कृतिमा उल्लेख गरेका छन् |
महावीर पुनको यही 'सम्झना,सपना र अविरल यात्रा' कृति अमेरिकबासी कुनै उनकै चेलाले किन्न अस्विकार त गरे नै एक कदम अगाडि बढेर यो पनि भनेछन्- ‘नेपाली पढ्न पनि बिर्सिसकें’ अरे ! ‘अरे’ भनिएको यो भाइरल अर्थात् चर्चा वा विवादको विषय बनेको सन्दर्भमा यो पङ्क्तिकारको ‘जजमेन्ट’ हो-
१) आफ्नै गुरूका कृति पढ्न उत्साहित नहुने चेला महावीरको नहुन पनि सक्छन् । हो नै भने पनि यो कमजोरी महावीरकै हो,यसमा चेलालाई दोष दिन मिल्दैन किनकि आफ्नो गुरू र आफ्नै मातृभाषाको मान राख्न पर्ने ज्ञान नहुने कोही कसरी महावीर पुनको चेला हुनसक्छ ?
२) यो प्रश्न, गुरू वा भाषाको मान र ज्ञानको नभएर गुरू र चेलाको माझमा उभिएको माध्यम वा व्यक्ति के वा को थियो पनि हुनसक्छ ? विचौलिया नै भन्न मन नलागेर माध्यम माथि प्रश्न गरिएको हो । पुनका चेलाले गुरूको पुस्तक पढ्न मन नै नलागेको भएर होस् वा नेपाली भाषा पढ्न नै बिर्सेको भएपनि २० वटा डलर दिन किन आनाकानी नै गर्थे होला र ? प्रश्न अरु पनि हुन र गर्न सकिन्छ |
यसो त औसतमा नेपाली किताब किनेर नै पढ्ने बानि परेको यो पङ्क्तिकारलाई पनि पुनको यो किताब भने सिंतैमा हात परेको हो अर्थात् आँफैले किनेको भने होइन | पुरानो कोट लगाऊ,नयाँ किताब पढ,यो नीति बचन थाहा हुँदा हुँदै पनि हातमै आइपुगेको किताब फिर्ता गर्नु पनि त किताबकै अनादार हुने ठानेर समातेको हो यो पङ्क्तिकारले महावीर पुनको ‘सम्झना,सपाना र अविरल यात्रा’ |
जिवनको उतराध्दर्धमा अर्थात् सतरी वर्ष कटेपछि फुर्सदको बेलामा बिस्तारै आफ्नो जीवनकथा लेख्न शुरु गरौंला र त्यो बेचेर आएको पैसाले परिवारको जीविका चलाउँला भनेर साँचेको 'गाडधन' असमयमै किन खोतल्नु पर्यो भनेर पुनले पुस्तकको अन्त्यतिर उल्लेख गरेका छन् | तर सोच्दै नसोचेको घटनाक्रम र परिस्थितिले गर्दा मेरो जीवनकथा मैले बुढेसकालको खर्च जुटाउनका लागि होइन कि नेपाल सरकारको स्वामित्व भएको वीरगन्जको जिर्ण कृषिऔजार कारखानालाई व्युँताउन थपथाप खर्च जुटाउनका लागि तुरुन्तै लेख्नुपर्ने बाध्यता सिर्जना भएको हो | उनले ३ सय ६ पेजको आफ्नो जीवनकथा लेखिएको किताबको अन्त्यमा भन्दा पहिले यो पनि लेखेका छन्- ‘अरू इँट थप्नका लागि मैले प्राप्त गरेका अन्तराष्ट्रिय पदकहरू र पोखराको ठुलाकोट भन्ने ठाउँमा मेरो नाममा भएको २८ रोपनी जग्गा बेच्ने प्रयास गरिरहेको छु | तर आर्थिक मन्दीले गर्दा पदक किन्ने र जग्गा किन्ने ग्राहक पाइएको छैन | हेर्दै जाऊँ,काम गर्दै जाऊँ | आवश्यक परे राम्रो कामका लागि जहाँ हामफाल्न पनि म तयार छु |’ - पेज ३०४,सम्झना,सपना र अविरल यात्रा/महावीर पुन
प्रथम संस्करण २०८० असोजमा १० हजार प्रति र १ महिनापछि नै दोस्रो संस्करण पनि १५ हजार प्रति प्रकाशित यो पुस्तकको मूल्य प्रति एक रु ७ सय ५० रहेको छ । राष्ट्रिय आविस्कार केन्द्रले प्रकाशित यो किताब सबै बिक्रि हुँदा १५ करोड रुपैयाँ आम्दानी हुनसक्छ । त्यसैले यो किताब किन्नु महावीर पुनको जीवन गाथाबाट प्रेरणा लिनु त हुँदै हो, राष्ट्र निर्माणको उनको महाअभियानमा होष्टेमा हैंसे गर्नु पनि हो ।
पुनको समग्र जीवनको उकाली ओराली समेटिएको यस किताबमा उनको सपना, संघर्ष,परिणाम र अपेक्षाहरूको सविस्तार उल्लेख गरिएको छ । किताबका बारेमा पढ्नै नपर्ने गरी चर्चा गर्नु पाठक र लेखकप्रति नै अन्याय हुन्छ । किताबको भाषा-शैली,विषय-वस्तु,प्रस्तुती आदि सबै कोणबाट हेर्दा पठनीय र प्रेरणादायी नै छ | सूचना क्रान्तिका बाहकको पहिचान बनाएका यी प्रविधि विज्ञले कतिपय सन्दर्भका तिथि मितिहरू नदिनुको कारण भने अनुतरित छ | आगामी संस्करणका पाठकका लागि यस पुस्तकका लेखक पुनले यो प्रश्न गर्ने मौका नदिनु जाति हुनेछ |
धेरैजसो लेखकहरूको गुनासो हुन्छ,फलानोले त मेरो/हाम्रो किताब पढेनछ |’ किताब पढेको थाहा पाए ‘लेखिदिएन’ भनेर गुनासो गर्छन्| लेखिदियो भने पनि प्रशंशा गरेर वा राम्रो छ भनेर लेखेनछ,आलोचना वा प्रश्न गरेछ भनेर मुन्टो फर्काउँछन् | यो पङ्क्तिकारको अनुभव त यस्तो पनि छ,कुनै एक पुरस्कारका लागि सिफारिस पुस्तकका बारेमा चर्चा गर्ने क्रममा केही प्रश्न गरेका कारण ती लेखकका तर्फबाट ‘गुप्तचरले’ यो पङ्क्तिकारलाई बयानका लागि सार्वजनिकरुपमै पत्र पनि काटेका छन् |
महावीर पुनको यही किताबका शुरूमा नै लेखिएको यो हरफले भने किताब कति पढ्ने र किताबको बारेमा के र कति लेख्ने भन्ने प्रश्न पनि सम्बन्धित सबैका लागि सिफारिस गर्नु पर्ने देखिन्छ – ‘यस पुस्तकको कुनै पनि अंश वा पुरै पुस्तक प्रकाशकको अनुमतिबिना कुनै पनि माध्यामव्दारा पुनरूत्पादन,प्रसारण वा फोटोकपि गरिएको पाइएमा प्रतिलिपि अधिकार ऐन,२०५९ अनुसार कारबाही गरिनेछ ।’
कुनै पनि अंशको मात्रा र पुनरुत्पादनको परिभाषाको व्याख्या वा स्पष्टिकरण नगरिएको यो सूचना वा चेतावनीका हरफ व्यावशयिक भनिएका र सात गाउँ चिनिएका अधिकांश प्रकाशकहरूले यसरी नै टाँसेका हुन्छन् | पाठक,लेखक र समीक्षकहरूको लागि यो सिरानेमा झुण्डिएको आत्माघाती तरवार जस्ता लाग्छन् | तर लेखक स्वयं स्ययंसेवी सामाजिक अभियन्ता र मुनाफारहित मानिएको सामाजिक संस्था प्रकाशक रहेको यस प्रकाशनमा यो तरवार किन झुण्डाइयो ? यो प्रश्न गर्ने मन थियो |
पुछारमा पुगेर खट्किएको विषय यो पनि हो- प्रतिलिपि अधिकार ऐन,२०५९ आकर्षित हुने वा सोही अनुसार कारवाही हुने चेतावानी दिएर प्रकाशित हुने गरेका नेपाली भाषाका अन्य सबैजसो पुस्तकहरूमा प्रयोग भएको अक्षर अर्थात् देवनागरी लिपिको बहालवाला अधिकारी चैं को होला ? लेख्न वा पढ्नका लागि पनि तिनको अधिकार लिने दिने गर्नु पर्ने व्यवस्था त छैन होला नि ?! लेखक हरिराज भट्टराई यो पङ्क्तिकारसँग प्रश्न गर्नु हुन्छ- ‘अग्राधिकारको लहर चलेको समयमा नेपाली भाषा (देवनागरी लिपि) मा नेपालकै बारेमा लेखे परदेशबासीले ‘अन्यथा’ सामना गर्न पर्ने पनि हुनसक्छ !’
विश्व प्रसिद्ध बङ्गाली कवि रवीन्द्रनाथ टैगोरले एक्ला चरो रे भनेजस्तै ‘यदि तोर डाक सुने कोही नआए, तु एक्ला चलो रे’ ठानेर अगाडि लम्किरहेका महावीर पुनका लागि उनको पक्षमा अहिलेलाई यति नै -
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ॥
- श्रीमद्भगवद्गीता, २।४७
स्पष्टिकरणः यस लेखमा चर्चा गरिएका विषय,व्यक्ति सबै सन्दर्भ काल्पनिक हुन् । कसैको व्यक्तिगत सन्दर्भमा मेल खाएमा त्यो संयोग मात्र सम्झनु होला ।
टिप्पणीहरू