सम्पत्ति खान दाजुभाइको यतिसम्म षड्यन्त्र
न्यायाधीश त्यो व्यक्ति हो,जो पीडितलाई न्याय र पीडकलाई सजाय दिन बसेको हुन्छ । तर, न्यायाधीशकै फैसलाका कारण न्यायालयमाथि आम सर्वसाधारणको अविश्वास बढ्दो छ ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश सूर्यप्रसाद पराजुलीले गरेको फैसलाका कारण एउटा परिवारले थप पीडा महसुस रेको छ । वर्षौंदेखि मुद्दा लडिरहेको परिवार न्याय नपाएपछि उच्च अदालत, पाटनको ढोका ढक्ढकाउन पुगेको छ ।
उता सबै विवरण बुझाउँदासमेत बुझाएकै छैन भन्दै मालपोतले अदालतलाई झुठ्ठा व्यहोरा दिएको छ । आफ्नै नातेदारबाट ठगिएका ललितपुर महानगरपालिका–१२ मंगलबजारका लक्ष्मीकृष्ण खड्गी लामो समयदेखि न्यायका लागि भौतारिरहेका छन् । उनी वर्षौंदेखि न्यायालय,सिआइबी र अख्तियार धाइरहेका छन्, विडम्बना कतैबाट न्याय पाउन सकेका छैनन् । भन्छन्,‘बरु त्यो जग्गा मैले नपाऊँ, गरिबहरुले पाऊन् । तर, गलत गर्नेले सजाय पाउनैपर्छ । त्यसका लागि सकेसम्म लड्छु ।’
भएको के हो ?
लक्ष्मीकृष्णको पीडा थाहा पाउन उनको जिजुबाजेको पालामा फर्किनुपर्छ । गोरचा शेरमान कसाई भन्ने गोरे कसाई र उनकी पत्नी हर्कमाया खड्गीका पाँच छोरा थिए । जेठो हर्षलाल, माहिला लाल,साहिला न्हुच्छेलाल,काहिला कृष्णलाल र कान्छा जितबहादुर । हर्षलालका जेठीपट्टी श्रीमतीबाट जेठा हर्कबहादुर,माहिला सिद्धिबहादुर र कान्छा प्रेमबहादुर छन् । त्यस्तै, कान्छीपट्टीबाट हरि र राजभाइ छन् ।
तर, कान्छीपट्टी श्रीमतीको छोराहरुको नाम कतै उल्लेख गरिएको छैन । लालका एक छोरा लालबहादुर मात्र हुन् । लालबहादुरका चार छोरा श्यामबहादुर, लक्ष्मीबहादुर, शुभरत्न र राजकृष्ण छन् । जसमध्ये तीन जनाको निधन भइसकेको छ । लक्ष्मीकृष्ण लक्ष्मीबहादुरका छोरा हुन् । शेरमानले २००४ असोज ५ गते आफ्ना सबै सन्तानलाई जग्गा अंशबण्डा गरिदिए । साविकको इमाडोल गाविस–८ ख कित्तानम्बर ४४९, ४५२, ४५३ र टीकाथली गाविस–५ ख कित्ता नम्बर ४४७ को आठ रोपनी जग्गामध्ये चार रोपनी हर्षलाल र चार रोपनी लालको भागमा पर्यो ।
लालले आफ्नो जग्गा बुबा शेरमानलाई नै फिर्ता गरिदिएको स्वर्गीय प्रेमबहादुरको परिवारको दाबी छ । तर, यो कुरा लक्ष्मीकृष्णको परिवार स्वीकार्न तयार छैन । लक्ष्मीकृष्णको परिवार भन्छन्,‘आफ्नो बुबाले अंशबण्डा गरेर दिएको सम्पत्ति फेरि बुवालाई फिर्ता दिनुपर्ने कारण के ?’ प्रेमबहादुरले चलाखीपूर्ण आफ्नो पुर्ख्यौली सम्पत्ति खोसेको लक्ष्मीकृष्णको आरोप छ ।
प्रेमबहादुरले लक्ष्मीकृष्णलाई मात्रै होइन, सम्पत्ति नदिएर आफ्नै दाइहरुलाई समेत मारेका छन् । सारा परिवार मारेको भन्दै उनीहरुले अदालतमा मुद्दा दायर गरे । अदालतले ठोस प्रमाणका बाबजुद पनि पीडकलाई नै जिताइदिएको छ । उनले किर्ते गरेर सबै सम्पत्ति आफ्नो नाममा लगेको प्रमाणबाट छर्लङ्ग हुन्छ । सामान्य व्यक्तिले समेत उनले किर्ते गरेको पत्ता लगाउन सक्छ भने श्रीमानले प्रमाण हुँदाहुँदै पनि अनदेखा गरेपछि कसको के लाग्छ ?
नक्कली नाता प्रमाणित बनाएर प्रेमबहादुरले जग्गा हड्पेका छन् । नाता प्रमाणितमा हर्षलालको आफू एक मात्र छोरा भएको र उनको शेषपछि सम्पत्तिको हकदार पनि आफू मात्र भएको उल्लेख छ । जबकी हर्कबहादुर र सिद्धिबहादुरको नागरिकतामा पनि बुबाको नाम हर्षलाल नै छ । अदालतमा प्रेमबहादुरका छोराहरुले समेत आफ्ना बुबाका तीन दाजुभाइ भएको स्वीकारेका छन् ।
लालका नाति लक्ष्मीबहादुरकी श्रीमती हेराशोभा खड्गीसहितले ललितपुर जिल्ला अदालतमा दायर गरेको जालसाजी,दूषित जग्गा दर्ता, नामसारी निर्णय बदर दर्ता नामसारी गरिपाऊँ मुद्दामा प्रेमबहादुरका छोरा सुनिलले प्रतिउत्तर दिँदै भनेका छन्,‘पुस्तावारीमा हामीहरुको मूल पुर्खा गोरेचा भन्ने शेरमान कसाईको पाँच छोराहरुमा जेठा हर्षलाल कसाई, माहिला लाल कसाई, साहिला न्हुच्छेबहादुर कसाई, काइला कृष्णलाल र कान्छा जितबहादुर हो । हामी प्रतिवादीको बाजे हर्षलाल हो । हर्षलालको तीन छोराहरुमा जेठा हर्कबहादुर, माहिला सिद्धिबहादुर, कान्छा प्रेमबहादुर भएकोमा प्रेमबहादुरको श्रीमती म गंगादेवी खड्गी र छोराहरुमा जेठा प्रमोद खड्गी, सुनिल खड्गी, विनोद खड्गी हो भने वादीहरु पुस्तामा लाल कसाइको छोरा लालबहादुर हो ।’
प्रेमबहादुरले जालसाजी गरेर जग्गा आफ्नो नाममा लगेको कुरा कसैलाई पनि थाहा थिएन । छुट जग्गा दर्ताका लागि मालपोत कार्यालय, ललितपुरमा फिल्डबुक नक्सा खोजतलास गर्दा मात्र सो कुरा बाहिर आएको हो । २०५० असोज ३ मै दर्ता नामसारी र असोज ५ गते पुर्जा बनाएको पाइएको छ । रोचक प्रसङ्ग त के छ भने, जग्गा सर्जिमिन गर्दा उनले न लालबहादुरको मृत्यु दर्ता प्रमाणपत्र राखेका छन् न आफ्ना दाइहरुको नाम ।
एक्लो सन्तान भन्दै जग्गा कब्जा गरिएको छ । नाता प्रमाणितमा लेखिएको छ,‘म निवेदकको पिता हर्षलाल कसाई र आमा ज्यानमाया आफ्नो कालगतिले परलोक भइसक्नुभएकोले मृतक पिता हर्षलाल कसाईको हकखाने हकदार म निवेदक मात्र एक छोरा भएको ।’ उनले सर्जिमिनसमेत आफ्नै नातेदारहरुबाट गराएका छन् ।
सर्जिमिनमा सिद्धिरत्न खड्गी, मिनबहादुर खड्गी, सुदिप खड्गी, किरण खड्गी, अमीरबहादुर खड्गी, सुदिप खड्गी, जगतबहादुर खड्गी, विजय महर्जन साक्षी बसेका छन् । सिद्धिरत्न र किरण सिद्धिबहादुरका छोरा हुन् । आफ्नो बुबाको हक खोसेर ज्यादती गरेको थाहा हुँदाहुँदैसमेत उनीहरुले हस्ताक्षर गरेका छन् ।
अमीर भने तत्कालीन वडासदस्य, हाल ललितपुर महानगरपालिका–२२ का वडाध्यक्ष अरोजकुमार खड्गीका बुवा हुन् । सुदिप उनका भाइ पर्छन् । विजय प्रेम र सिद्धिबहादुरका धर्मपुत्र हुन् । आफ्नै घरपरिवारभित्रै सर्जिमिन गराइएको छ, जुन सरासर गलत हो । सर्जिमिन पत्रमा भनिएको छ,‘निवेदक प्रेमबहादुर खड्गीको बाजे तथा पिताको शेषपछिको हकदार निवेदक प्रेमबहादुर खड्गी एकमात्र भएकोले उल्लेखित कित्ता नम्बरका जग्गा निवेदकको नाममा जारी गरिदिएमा केही फरक पर्दैन ।’
योबाट प्रेमबहादुरको किर्ते हर्कत ‘दूधको दूध र पानीको पानी’ हुन्छ । सम्पत्तिका लागि उनले आफ्नै आमाको कोखबाट जन्मिएका दुईटा दाइ हुँदाहुँदै आफू एक्लो भएको फर्जी कागजात बनाएका छन् । उनको यस गैरकानुनी हर्कतमा वर्तमान वडाध्यक्ष अरोजकुमारले निकै साथ दिएको देखिन्छ । एउटै खानदानका रहेका उनले झुठ्ठो विवरणलाई सही बनाउन सहयोग गरेका हुन् ।
२०५० जेठ २१ गते उनले मालपोतलाई सिफारिस गरेका छन्,‘निवेदकको पिता हर्षबहादुर कसाई र आमा ज्यानमाया आफ्नो कालगतिले परलोक भइसक्नु भएकोले मृतक पिता हर्षबहादुर कसाईको हक खाने हकदारहरुमा म निवेदक मात्र एक छोरा भएको हुँदा निज मृतक पिताको नाउँमा दर्ता भएको ललितपुर जिल्ला टिकाथली वडा नम्बर ५ कित्ता नम्बर ४४७ क्षेत्रफल ०–१२–० बाह्रआना जग्गा मेरो नाममा नामसारी गरी जग्गाधनी प्रमाण पूर्जा लिन पाऊँ भएकोले सो लिनको लागि यस वडासमिति कार्यालयको सिफारिस आवश्यक परेको हुँदा मालपोत कार्यालय ललितपुरको नाउँमा उपरोक्त जग्गा नामसारी गरी सिफारिस पाऊँ भनी ललितपुर वडा नम्बर २२ बस्ने प्रेमबहादुर खड्गीले यस वडा कार्यालयमा दिनुभएको निवेदनअनुसार निवेदकको व्यहोरा र प्रमाणको आधारमा त्यस मालपोत कार्यालयको नियमानुसार गर्नेगरी सिफारिस गरिन्छ ।’
आफ्नो बाजेको भागमा परेको जग्गासमेत प्रेमबहादुरले लगेपछि लालका नाति लक्ष्मीकृष्णले निर्णयको प्रमाणित माग्दै २०७६ चैत २ गते मालपोतमा निवेदन दिएका थिए । हाल उक्त जग्गा प्रेमबहादुरकी श्रीमती गंगादेवीको नाममा छ । प्रेमबहादुर र गंगादेवीका तीन सन्तान प्रमोद, सुनिल र विनोदले आफ्नी कान्छी आमापट्टीका सन्तानलाई पनि अंशबाट बेदखल गरेका छन् ।
प्रेमबहादुरकी कान्छी श्रीमती पुनमायाका दुई छोरा राजभाइ र हरिलाई उनीहरुले कहीँकतै उल्लेख गरेकै छैनन् । सम्पत्तिका लागि बुवाले आफ्ना चार दाजुभाइ र छोराले भाइहरुलाई लोप गराएका छन् । साथै, लालका सन्तानलाई समेत मारेका छन् ।
अदालतको अपहेलना
लक्ष्मीबहादुरकी श्रीमती हेराशोभा, शुभरत्न, राजकृष्ण, लक्ष्मीकृष्णलगायतले २०७७ सालमा सुनिलविरुद्ध मुद्दा दायर गरेका थिए । दूषित जग्गा दर्ता,नामसारी निर्णय बदर दर्ता नामसारी गरिपाऊँ भन्दै उनीहरुले ललितपुर जिल्ला अदालतमा मुद्दा हालेका हुन् ।
उक्त मुद्दा ०७७–सीपी–१०७९ मा दर्ता भएको छ । अदालतमा सुनिलले हर्षलालको तीन छोरा भएको बताएका छन् । त्यस्तै, उनले विवादित कित्ताको जग्गाहरुको सम्बन्धमा ललितपुर महानगरपालिका–११ को वडा कार्यालयबाट कारबाही भएको प्रतिउत्तरमा उल्लेख गरेका छन् ।
जबकी वडा कार्यालयले उनी उपस्थित नै नभएको जनाएको छ । २०७६ माघ २४ गते मौखिक छलफलका लागि पत्राचार गरिएकोमा उनले पत्रसमेत बुझ्न नमानेका हुन् । वडा कार्यालयको पत्रमा लेखिएको छ,‘यसै वडामा बसोबास गर्ने बासिन्दा भएको निजको मृत्यु भई हाल निजको छोराहरु सुनिल खड्गीसमेतको परिवार भएको हुँदा सो कित्ता जग्गाहरु के–कसरी दर्ता भएको हो सो विषयमा निजहरुलाई यस वडा कार्यालयमा उपस्थित गराई आवश्यक छलफल गराई समस्या समाधान गरी पाऊँ भनि ललितपुर महानगरपालिका वडा नम्बर ११ बस्ने राजु खड्गीसमेतले दिनुभएको निवेदन सम्बन्धमा श्री सुनिल खड्गीज्युलाई मिति २०७६–१०–२४ गते मौखिक छलफलका लागि पत्राचार गरिएकोमा निवेदन सम्बन्धमा निजले पत्रसमेत नबुझेको र मौखिक रुपमा छलफलमा नआएको हुँदा सोही व्यहोरा जानकारीका लागि अनुरोध गर्दछु ।’
उनीहरुले अदालतलाई ढाँटेको लक्ष्मीकृष्ण बताउँछन् । ‘उहाँहरुले अदालतको अपहेलना गर्नुभएको छ । अदालतकै अगाडि उहाँहरुले ढाँट्नुभएको छ । प्रतिउत्तरमा उहाँहरु आफैंले हर्षलालका एक मात्र छोरा होइनन् भनेर स्वीकार्नुभएको छ । उहाँहरुले वडा कार्यालयबाट कारबाही भएको बताउनुभएको छ । उपस्थित नै नभईकन कसरी कारबाही हुन्छ ? यहाँ पनि अदालतलाई झुक्याइएको छ’, उनले भने ।
हरिका छोरा दिपकले अदालतमा उपस्थित भएर हर्षलालका तीन नभई पाँच छोरा भएको बयान गरेका छन् । आफू कान्छीपट्टी श्रीमतीको नाति भएको बताउँदासमेत जिल्लाका न्यायाधीश पराजुलीले नसुनेका हुन् ।
यता, उनले किर्ते गरेर अर्काको सम्पत्ति हड्प्नेलाई नै जिताइदिएका छन् । जालसाजी गरेर जग्गा लगेको प्रमाण हुँदाहुँदै पनि उनले आँखा चिम्लेर फैसला सुनाइदिएका हुन् । फैसलामाथि चित्त नबुझेपछि लक्ष्मीकृष्णले उच्च अदालत, पाटन गुहारेका छन् । अदालतले आफूहरुमाथि अन्याय गरेको उनको गुनासो छ ।
लक्ष्मीकृष्णका अनुसार उनीहरुले अदालतलाई पटकपटक झुक्याएका छन् । कहिले लालले हर्षलाललाई जग्गा दिएको भन्छन् त कहिले बेचेको । २०१६ सालमा लालले हर्षलाललाई जग्गा बेचेको उनीहरुको दाबी छ । जबकी जग्गाको फिल्डबुकसमेत २०२३ सालमा कायम गरिएको छ । जग्गा बेचेको प्रमाण पनि कतै छैन् । अदालतले भूमि सुधार तथा मालपोत कार्यालय, ललितपुरसँग जग्गाको सक्कल कागजात माग गरेको थियो ।
तर, कार्यालयले कुनै कागजात नभेटेको भन्दै फिर्ता पठाएको छ । अदालतलाई लेखेको पत्रमा भनिएको छ,‘२००४–०६–०५ मा गोरेचा भन्ने शेरमान कसाई खड्गी, छोरा, बुहारी, नाति, नातिनीसमेत २२ जनाको बिचमा पारित भएको अंशबण्डा लिखतको प्रमाणित प्रतिलिपि माग भई आएकोमा यस कार्यालयमा मिति २००५ सालदेखिको लिखत मात्र रहेकाले उक्त लिखत कार्यालयको तामेली अभिलेखमा दर्ता नै नरहेकाले पठाउन नसकिएको ।’
लक्ष्मीकृष्णले उनीहरुविरुद्ध सीआईबी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । यता, प्रतिवादीका साक्षी विजयलाई लुकाइएको लक्ष्मीकृष्णको आरोप छ । राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दासमेत उनी उपस्थित भएनन् ।
टिप्पणीहरू