सरकारी प्रतिनिधि तारे होटलका कार्यक्रममा गएको, एकेडेमी नछिरेको सहकारी पीडितहरुको आरोप

सरकारी प्रतिनिधि तारे होटलका कार्यक्रममा गएको, एकेडेमी नछिरेको सहकारी पीडितहरुको आरोप
सुन्नुहोस्

सहकारी पीडितहरुले पुनः आन्दोलन थाल्ने तयारी गरेका छन् । सरकारले सहकारी संस्थाहरुको समस्या समाधानमा चासो नदेखाएपछि पीडितहरुले पुनः आन्दोलन घोषणा गरेका हुन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले आज आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । 

आगामी आइतबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सहकारी विभागमा धर्ना दिइने अभियानका अध्यक्ष कुशलव केसीले बताए । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरको प्रत्येक गल्लीमा कोणसभा, घरदैलो कार्यक्रम र चैत १ गतेदेखि काठमाडौं केन्द्रित बृहत आन्दोलन गर्ने जानकारी दिए । 

उनका अनुसार आन्दोलनमा मुलुकभरका सहकारी पीडित सहभागी हुनेछन् । सरकारले सहकारी पीडितको समस्यालाई बेवास्ता गरेकाले बाध्य भएर आन्दोलन घोषणा गर्नुपरेको उनी बताउँछन् । गत साउन १८ गते सिंहदरबारमा सरकारका प्रतिनिधि र पीडितसँग भएको सात बुँदे सम्झौता पनि कार्यान्वयन नगरिएको केसीको भनाई छ । 

‘सरकारले हामी सहकारी पीडितलाई थप पीडित बनाउने काम गरेको छ । सहकारी पीडितको समस्या समाधान गर्नुको साटो सरकारका प्रतिनिधिले सहकारी सञ्चालकसँग पाँच तारे होटलमा विभिन्न सम्झौता गरेका छन् । हामीले माघ २५ गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम राखेका थियौं । सरकारका प्रतिनिधिहरुलाई पनि बोलाएका थियौं तर कोही उपस्थित हुनुभएन । माघ २७ गते सहकारी सञ्चालकहरुको कार्यक्रममा मन्त्रीदेखि सबै पुग्नुभएको थियो । सरकारले नै सहकारीका सञ्चालकहरुलाई जोगाइरहेको छ’, उनले भने । 

पछिल्लो समय एकपछि अर्को सहकारीमा समस्या देखिरहेको छ । सहकारी पीडितहरुले लामो समयदेखि आफ्नो बचत फिर्ता पाएका छैनन् । आफ्नो बचत फिर्ता माग गर्दै पीडितहरुले गत जेठ २० गतेदेखि राजधानीको माइतीघर मण्डलामा दुई महिना लामो आन्दोलन गरेका थिए ।
 

टिप्पणीहरू