पुटिनबाट नेपाली नेताले सिक्न सक्ने पाँच पाठ
सन् २०२२ फेब्रवारी २४ मा रुसले युक्रेनमा सैन्य हमला गर्यो । एक शक्तिशाली विशाल देशले आफ्नो छिमेकी सानो कमजोर देशमाथि सैन्य हमला गर्नु कुनै कोणबाट पनि राम्रो होइन । चीन र भारतजस्ता दुई विशाल छिमेकी भएको नेपालजस्तो देशको नागरिकको नाताले सोच्दा त त्यो झनै उचित कदम हुँदै होइन । तर, रुसी हमलामा अर्को कथा पनि छ । युक्रेनले रुसी सुरक्षा संवेदनशीलतालाई ख्याल गरेन ।
उसले रुसी सीमानामा नेटो सैनिक ल्याउने खालको सम्झौताउन्मुख राष्ट्रिय नीति देखायो । यो भनेको वीरगञ्ज वा विराटनगरमा चिनियाँ सेना अथवा किमाथांका वा केरुङमा भारतीय सेना ल्याउने सम्झौता गर्न नेपाल राजी भएजस्तो मुद्दा हो । एक स्वतन्त्र देशले आफ्नो नीतिअनुसार गर्न पाउनुपर्छ भन्ने तर्क आउन सक्छ । तर, यी तर्कभन्दा परका शक्तिशाली विषय हुन् । अझ युक्रेनले रुसी भाषा बोल्ने सबैलाई रुसी एजेन्ट शैलीमा धरपकड गर्यो । रुसी भाषालाई दिएको मान्यता हटाउन थाल्यो । यिनै कारणबाट पूर्वी युक्रेनका रुसीभाषीले रुससँग गुहार गरेर रुसी हस्तक्षेपलाई स्वीकार गरे । यस कारण रुसी हमलाले स्थानीय बल पायो । यो त भयो रुस–युक्रेन युद्धका कारण ।
यो आलेखमा भने रुस–युक्रेन युद्धका कुराभन्दा पुटिनले केही दिनअगाडि अमेरिकी च्यानल फक्सका पूर्वपत्रकार तथा हाल स्वतन्त्र पत्रकार टकर काल्र्सनलाई दिएको अन्तर्वार्ताको चर्चा मात्रै छ । पुटिनको २ घण्टा १७ मिनेट १९ सेकेण्डको अन्तर्वार्ता दुई दिन पुग्दा १६ करोड बढीले हेरिसकेका छन् । शनिबार प्रकाशित अन्तर्वार्ताको हेरिएको आँकडा साविकको ट्विटर अर्थात् एक्सको मात्रै हो । अन्य प्ल्याटफर्मको जोड्दा ज्यादै धेरै छ ।
यसो हुनुको एक कारण पुटिन युक्रेन युद्धपछि पश्चिमी मिडियामा प्रतिबन्धित छन् । रुसी सरकारी च्यानल पनि बन्द गरिएका छन् । रुसी भाष्य पूर्ण बन्द छ । यस्तो बेला आएको अन्तर्वार्ता भएकाले ज्यादै चासोपूर्वक हेरिएको देखिन्छ । अर्को कारण टकर आफैँँ पनि अमेरिकी मूलधार मिडियाबाट पीडित अनुहार हुन् । कञ्जरभेटिभ कित्ताका उनलाई केही समयअगाडि फक्स न्युजले बिनाकुनै गम्भीर कारण हटाएको थियो । अन्तर्वार्ता लिने अमेरिकी पत्रकार, अन्तर्वार्ता दिने रुसी राष्ट्रपति । विषय विश्वका मुद्दा । नेपाल त परै जाओस् भारतको पनि नाम नआएको अन्तर्वार्तामा नेपाली नेताले सिक्ने कुरा धेरै छन् । पुटिनको अन्तर्वार्ता शैलीबाट नेपाली नेताहरूले सिक्न सक्ने पाँच पाठ यस्ता छन्ः
१. इतिहास पढ
पुटिनले इतिहासको कुरा गरेका छन् । रुस एक देशको रूपमा १ हजार २ सय वर्षदेखि रहेको उनको तर्क छ । युक्रेनको राष्ट्रिय पहिचान भने १९ औँ शताब्दीबाट मात्रै शुरु भएको भन्दै उनले रुसको अभिन्न अंगको रूपमा युक्रेन सयौँ वर्ष रहेकाले युक्रेन र रुस एकै भएको बताएका छन् । उसो त यसलाई केही पश्चिमा मिडियाले कमजोर तथ्य भनेका छन् । तर, इतिहास आफैँँमा व्याख्याअनुसार फरक हुन्छ । जस्तोः नेपालमै पृथ्वीनारायण शाहलाई नेपालका एकीकरणकर्ता भन्नेदेखि विस्तारकर्ता भन्नेसम्मका तर्क छन् । कोलम्बसलाई अमेरिका पत्ता लगाउनेदेखि अमेरिकी आदिवासी संस्कृति सिध्याउने भन्नेहरूसम्म छन् । गान्धीकै विषयमा भारतमा कांग्रेस र बिजेपीको मत फरक–फरक छ । भलै पुटिनले रुसी भाष्यको इतिहास भने । तर, उनले आफ्नो भाष्यको एक–एक कुरा राम्ररी राखे । अमेरिकामा त धेरैले बाइडेनबारे चुट्किला नै बनाए । एक चुट्किला यस्तो छ ‘रुसी राष्ट्रपतिलाई हजार वर्षको इतिहास मज्जाले भन्न आउँछ । बाइडेनलाई आफ्ना छोराको मृत्यु भएको मिति पनि याद छैन ।’
२. संस्थागत मेमोरी बोक
पुटिनले अन्तर्वार्तामा रुसको राजतन्त्रात्मककालदेखि सोभियत गणराज्यको युगसम्मका संस्थागत मेमोरी बोकेर कुरा गरे । उनले रुसी राजतन्त्रदेखि सोभियत संघसम्मका इतिहासको किस्सा जाडे । नेपालका शीर्ष नेताले बीपी र माओको संवाद अथवा मनमोहन र ज्योति बसुका संवाद फरर भन्न सक्दैनन् । भन्न सक्नेहरू दुर्लभ छन् । पुटिनले देशको महत्व भएका एक–एक कुराहरूको लिखत राखेर अन्तर्वार्ता दिए । आफूले भनेका कुरा दस्तावेजमा ल्याएर टकरलाई उपहार पनि दिए । नेपालका दलहरूले दलीय र देश दुवैमा संस्थागत मेमोरी बलियो बनाउन पुटिनको यो कुराबाट सिक्न सक्छन् । आफ्नै सरकारका कुरा बिर्सने नेपाली नेतालाई पुटिनको संस्थागत मेमोरीकोे उदाहरण प्रेरणा र प्रेसर दुवै बन्न सक्छ ।
३. कथ्यमा होइन, तथ्यमा बोल
पुटिनले आफ्ना कुरा तथ्यमा बोले । उनले अमेरिकी नेतृत्वका देशहरूको दबदबा कमजोर भएको मात्रै भनेनन्, तथ्य पनि दिए । जस्तै ः सन् १९९२ मा जि–७ देशको अर्थतन्त्र विश्वको ४७ प्रतिशत भएकोमा हाल आएर ३० प्रतिशतमा झरेको तथ्यांक पस्किए । विश्वमा बहुधु्रुव बनिरहेको भन्दा उनले ब्रिक्सको बलको चर्चा गरे । सन् १९९२ मा १६ प्रतिशत विश्व अर्थतन्त्रको हिस्सा भएको ब्रिक्स देश अहिले जि–७ भन्दा बलिया भएको आँकडा देखाए । डलर क्रमशः कमजोर भएको र युआन बढेको तर्क पनि रुसी उदाहरण दिएर गरे । सन् २०२२ सम्म रुसको विदेशी मुद्रा सञ्चितिमा डलर ८० प्रतिशत र युआन ३ प्रतिशत भएको तर अहिले आएर डलर १३ प्रतिशत र युआन ३४ प्रतिशत भएको पुटिनले बताए । चीनसँगको व्यापारबारे सि र पुटिनले २०० अर्ब डलर पु¥याउने सम्झौता गरेको तर रुसी आँकडाअनुसार त्यो २३० र चिनियाँ आँकडाअनुसार २४० अर्ब डलर पुगेको तथ्यांकमै बोले । आफ्ना कुरा तथ्यसहित राख्न र सचिवालयको क्षमता बढाउन नेपाली नेताले पुटिनबाट सिक्न सक्छन् ।
४. सत्तालाई बिच्क्याए पनि सर्वसाधारणलाई सम्मान गर
पुटिनले आफ्नो अन्तर्वार्तामा युक्रेनी सत्ता र अमेरिकी सत्ताको विरोध गरे । तर, ती देशका नागरिकको निन्दा गरेनन् । युक्रेन मामिलामा बोल्दा उनले भने, ‘एक दिन दुई देशका नागरिक मिल्ने नै छन् ।’ नेपालमा आलोचना गर्नुपर्दा कुनै देशको सत्ताले गरेको गल्तीमा नागरिकलाई दुःख दिने वा नागरिकमा आक्रोश पोख्ने चलन छ । पुटिनबाट नेपाली नेताले आफ्ना भाषणलाई सुधार गर्न सक्ने ठाउँ छ ।
‘भारतीय विस्तारवाद’ र ‘अमेरिकी साम्राज्यवाद’ भन्दै भारतीय र अमेरिकी सत्ताको मात्रै होइन, नागरिकको पनि खेदो खन्ने कम्युनिष्ट स्कुलिङ र ‘कम्युनिष्ट चीन’ भन्दै चिनियाँ सत्ता मोडेलको मात्रै होइन, चिनियाँ नागरिककै बारेमा खराब सोच्ने गैरकम्युनिष्ट नेपालका दलहरूले पुटिनबाट सत्तासँग आलोचनात्मक भए पनि त्यो कुण्ठा सर्वसाधारणमा नपोख भन्ने पाठ पाउने आधार छ ।
५. छिमेकीको सम्मान गर
छिमेकीको सम्मानमा पनि पुटिनको अन्तर्वार्ता मानक मान्न सकिन्छ । अमेरिकी पत्रकार टकरको चिनियाँ अर्थतन्त्रको आकार र प्रभावले रुसको सार्वभौमसत्तामा असर गर्छ कि गर्दैन भन्ने प्रश्नमा पुटिनले चीन राम्रो छिमेकी भएको बताए । चीनले शान्तिपूर्ण परराष्ट्र नीति लिएको भन्दै पुटिनले चीनसँग हजारौँ किमि सीमा तथा इतिहासदेखिको सम्बन्ध भएकाले केही समस्या नहुने र आफन्तहरू जस्तै छिमेकी छान्न नसकिने बताए ।
नेपालमा भारत रिझाउन चीनको खराबी देखाउने वा चीन रिझाउन भारतको आलोचक देखिने चलन कमजोर भएको बुझ्न पनि पुटिनको यो तर्क बलियो छ ।
टिप्पणीहरू