निक्षेप माग्दै सहकारी पीडितद्धारा विभागमा धर्ना

निक्षेप माग्दै सहकारी पीडितद्धारा विभागमा धर्ना
सुन्नुहोस्

सहकारीमा भएको आफ्नो निक्षेप फिर्ता माग्दै पीडित निक्षेपकर्ताहरुले काठमाडौं महानगरपालिका–३१, नयाँ बानेश्वरस्थित सहकारी विभागमा धर्ना दिएका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको आयोजनामा हिजोदेखि शुरु भएको धर्ना आज पनि जारी छ । पीडित निक्षेपकर्ताहरु आज बिहान साढे १० बजेदेखि विभागको परिसरभित्र धर्नामा बसेका छन् । 

महासंघको संयोजक कुशलव केसीको नेतृत्वमा भएको धर्नामा तीन जनाको उपस्थिति रहेको छ । खुला चौरमा ब्यानर बिच्छ्याएर उनीहरुले आफ्नो बचत फिर्ताका लागि सरकारलाई दबाब दिइरहेका छन् । सहकारीमा भएको निक्षेपकर्ताको निक्षेपको साँवाब्याज अविलम्ब फिर्ता र सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराउन विभाग धर्ना तथा घेराउ कार्यक्रम थालिएको संयोजक केसीले बताए । 

पछिल्लो समय एकपछि अर्को सहकारीमा समस्या देखिएको छ । सहकारीले बचतकर्ताहरुलाई बचत फिर्ता गर्न सकिरहेको छैन् । सहकारी पीडितहरुले आफ्नो निक्षेप फिर्ता माग्दै गत जेठ २० गतेदेखि माइतीघर मण्डलामा दुई महिना लामो आन्दोलन गरेका थिए । पीडितहरुको आन्दोलन चर्किएपछि साउन १८ गते सिंहदरबारमा सरकारका प्रतिनिधि र पीडितबीच सात बुँदे सम्झौता भएको थियो । सो सम्झौता पनि कार्यान्वयन नगरिएको उनीहरुको गुनासो छ ।

टिप्पणीहरू