नेपाली नोट छाप्ने भारतीय ठेक्का बदर
राष्ट्र बैंकले एक हजार र ५० रुपैयाँँ दरको नोट छाप्न मुम्बई नजिकैको नासिकस्थित भारतीय सेक्युरिटी प्रिन्टिङ कम्पनीलाई दिइएको ठेक्का रद्द गरेको छ । गत वर्षको पुस २६ गते ठेक्काको आधिकारिक पत्र पाएको कम्पनीले नेपाली नोटको तोकिएको गुणस्तर कायम गर्न नसकेपछि बैंकले उक्त निर्णय गरेको हो । भारतले नोट छापेर गत दशैंअगावै दिनुपर्ने थियो ।
तोकिएको गुणस्तरबारे पटक पटक ताकेता गर्दा पनि काम नभएपछि सञ्चालक समितिले उक्त निर्णय गरेको केन्द्रीय बैंकको उच्च स्रोतले बताएको छ । ५० दरका ३० करोड थान नोट छाप्न भारतीय सरकारी कम्पनीले ५० लाख ४८ हजार ७८० अमेरिकी डलरमा ठेक्का पारेको थियो । तत्कालीन विनिमय दरअनुसार उक्त रकम नेपाली रुपैयाँँ ६६ करोड ६४ लाख ३८ हजार ९६० र भारतीय रुपैयाँँ ४१ करोड ६५ लाख २४ हजार ३५० हुन आउँथ्यो । बैंकले नोट छापेबापतको रकम अमेरिकी डलरमा नै भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था छ । ठेक्का पाएको तीन महिनापछि कम्पनीले ३० करोड थान छाप्ने तयारी थालें भनेर औपचारिक जानकारी गराएको थियो ।
सोहीअनुसार छापिएको नमुना नोटको ‘डिजिटल भर्सन’ बैंकको केन्द्रीय कार्यालय, बालुवाटारस्थित मुद्रा व्यवस्थापन विभागमा बुझाइयो पनि । विशेष कागजमा छापिने ती नोटबारे बैंकका अधिकारीहरूले भारतीय कम्पनीसँग पटक पटक छलफल गरे तर निक्र्यौलमा पुग्न सकेका थिएनन् । त्यस्तो कागज प्रारम्भिक चरणमा नै पानीछाप, सेक्युरिटी थ्रेड हालेर बनाइएको हुन्छ ।
भारतीय कम्पनीले महँगोमा त्यस्तो कागजको आवश्यक व्यवस्थापन गरेर छाप्न लागिएको ५० दरको नोटमा लालिगुराँसको पानीछापको साइज फरक परेपछि नेपाली पक्षले रोकेको थियो । बैंक स्रोतले त्यतिबेलै भनेको पनि हो– ‘यसपटक ५० दरको नोटमा वाटरमार्क अर्थात् पानीछापको समस्या फेला प¥यो । दायाँतर्फको खाली भागमा लालीगुराँसको पानीछाप राख्नुपर्नेमा टेण्डरअघि तोकिएको साइजभन्दा अहिले सानो र निश्चित बोर्डरबाट बाहिर आएको पाइयो । सम्झौताबमोजिम टाइममा नोट डेलिभरी गर्न सक्छौ कि सक्दैनौ !’
५० दरको नोट यसअघि फ्रान्सको ओबर्थर फिदुसियारे एसएएस कम्पनीले छापेको थियो । उसले पछिल्लो समय ५०, १० दरलगायतका नोट छापिसकेको छ । भारतीय कम्पनीले भने ५० सँगै एक हजार दरको नोट पनि छाप्ने टेण्डर अघिल्लो वर्षको मंसिरमै हात पारेको हो । एक हजार दरका ४३ करोड थान नोट एक करोड ११ लाख ३४ हजार ५०६ अमेरिकी डलरमा छाप्ने अनुमति दिइएको र ५० दरको नोट छाप्ने क्रममा समस्या देखिएपछि राष्ट्र बैंकले गत जेठमा एक हजार दरको नोट छापेर हस्तान्तरण गरेपछि मात्रै ५० को छपाई प्रक्रिया अघि बढाउने निर्णयबारे जानकारी दिएको स्रोतको दाबी छ ।
जनआस्थासँगको कुराकानीमा भारतीय कम्पनीको काठमाडौंस्थित एजेन्टले भनेको छ, ‘यसअघि ५० दरको नोट छापेको फ्रान्सेली कम्पनीका कारण डिजाइनमा फरक परेको हो । राष्ट्र बैंकको ५० दरको नोटमा भएका सबै फिचरबमोजिमको नयाँ डिजिटल डिजाइन गरेर पठाएपछि बैंकले कुनै निर्णय गरेन ।’ तर, बैंकका अधिकारीहरू नोट छाप्न फाइनल स्वीकृति दिएपछि डेलिभरी गर्नुपर्ने समय चार महिना तोकिएको हुने बताउँछन् । गत दसैँअगावै ती नोट आइसक्नुपर्नेमा भारतीय कम्पनीले पटक पटक समय लम्ब्याएपछि बैंकले पर्ख र हेरको रणनीति बनाउँदै पछिल्लो निर्णय गरेको बुझिएको छ ।
एक हजार दरको नोटमा निकै महँगा धेरै किसिमका फिचर राखिएको छ । त्यस किसिमको नोट छाप्न भारतीय कम्पनी असफल भएको ठहर बैंकको मुद्रा व्यवस्थापन विभागस्थित प्राविधिक र कार्य व्यवस्था कमिटीले गरेका थिए । त्यसपछि सोही प्रस्ताव व्यवस्थापन समिति हुँदै सञ्चालक समितिमा पुगेपछि भारतीय कम्पनीमा छाप्ने भनिएको १५ महिनाअघिको ग्लोबल टेण्डर अघिल्लो साता रद्द भएको हो ।
यसैबीच, उता भारतले छपाइअघि तयार पारेको नमुना नोटमा गुणस्तर नपुगेको ठहर भएकै बेला पारेर सुनसरी र वीरगञ्जमा ठूलो परिमाणमा हजार दरका नक्कली नोट फेला परेका छन् । पूर्वमा एक करोड ८० लाख र वीरगञ्जमा १८ लाखभन्दा बढी नक्कली हजारका नोट प्रहरीले बरामद गरेको छ । यो घटनाले पनि केन्द्रीय बैंकका अधिकारीहरूलाई सशंकित बनाइदिएको छ ।
दुई दशकअघि पोलिमर (प्लास्टिक) १० रुपैयाँँ छाप्ने क्रममा ठूलै गल्ती भएपछि अष्ट्रेलियन कम्पनीले करोडौंको नोट नष्ट गरेर नयाँ छापेको थियो । त्यसबेला अगाडिको भागमा रहेका नम्बरमध्ये दुई वटा पातलो र अरू मोटो देखिएकाले बैंकले बुझ्न अस्वीकार गरेको थियो । भारतले डेढ दशकअघि एक सय दरको नोटसमेत छाप्न अग्रसर हुँदा लुम्बिनीको ‘अशोक स्तम्भ’ र अंग्रेजीमा लेखिएको ‘बुद्धको जन्मथलो’ व्यहोराका कारण पछि हटेको त्यसबेलाका हाकिमहरूको भनाइ छ ।
झण्डै आठ दशकअघि बेलायतको डेलारु कम्पनीले नेपालको नोट पहिलो पटक छापेको हो । पछिल्लो समय चीनको बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, फ्रान्सको ओबर्थर, इण्डोनेसियाको पेरुम पेरिरी र नेदरल्याण्डको रोयल डच मिन्टले पनि नेपाली नोट छाप्दै आएका छन् ।
पछिल्लो वर्ष तीबाहेक अन्य पाँच कम्पनी प्रतिस्पर्धामा थिए । ती पोल्याण्डको मेनिका पोल्सका एसए, स्लोभाकियाको मिनकोभ्ना क्रेम्निका स्टाट्नी पोड्निक, फिनल्याण्डको मिन्ट अफ फिनल्याण्ड, स्पेनको रियल कासा डेला मोनेडा र बेलायतको द रोयल मिन्ट लिमिटेड हुन् । इण्डोनेसियाको पेरुम पेरिरीलाई भने कालोसूचीमा राखिएको छ ।
टिप्पणीहरू