कहीँ नभा’को जात्रा चितवनको राप्तीमा

कहीँ नभा’को जात्रा चितवनको राप्तीमा
सुन्नुहोस्

जनप्रतिनिधिहरुबीच जुँगाको लडाइँले चितवनको राप्ती नगरपालिकाको अवस्था भद्रगोल छ । कहीँ नभा’को जात्रा हाँडी गाउँमा भनेझैं चितवनका पालिकाहरुमा यतिविघ्न रडाको अन्त कतै पनि नभएको बताइन्छ । 

साँच्चै दलबन्दी र गुटबन्दीले राप्ती नगरपालिका अनिर्णयको बन्दी बनेको स्थानीयको भनाई छ । जमानादेखि एमालेले एकलौटी रजाइँ गर्दै आएको ठाउँमा एमालेइतरको, त्यसमा पनि एमाले छाडेकाको हैकम चलेपछि द्वन्द्व चर्किंदै गएको हो । नेकपा एकीकृत समाजवादीबाट निर्वाचित मेयर समशेर लामाले राम्रोसँग कामै गर्न पाएका छैनन् ।

आन्तरिक कलहका कारण गत साउनदेखि एकपटक पनि कार्यपालिका बैठक बस्न सकेको छैन । हिउँदे नगरसभा समेत रोकिएको अवस्थामा एमाले पक्षले अहिले नगरपालिकामा तालाबन्दी गरिदिएको छ । मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अस्तिदेखि ताला झुण्डिएको छ । 

कार्यपालिकामा एमालेको बहुमत छ । १३ जना वडाअध्यक्षमा आठ जना एमालेकै छन् । २३ जना कार्यपालिका सदस्यमा १६ जना एमालेकै भए । यही बहुमतको बलमा एमालेले नगरपालिकामा अनेक बितण्डा मच्चाउँदै आएको अर्को पक्षको आरोप छ । यसबाट स्थानीय पनि आजित भइसकेको उनीहरुको भनाई छ । ‘गल्ती कसको ?’ भन्दा तालाबन्दी गर्नेहरुकै भएको स्थानीय बताउँछन् । 

‘म पनि एमाले हुँ । तर यो नगरपालिकाभित्रको विवादमा एमालेपक्ष नै गलत छ’, नगरपालिका अगाडि किराना पसल सञ्चालन गर्दै आएका एक स्थानीयले भने, ‘कमसेकम पदीय मर्यादा अनुसार त सबै चल्नुपर्छ नि ? मेयरलाई मान्छे नगन्ने ? मेयरको मानै नराख्ने भएपछि पनि हुन्छ ?’, उनले थपे, ‘अरु केही होइन, बहुदल आएदेखि ३०/४० वर्ष एमालेको एकछत्र राज चलेको, एमालेले एकलौटी रुपमा खाइपाइ आएकोमा अहिले डाडुपन्यु अर्कैको हातमा पुगेपछि एमाले बहुलाएको हो ।’ बाटोमा भेटिएका अर्का एक स्थानीयले पनि नगरपालिकाभित्रको विवादमा गल्ती एमालेकै भएको बताए । 

पछिल्लो समय नेपाली काँग्रेस पनि एमालेसित मिलेर मेयरलाई विफल तुल्याउन खोजिएको एकीकृत समाजवादीको बुझाई छ । उपमेयर देवेन्द्र लामा काँग्रेसी हुन् । मेयरलाई साथ दिनुको बदला उनी पनि विरुद्धमा लागिपरेको समाजवादीहरु बताउँछन् । २०७९ पुसमा जग्गाको वर्गीकरण गर्दा कृषियोग्य भनी निर्णय गरिसकिएको जमिनलाई उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा आवास क्षेत्रको रुपमा सिफारिस गरिएपछि मेयरले निको मानेका छैनन् । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने सोच बनाएकोसमेत केही अघि मेयरले बताएका थिए । 

उमेरले पनि अरुभन्दा कान्छा मेयरको हातबाट विपक्षीहरुले सुरुमा शपथ ग्रहण लिन समेत अस्वीकार गरेका थिए । त्यसपछि पटक–पटक कार्यपालिका बैठक पनि हुन नदिने, बैठक बसेपनि अनेक निहुँ खोजेर झगडा गर्ने, जनप्रतिनिधिहरुबीचमै कुटाकुट गर्ने, एकले अर्कालाई मुद्दा हाल्ने, निषेधको राजनीति गर्ने श्रृंखला अझै चलिरहेको हो । यसै झगडाकाबीच मेयर शमशेर लामाको ज्यानमाथि खतरा देखिएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर पिएसओसमेत खटाइएको स्थिति छ । 

टिप्पणीहरू