गाउँ–गाउँमा नक्कली नोटको हावा

गाउँ–गाउँमा नक्कली नोटको हावा
सुन्नुहोस्

सुनसरीको इनरुवाबाट ट्राफिक प्रहरीले बरामद गरेको झण्डै २ करोड रुपैयाँ बराबरका नेपाली हजारको नोटको चर्चा भइरहँदा सोको पराकम्प मकवानपुरसम्म आइपुगेको छ । 

मकवानपुर र चितवनको सीमावर्ती क्षेत्र मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित होटल हरियाली एण्ड रेष्टुरेण्टमा फागुन ३ गते खाजा खान पुगेका ४ जना युवाले नक्कली नोट तिरेर हिँडेपछि पूर्वमा नक्कली नोट बरामदीको घटनासँग जोडेर अनुसन्धान थालिएको छ ।

इलाका प्रहरी कार्यालय मनहरीले होटल हरियालीका सञ्चालकबाट खबर पाएपछि नोट बरामद गरी २ दिन लगाएर ती युवालाई पक्राउ गरेको हो । प्रहरी निरीक्षक दीपक थापाका अनुसार खाजा खाएर नक्कली नोट तिरेर हिँडेकामध्ये मुख्य अभियुक्त मानिएका लोकेन्द्र मुक्तानलाई कैलाश गाउँपालिकाबाट पक्राउ गरी ल्याइएको छ । अन्यलाई मनहरी वरिपरिबाटै समातिएको प्रहरीले जनाएको छ ।

२४ थान हजारका नक्कली नोट बोकेर खाजा खान पुगेका ४ मध्ये तीन जना साथीभाइको लहैलहैमा गएको बुझिएको छ । छाम्दा बाक्लो र खस्रो लाग्ने नोटहरू कसले, कहाँ र कसरी छाप्यो भन्नेबारे अनुसन्धान जारी छ । प्रहरीले नेपाली मुद्राको अबैध कारोबारसम्बन्धी मुद्दा चलाएर उनीहरूलाई ७ दिन थप हिरासतमा राख्न अदालतसँग म्याद लिएको जनाएको छ ।

यसैबीच, पश्चिम मकवानपुरको चैनपुर प्रहरी चौकीले राक्सिराङ गाउँपालिका ५ बोटबारी छेउबाट सोमबार बिहान अबैध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । अटोमा ७० किलोग्राम गाँजा बोकेर मनहरीतर्फ आइरहेका तीन जनालाई पक्रेको बताइएको छ । यद्यपि, प्रहरीले पक्राउ परेकाहरूको नामावली सार्वजनिक गरिसकेको छैन । 
 

टिप्पणीहरू