सन् २०२४ : भिजिट भरतपुरको वर्ष, पर्यटनलाई हर्ष

सन् २०२४ : भिजिट भरतपुरको वर्ष, पर्यटनलाई हर्ष
सुन्नुहोस्

भरतपुरको काखैमा नागबेली बनेर बगिरहेछ नारायणी । नारायणगढछेउ नारायणी नदी किनारको मनोरम वातावरणमा रम्न, टहल्न विभिन्न ठाउँबाट आउने मानिसहरुको दिनदिनै ओइरो लाग्ने गरेको छ ।

देशकै एउटा सुन्दर पर्यटकीय गन्तव्य बन्न सक्ने यो ठाउँलाई ‘सि बिच मोडेल’मै विकास गरिँदैछ । करिब ४३३ वर्ग किमि क्षेत्रफलमा फैलिएको भरतपुर महानगरपालिका तीनतिरबाट नारायणी र राप्ती नदीले घेरिएको छ । जलयात्राका लागि मोटरबोट र क्रुजसिप पनि सञ्चालनमा ल्याइएको छ ।

तराईको समथर भूभाग, पहाड अनि हिमश्रृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिने भरतपुरमा सूर्य उदाएको र अस्ताएको हेर्ने ठाउँ पनि छन् । भरतपुरसँगै जोडिएको इच्छाकामनाको सिराइचुली सूर्योदयको लागि र भरतपुरकै गोलाघाट सूर्यास्तको दृश्य हेर्न उत्तम गन्तव्य मानिन्छन् । पवित्र तीर्थस्थल देवघाटधाम यहीँ छ, देवघाटतीर्थको महिमा थाहा पाउनेहरु वर्षेनी विभिन्न पर्वहरुमा हजारौं–लाखौंको संख्यामा मेला भर्न आउँछन् । विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज पनि भरतपुरको गहना हो, भरतपुर महानगरपालिका राष्ट्रिय निकुञ्जको प्रवेशद्वार नै हो ।   

भरतपुरमा यी र यस्ता महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु यथेष्ट भएरपनि उचित प्रचारप्रसार हुन नसकिरहेको अवस्थामा पर्यटन प्रवद्र्धनका लागि यो वर्ष सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाउन लागिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले जानकारी दिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट भोलि फागुन १८ गते १ बजे नारायणी नदी किनारमा भरतपुर भ्रमण वर्षको भव्य उद्घाटन गर्ने कार्यक्रम छ । त्यसअघि ११–१२ बजे भरतपुरका विभिन्न ठाउँबाट विशाल र्याली निकालिनेछ । हाकिमचोक, त्रिचोक, गेस्टहाउस चौरबाट चौबीसकोठी अनि चौबीसकोठीबाट क्याम्पाचौर, लायन्सचोक, बेलचोक, शहीदचोक हुँदै विविध झाँकीसहित र्याली नारायणीकिनार पुग्ने बताइएको छ ।

उद्घाटन कार्यक्रममा करिब ५० हजार जनसमुदाय सहभागी हुने अनुमान गरिएको छ । समुद्घाटन समारोहमा पाँच पूर्वप्रधानमन्त्री, संघ तथा प्रदेशका मन्त्री र सांसद् लगायत विशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको छ । राष्ट्रिय कलाकारहरुको प्रस्तुति तथा सांस्कृतिक झाँकीहरुको प्रदर्शनीसमेत हुनेछ । 

भरतपुर भ्रमण वर्षमा निजी क्षेत्र तथा संघसंस्थाहरुको अगुवाइमा वर्षभरि ५१ वटा विभिन्न कार्यक्रमहरु सञ्चालन हुने जनाइएको छ । भरतपुर र यहाँका पर्यटकीय गन्तव्यहरुको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारका लागि राजदूतहरुको एउटा सम्मेलनसमेत गर्ने तरखर गरिएको प्रमुख प्रशासकीय अधिकृतले जनाएका छन् ।

भरतपुर महानगरपालिकाद्वारा निजी क्षेत्रसँगको सहकार्यमा आयोजित भरतपुर भ्रमण वर्षको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गर्नेछ । पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि प्राप्त गर्न राज्यले लिएको पोलिसी अनुसार भूकम्प, कोराना, आर्थिक मन्दी लगायत कारणबाट थलिएको र सुस्ताएको पर्यटनलाई उकास्न भ्रमण वर्ष आयोजना गरिएको जनाउँदै महानगरपालिकाका पर्यटनविज्ञ विश्व सुवेदीले यसले समग्र आर्थिक क्रियाकलाप चलायमान गराउने विश्वास व्यक्त गरे ।

पर्यटनविद् सुवदीका अनुसार वर्षेनी सालाखाला ३० हजार बाह्य पर्यटक भरतपुर आउने गरेकोमा भ्रमण वर्षमा स्वदेशी पाँचलाख र बाह्य दुईलाख गरी झण्डै सात लाख पर्यटक भित्रिने अपेक्षा गरिएको छ । महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालले भ्रमण वर्षमा अमेरिकाको सरकारी पत्रकार रहेका आफ्ना साथीसमेत उनको आफ्नै खर्चमा भरतपुर घुम्न आउने जनाए ।

साहसिक पर्यटनका लागि चौकीडाँडामा प्याराग्लाइडिङ सुरु भइसकेको छ । चौकीडाँडातिरै अवलोकनका लागि कविलास गढी, गोल्डेन गुफा र मदन आश्रित पार्क छन् । कसरा ब्लक अन्तर्गत विक्रम बाबा थान छ, जहाँ वर्षेनी लाखौंको संख्यामा भक्तजनहरु जमानादेखि आउने गरेका छन् । गणेशधाम, महाबौद्ध गुम्बा, वागीश्वरी, हरिहर मन्दिर, मुकुन्देश्वर शिवालय, मनकामना मन्दिर, भोजबाबा, सीतामाई-तामाई, लक्ष्मीनारायण मन्दिर पनि धार्मिक पर्यटनका लागि महत्वपूर्ण गन्तव्य हुन् ।

कसरामा गोही प्रजनन् केन्द्र छ । वन्यजन्तु उद्धार केन्द्रको पनि यहाँ अवलोकन गर्न सकिन्छ । भरतपुरमा ऐतिहासिक संग्रहालयको रुपमा विकसित दियालो बंगला अवलोकनका लागि अर्को महत्वपूर्ण गन्तव्य हो । पटिहानी ब्लकमा पर्ने अम्रेला स्ट्रिट, कमलपोखरी, स्टोन पार्क पनि घुमघामका लागि उपयुक्त छन् । सिमसार क्षेत्रमा सूचीकृत बीसहजारी ताल यहीँ छ । टाइगर (बाघ) ताल, राइनो ताल, किड्डफिसर ताल, बाटुली पोखरी, अठ्ठाइस हजार ताल, घैया ताल पनि भरतपुरमै छ । नगर वन छ । 

राष्ट्रिय निकुञ्ज तथा यहाँका सामुदायिक वनहरुमा दुर्लभ वन्यजन्तु तथा चराचुरुड्डीहरुको अवलोकन गर्न सकिन्छ । पिकनिक स्पट प्रशस्तै छन्, मिनी जु छ । हात्ती सफारी (इलेफेन्ट ट्रेकिड्ड)को व्यवस्था छ । हात्तीसँगै नुहाएर रमाउन पाइन्छ । जीप सफारी, डुड्डा सयर तथा र्याफ्टिङ, जंगलवाक एवम् गाडाबाट गाउँ भ्रमण पनि गर्न सकिन्छ । आदिवासी जनजाति समुदायका सांस्कृतिक कार्यक्रम हेर्न र रैथाने खानाको स्वाद लिन पाइन्छ । हात्तीपोलो तथा प्याराजम्पिङ, साइक्लिङ तथा बाइकिङ, क्याम्पिङ तथा मचान स्टेको मजा लिन सकिन्छ । टुर प्याकेजको व्यवस्था मिलाइएको छ । भ्रमण वर्षका लागि भनेर होटल रेष्टुरेन्टहरुमा विशेष छुटको व्यवस्था गरिएको छ ।    

महानगरका गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने, पर्यटकको संख्या र बसाइँ अवधि वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले अयोजित भ्रमण वर्षले भरतपुर र आसपासका क्षेत्रहरुको आर्थिक तथा पर्यटन क्षेत्रलाई टेवा पुग्ने विश्वास लिइएको छ । सौराहा, सिराइचुली, उपरदाङगढी, परेवाकोट, कुमरोज, मौलाकालिका, वाल्मिकी आश्रम, सोमेश्वर गढी आदि नजिकका गन्तव्यहरुको भ्रमण तथा अवलोकनको व्यवस्था समेत गरिएको जनाइएको छ ।

महानगर प्रमुख रेनु दाहाल भन्छिन्, ‘भरतपुरलाई चिनाउँदै आर्थिक सम्भावनाको खोजी, लगानीको वातावरण निर्माण गर्न पनि भ्रमण वर्ष कोसेढुंगा साबित हुने अपेक्षा गरिएको छ ।’ 

नेपालमै अहिले सबैभन्दा बढी बसाइँसराइ गरी आउने शहरको रुपमा भरतपुर, चितवन रहेको छ । यहाँ दु्रत गतिमा विकास भइरहेको छ । नेपालकै उत्कृष्ट पालिकाको सूचीमा अग्रसर भरतपुरमा विकासको नमूना मोडेल पनि हेर्न लायक छन् । फराकिला बाटाघाटा, निर्माणाधीन नेपालकै ठूलो प्रशासनिक भवन, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटीहल, नारायणी तटबन्धन, भूमिगत सिँचाइ आदि महत्वपूर्ण पूर्वाधारहरुको यहाँ आएर अवलोकन गर्न सकिन्छ । 


 

टिप्पणीहरू