८० प्रतिशत हत्या परिवार भित्रैबाट

८० प्रतिशत हत्या परिवार भित्रैबाट

प्रायः सबै आमाबाबुले सन्तानलाई आफ्नो कमजोरी ठान्छन् । सन्तानको सामान्य पीडामा पनि आँशु खसाल्छन् । आफू भोकै बसेर भने पनि सन्तानको पेट भर्छन् । आफ्नो रहर र आवश्यकता भुलेर पनि सन्तानको फर्माइस् पूरा गर्छन् । सन्तान नै सम्पत्ति र सर्वश्व हो भन्ने आमाबाबुले नै सन्तान हत्या गर्छन् भन्ने सुन्न पनि ठूलो हिम्मत जुटाउनुपर्छ । तर वास्तविकतामा आमाबाबुले नै सन्तानको हत्या गरिरहेका समाचारहरू आइरहेका छन् । कुन मुटुले यसो गर्न सकेका होलान् ? यसरी बर्सेनि ६ सय जनाको हत्या हुने गरेको प्रहरीको तथ्यांक छ । 
घटना १ 

फागुन ९ गते बुधवार सीतापाइलामा ३९ वर्षीया ईश्वरी श्रेष्ठ, ८ वर्षीया अनिशा र २ वर्षीया शिवानी कोठामा मृत अवस्थामा भेटिए । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका राजु घिमिरे भन्ने काजी बिकले उनीहरू तीनै जनाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । श्रीमती ईश्वरी परपुरुषसँगको सम्बन्धमा रहेकाले काजीले हत्या गरेको सन्देश भिडियो रेकर्ड गराएर राजुले पनि आत्महत्या गरेका हुन् ।
घटना २
माघ २७ गते शनिबार गौशालास्थित सिरहा–धनुषा होटेल एण्ड लजको कोठा नम्बर १०८ मा रामेछाप लिखु तामाकोशी गाउँपालिका– ५ की २८ वर्षीया प्रमिला दमाईं मृत अवस्थामा भेटिइन् । उनको हत्या दोलखा बैतेश्वर गाउँपालिका–७ का ३८ वर्षीय कुमार श्रेष्ठले गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । कुमार उनका प्रेमी हुन् । लोकन्थलीमा कोठा भाडामा लिएर उनीहरू एक वर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएको खुल्यो ।
घटना ३
गत कात्तिक ६ गते काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्वयम्भू शोभाभगवतीस्थित सरिता गिरीको घरको कोठामा तनहुँ भिमाद नगरपालिका–१ की ५१ वर्षीया सफिना मियाँ मृत अवस्थामा फेला परिन् । उनको टाउकोमा गम्भीर चोट देखिन्थ्यो । शरीरको आधा भाग गलेर नष्ट भइसकेको थियो । अनुसन्धानपछि भारतका ४७ वर्षीय इकरामुल हक अन्सारी पक्राउ परे । अन्सारी मियाँका प्रेमी थिए । उनीहरू एक वर्षदेखि लिभिङ टुगेदरमा रहेको खुल्यो ।
हत्याका पछिल्ला तीन घटनाका आरोपी र मृतक परिवारभित्रकै सदस्य वा नजिकको सम्बन्ध भएका हुन् । यस्ता घटना देशभर बढ्दै गएको प्रहरी तथ्यांकले देखाएको छ । कहिले कत्तिको हत्या भयो, यो तथ्यांक हेरौं –
आर्थिक वर्ष    हत्या
२०७३÷७४   ५१६ जना
२०७४७५   ५६९ जना
२०७५÷७६   ७०० जना
२०७६÷७७   ८२४ जना
२०७७÷७८   ९२० जना 
२०७८÷७९   १००२ जना 
२०७९÷८०   ४९२ जना (पुससम्म) 
नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो ७ वर्ष ६ महिनामा देशभर चार हजार तीन सय ७० को हत्या भएको छ । यसलाई आधार मान्दा प्रत्येक दिन १.५९ अर्थात् दुई जनाको हत्या हुने गरेको देखिन्छ । यस अवधिमा हत्या गरिएकामध्ये ५५.५८ प्रतिशत अर्थात् दुई हजार चार सय २९ पुरुष छन् । त्यस्तै, एक हजार चार सय ८१ जना महिलाको हत्या भएको छ । यो कूल संख्याको ३३.९० प्रतिशत हो । हत्या भएका सात प्रतिशत अर्थात् तीन सय पाँच बालक र ३.५० प्रतिशत अर्थात् एक सय ५५ बालिका छन् । हत्या भएका मध्ये करिब ८० प्रतिशत घटनामा चिनजान र परिवारभित्रकै सदस्य संलग्न रहेको पाइएको प्रहरी प्रवक्ता भीम ढकालले जानकारी दिए । पेशेवर प्रकृतिका अपराध जतिकै डरलाग्दो गरी घरभित्रै हत्या भइरहेको देखिन्छ । प्रहरी प्रधान कार्यालयको विवरणअनुसार नेपालमा हत्याका घटनामध्ये करिब एक तिहाइ आफन्तबाटै हुने गरेको देखिएको छ । प्रहरीका अनुसार घरपरिवार र नजिकका आफन्तबाट हत्या हुनुमा अनैतिक सम्बन्ध, आर्थिक लेनदेन र घरायसी वादविवाद मुख्य कारण देखिएका छन्् । हत्याको पछाडि यौन, सम्पत्तिको विवाद, घरझगडा जस्ता कारण मुख्य रहेका छन्् । पछिल्लो समय श्रीमान–श्रीमतीले एकअर्काको हत्या गर्ने क्रम पनि बढेको छ । श्रीमान् र श्रीमतीबीच आपसमा विश्वास गुम्दै जाँदा, परपुरुष या परस्त्री सम्बन्ध देखिँदा हत्याको घटना हुने गरेको पाइएको छ । नेपालमा पछिल्लो समय अविभावकीय निगरानीको कमीका कारण सामाजिक मर्यादा र अनुशासन हराउँदै गएको छ । यसकारण पनि परिवारभित्रैका अर्थात नजिकका व्यक्ति मार्ने क्रम बढेको छ । सामाजिक सञ्जालको गलत प्रयोग पनि अपराधको कारण बन्दै गएको छ । अहिले सामाजिक सञ्जालको दुरूपयोग बढेको छ, त्यसमा गरिने देखासेकी र त्यसबाट हुने आत्मीयताका कारण अनैतिक सम्बन्ध हुने र हत्याका घटना हुने गरेको पाइएको छ । डिजिटल प्लेटफर्ममा सरकारी निगरानी पुग्न नसक्दा पारिवारिक बिचलन बढ्दै गएको छ । तत्कालको रिस नियन्त्रण गर्न नसक्दा र अवैध सम्बन्ध लुकाउन हत्याका घटना हुने गरेको पाइन्छ । आर्थिक अभाव र उच्च महत्वाकाक्षांका कारण मानिसहरू क्रुर हुँदै गएको देखिन्छ । मानिसमा जिद्दी स्वभाव बढेको छ । सामान्य आवेगसमेत धान्न नसक्दा हत्या हुने गरेको छ । 
अपराधका घटना नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण कुरा नैतिक शिक्षा हो । रिस नियन्त्रण गर्न र समाज व्यवस्थापन गर्न जनचेतना फैलाउनुपर्छ । व्यक्तिहरूमा बदलाको भावनको साटो माफी दिने अभ्यास अभिवृद्धि गर्नुपर्नेछ । 
 

टिप्पणीहरू