गोलीकाण्डका गोप्य कुरा, कसले हान्यो छुरा

गोलीकाण्डका गोप्य कुरा, कसले हान्यो छुरा

के बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको आदेशले गोली र टियरग्याँसको सेल लागेर २ युवा मरेका थिए ? 

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा यस्तो चर्चा चलेको हो । गत पुस १३ वैदेशिक रोजगारीका निम्ति इपिएसअन्तर्गत कोरिया जान चाहने युवाहरूले गरेको प्रदर्शनका क्रममा ललितपुरको बालकुमारीमा प्रहरीले बल प्रयोग गर्दा दुई युवाको ज्यान गएको थियो । बालकुमारीको आकाशे पुल नजिकै एक राउण्ड गोली चलिसकेपछि नजिकै पार्टी केन्द्रीय कमिटी बैठकबाट निस्किएर असावधानीवस त्यही बाटो हुँदै मन्त्रालय जान हिँडेका मन्त्रीको गाडी घेराबन्दीमा प¥यो । मन्त्री निस्किएर प्रदर्शनकारीको दुव्र्यवहारप्रति कुनै जवाफ नदिई बैठकस्थलतिरै फर्किए ।

त्यसपछि बल्ल उनको गाडी जल्यो । तर, उक्त घटनाको छानवीन गर्न गठित समितिले उनै मन्त्रीलाई मुख्य दोषी करार गर्दै प्रतिवेदन दिएपछि संसदमा राजीनामाको माग भइरहेको छ । प्रतिवेदन तयार भएको दुई हप्ता बितिसक्दा पनि प्रधानमन्त्रीले अध्ययन गर्दैछु मात्रै भन्ने, आफ्नो निश्कर्ष नसुनाउने कारण मन्त्री ज्वाला हैन, पार्टी नै घेराबन्दीमा पर्न लागेको ठहर समाजवादीका नेताहरूले गरेका छन् । 

उक्त पार्टीको निश्कर्ष छ, ‘प्रतिवेदन पूर्वाग्रही छ ।’ मन्त्री प्रकाशमात्रै हैन, पार्टीकै विरुद्ध प्रतिवेदन लक्ष्यित भयो भनी उक्त पार्टीको सचिवालय बैठकमा नेताबीच सहमति भएको हो । एमालेले प्रकाश ज्वालाको राजीनामाको विषयलाई उत्साहजनक रुपमा उठाउने, गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो गल्ती ढाकछोप गर्न निरन्तर ज्वालालाई नै दोषी देखाउने कुरा रहश्यमय भएको ती नेताहरूको भनाइ छ । एमाले अध्यक्ष केपी ओली र उहाँपक्षीय नेताहरू कतिसम्म आक्रोशित छन् भने, माधव नेपालपछि कोहीमाथि ठूलो रिस छ भने त्यो प्रकाश ज्वालामाथि नै छ । किनभने, पार्टी विभाजनपूर्व कर्णाली प्रदेशको संसदमा विद्रोहको शुरुवात प्रकाश ज्वालाकै नेतृत्वमा भएको थियो । एमाले आक्रोशित हुनु स्वाभाविक भयो, त्यसमा माओवादीले मलजल गर्नु अर्को घातक पक्ष रहेको नेताहरूको ठम्याई छ ।

बैठकमा चर्चा चल्यो, ‘ज्वालाले लापरवाही, गल्ती गरेको हैन, अरु पनि आतेजाते भइरहेको थियो । उनी गएकै कारण गोली चलेको, मान्छे मरेको हैन । उनले बयानमा पनि त्यही भनेका छन् ।’ अर्थात्, प्रकाश ज्वालाको उपस्थितिले गाडी जलेको हैन, गोली चलिसकेपछि बल्ल गाडी जलेको हो । प्रतिवेदन सरकारलाई बुझाएको र लेख्ने कार्यमा सरकारका मान्छे नै सामेल भएको कारण मन्त्री ज्वालालाई उक्त प्रतिवेदन कानुनी रुपमा कति सहज हुन्छ थाहा छैन । ‘प्रतिवेदनले ज्वालालाई जबरजस्त दोषी करार गर्न खोजेको देखिन्छ,’ पार्टीका कार्यालय सचिव जीवनराम श्रेष्ठले बताए । मन्त्री नगएको भए गाडी जल्दैैन थियो, गाडी नजलेको भए गोली चल्दैन थियो भनिएको छ । तर, गाडी जानुअघि नै गोली चलेको हो । नेताहरूको ठहर छ, ‘जानु दुर्भाग्यपूर्ण भयो । निस्कनुपर्ने जरुरत कति थियो ? यो ख्याल गरिएन । यसर्थ, त्यो दुर्घटना हो ।’ त्यसमाथि मन्त्री ज्वालाले नै नक्कली लाइसेन्स बनाएर बिक्री गर्ने गिरोहको नेतृत्व गरेको भनी कारवाही सिफारिस गरेका हाल गृहका सहसचिव नारायण भट्टराई उक्त छानवीन समितिका सदस्य छन् । 

अहिले मन्त्री ज्वाला र नारायणकाजीबीच ‘मैले राजीनामा दिनुपर्ने हो भने तपाईंले दिने कि नदिने’ भनेर भनाभन चलिरहेको छ । ज्वालाले भनेका छन्, ‘प्रतिवेदनले उठाएको कुरा सत्य हो भने, मन्त्रिपरिषद्ले सत्य हो भन्छ भने म एक मीनेट पनि बस्दिनँ । तर, यो प्रतिवेदन पूर्वाग्रही छ ।’ फलतः यही कारण प्रधानमन्त्री तनावमा हुनुहुन्छ । प्रतिवेदनका आधारमा बर्खास्त गरौं, प्रतिवेदन बेठिक नै छ । त्यसदिन प्रदर्शनकारीको भीडले मन्त्री ज्वालालाई हातपात गर्दा उनी नबोली हिँडेका छन् । बोलेको भए उनै पनि मारिन सक्ने रहेछन् । 

गृहको लापरवाही कतिसम्म थियो भने, पाटन उच्च अदालतले इपिएसलाई १८ जनाको सीमित कोटा हटाउन आदेश दिएकै दिन सशस्त्रको गुप्तचर टोलीले भोलिपल्ट त्यहाँ अप्रिय घटना हुने संकेत गर्दै सूचना दिएको थियो । तर, भोलिपल्ट २ किलोमिटर दूरीको सशस्त्र घटनास्थलमा देखिएन । हुलदंगा नियन्त्रण गर्ने सशस्त्रको सातदोबाटोस्थित दक्षिणकाली गण हो, मद्दती फौजसहित पुग्नुपर्ने, ऊ गएन । एकीकृत समाजवादीका एक नेता प्रश्न गर्छन्, ‘त्यो कसको मातहत छ ? घटना हुँदा जावलाखेल अफिसमै घाम तापेर बस्ने डिएसपी उमेश लम्साल कसको मातहतका हुन् ?’ 
मन्त्री ज्वालालाई बर्खास्त गर्न अहिले नारायणकाजीले प्रधानमन्त्रीलाई दबाब दिइरहेको बताइन्छ । गोली आफ्नो मातहतका निकायले चलाएका छन्, दोषी यातायात मन्त्री हुनुपर्ने गलत तर्कलाई प्रधानमन्त्रीले स्वीकार गरिसक्नुभएको छैन ।

त्यस दिन त मन्त्री नै मारिन सक्थे, गाडीमात्रै जलाइयो । नजिकै पार्टीको बैठक चलिरहेको थियो, त्यो कार्यक्रमलाई सुरक्षा दिइएको थिएन । मुख्य गेट बन्द नगरेको भए त्यहीँ ठूलो दुर्घटना हुनसक्थ्यो । बाहिर गोली चलाउनु नपर्ने अवस्थामा गोली चलाइएको थियो । गाडी फ्लाइओभर बनाइरहेको ठाउँ घेराबन्दीमा परेको छ, गोली निकै पर (आकाशे पुल र बालकुमारी पुलको बीचमा) चलेको छ । गोली चलेपछि भागेको भीडले मन्त्रीको गाडीलाई घेरा हालेको छ र त्यसपछि मात्रै गाडी जलेको छ । मन्त्री ज्वालाले पार्टी बैठकमा भनेका छन्, ‘म आफ्नो सेड्युलअनुसार जानुपर्ने भएको कारण गएँ, दुर्घटना भयो । भर्खरै त्यही बाटो जानुभएकी राज्यमन्त्री नन्दा चपाइँलाई सोधेँ, ठीकै छ भन्नुभयो । यदि भीडसँग सवाल जवाफ गरेर बसेको भए म पनि मारिन सक्थेँ ।’ भनेका छन्, ‘यदि मेरो गल्ती हो भने पार्टीले गर्ने कारवाही भोग्न तयार छु ।’ पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीसँग कुराकानी गरेर प्रतिवेदन अध्ययन गर्नुपर्ने हो भने धेरै दिन लम्ब्याउन भएन भनी फोनमा कुरा गर्नुभएको थियो । भन्नुभएको थियो, ‘संसद र बाहिर पनि कुरा उठिरहेको छ । प्रतिपक्षीले मसला बनाइरहेको छ । मसला बनाउनुपर्ने विषय हो कि होइन ?’ 

पार्टी नेताहरूको भनाइ छ, ‘गाडी जल्ने र गोली चल्ने परिस्थिति भिन्दाभिन्दै समयमा भएको छ । प्रतिवेदन सार्वजनिक गरिदिए सबैले पढ्थे, बुझ्थे । गल्ती गृह प्रशासनबाट भएको छ । बदनाम र तनाव एकीकृत समाजवादीले बोक्नुपरेको छ ।’यदि प्रकाश ज्वालाको हकमा काल पल्कियो भने एकीकृत समाजवादीका निम्ति खतरा अर्कातिर पनि छ । सोही पार्टीका उपाध्यक्ष बेदुराम भुसालले नेतृत्व गरेको कृषि मन्त्रालयले दुग्ध किसानको भुक्तानी नदिएको विषयमा संसद र सडकमा कुरा उठिरहेको छ । दूध उत्पादक कृषकहरू सडक आन्दोलनमा जाने चेतावनी दिइरहेका छन् । मानौं, उनीहरू सडकमा गए । गोली चल्यो । किसान मारिए । यसपछि कृषि मन्त्रीले भुक्तानी नदिनु मुख्य दोष हो भनेर गोली चलाउन लगाउने गृह प्रशासन फेरि पनि चोख्खिने ? हो, मन्त्रालयले कृषकलाई चार–पाँच अर्ब दिनुपर्ने छ । अर्थमन्त्री प्रकाशशरण महतले पैसा निकासा नगर्दा दोषी को हुन्छ ? 

एकीकृत समाजवादीले मन्त्रीहरूको यो टिमलाई एक वर्षका लागि पठाएको हो । तर, यो कुरालाई कांग्रेसले सहजतापूर्वक लिएको देखिन्न । एकीकृत समाजवादीले मन्त्री फेर्दा उसले पनि फेर्नुपर्ने हुन्छ । त्यहाँ पनि मारामार छ । कांग्रेस बजेट ल्याउने मुखमा कहाँ मन्त्री हेरफेर गर्ने भन्दैछ ।
उता, प्रधानमन्त्री प्रचण्ड भने एमालेसँग निरन्तर संवादमा हुनुहुन्छ । एमालेको बैठकमा पनि त्यहीअनुसार ओलीले बोल्नुभएको छ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समेत ओलीसँग भएको कुरा शेयर गरेका छन् । ओलीले ‘वाम गठबन्धन, तालमेल हुन्छ, जे हुन्छ, समयमा हुन्छ, चूपचाप लागेर बस्नु’ भन्नुभएको कुरा पृथ्वीसुब्बाले सुनाएका छन् । 

नारायणकाजीले पनि सत्ता गठबन्धनको भविष्य रहने, नरहने कुरा कांग्रेसले भन्नुपर्छ भन्नुको अर्थ कांग्रेसले अलिकति धोका दियो भने हामी एमालेसँग जान्छौं भनेको त हैन ? कांग्रेस नेताबीच चर्चा छ ।

टिप्पणीहरू