रानी साहेबलाई बोत्तलको रहर

रानी साहेबलाई बोत्तलको रहर
सुन्नुहोस्

रानी सा’बको मन पग्लियो १३ कार्टुन ‘सगुन’ ले ! कार्यकालभरि त्यति धेरै विवादमा नमुछिएका प्रधानसेनापति प्रभुराम शर्मालाई १३ कार्टुन काण्डले बदनाम गर्ने खतरा छ ।

लामो समय एउटै पोष्टिङमा बसेको अफिसरलाई फिर्ता गर्ने र नयाँलाई पठाउने भनी स्याबासी कमाएका प्रधानसेनापतिले युद्धकवच गण, (१७ बाहिनी)का एक जना मेजरलाई मिशनमा समय थपिदिएपछि चित्त दुखाउनेहरू विदेशमा फेला परेका छन् । विष्फोटक पदार्थ ओछ्याइएका बाटो पार गर्ने सवारी साधन मेकानाइज्डको निम्ति आवश्यक पर्ने भन्दै कंगोको मिशन अवधि पूरा गरेपछि उनलाई म्याद थपेर पठाइएको हो । काठमाडौं उत्रिने पहिलो जहाजमा १३ कार्टुन ह्विस्कीका बोटलसहित आए । दिनभरिमा म्याद थपको चिठी बनाएर रोटेशन उडानबाट फर्किए ! प्रधानसेनापतिसँग हैन, उनकी पत्नी, अर्थात् रानी सा’बसँग ती मेजरको सीतापाइला, रामकोटतिर छिमेकी सम्बन्धका कारण त्यस्तो भएको भनिँदै छ ।

प्रभुरामभन्दा पहिलाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सैन्य संरचनालाई पृतनाबाट कमाण्डमा लैजाँदा भद्रगोल भएको थियो । शर्माले कमाण्ड खारेज गरी फेरि पृतनाकै अभ्यास गरे । उक्त कदमलाई सेनाभित्र ‘राम्रो’ भनियो । दशैंमा प्रधानसेनापति निवास शशी भवनमा ‘प्रसाद’ स्वरुप भेँडा, च्यांग्रा र खसीको बथान जम्मा गर्ने प्रचलनलाई पूर्णचन्द्रले कम्बल ओढेर घ्यू खाने शैलीमा रोकमात्र लगाएनन्, लिएर जानेलाई कारवाही नै गरे । तर, नाइँ भन्न नसक्ने स्वभावका प्रभुराम आएपछि दशैंको शशीभवन फेरि भेँडाका बथानले ‘भ्याँ–भ्याँ’ गर्ने अवस्थामा पुग्यो । यसरी सेनाभित्र एउटा नेतृत्वले शुरु गरेको काम अर्कोले खारेज गर्ने होडबाजी चल्दा थुप्रै भद्रगोल निम्तिएका छन् । 

प्रधानसेनापति प्रभुराम आउने भदौबाट अवकाश हुँदै छन्, त्यसनिम्ति साउनदेखि बिदा बस्ने परम्परा छ । त्यसपछि अशोक सिग्देल प्रधानसेनापति हुने हुँदा यसै साता फुली थपेका अनुपजंग थापाबाहेक सुनिल श्रेष्ठ र प्रकाश देउजा उमेरहद लागेर दुई तारे जर्नेलमै घर जान्छन् । बीचमा बाबुराम श्रेष्ठ तीनतारेमा उक्लिने छन् । उनलाई पूर्णचन्द्रले बढुवा रोकेर सिध्याउन खोजेका थिए । तर, यिनका हकमा बदला र पूर्वाग्रहपूर्ण कारबाही बरदान सावित भयो । यदि पूर्णचन्द्रले त्यसो नगरेको भए एक वर्षअगाडि नै बढुवा हुन्थ्यो । उनी मात्र हैन, पूर्णचन्द्रको पालामा धेरै जर्नेललाई अनेक काण्ड लगाई घर पठाइयो । अहिले भने घर जाने मुखमा मानार्थ र विशेष बढुवाको बाढी चलाइएको छ । त्यसो त निजामती र प्रहरीतर्फ पनि सक्नेका लागि यो चलन मज्जैले चलिरहेको पाइन्छ । 

सेनाप्रति घट्दो आकर्षणको एउटा कारण हो, शान्ति मिशनमा कटौती हुनु । सुडानपछि भर्खरै माली मिशन घटेको छ । त्यही कारण जागिर छाड्नेहरूको संख्या बढेको बताइन्छ । २० वर्षको उमेरमा जागिर खाएको सेनाले १६ वर्षमा अवकास जान पाए ३६ वर्षको उमेरमा विदेशमा अर्को जागिर थाल्न पाउँछ । दुबई पुलिसमा ३८ वर्षभित्र छिर्न पाइने व्यवस्था छ । विश्वका अरु मुलुकमा पनि ४० वर्षभित्रकालाई जागिरको सुविधा छ । सेनामा ०६० सालपछि भर्ना भएकाले योगदानमा आधारित पेन्सन पाउने व्यवस्था तत्कालीन अर्थमन्त्री रामशरण महतले गरेका थिए । 

प्रभुरामको कार्यकालमा नमिलेको अर्को कुरा हो, शान्ति सेना र विभिन्न कोर्षमा पालोको टुंगो नहुनु । पहिला यतिबेला मेरो पालो आउँछ भनेर सैनिक अधिकृतहरू ढुक्क हुन्थे । अहिले युनिट कमाण्डरले मन परेको भरमा जुनसुकै बेला पठाउन र नपठाउन पाउने भएको छ । बरु, काण्ड, कारवाही पहिलाजस्तो चर्को छैन । सकेसम्म मिलाउने गरी कारबाही हुने गरेका छन् । 
 

टिप्पणीहरू