कस्तो चलन चलाए नि कमरेडले ?

कस्तो चलन चलाए नि कमरेडले ?
सुन्नुहोस्

धुमधडाकाका साथ जन्मदिन मनाउने संस्कारलाई सामन्तवादको नक्कल भन्ने कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठकबाट औपचारिक निर्देशन भयो – भोलि ३ बजे अध्यक्षको जन्मदिन मनाउन पार्टी कार्यालयमा उपस्थित हुनुहोला । देशकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीको जन्मदिन भव्य बनाउन यस्तो निर्देशन दिएका हुन् ।

७० वर्षे उमेरहद तोक्ने पार्टी विधानको व्यवस्था आफू अनुकूल व्याख्या गराएर सौराहा महाधिवेशनबाट दोस्रोचोटी अध्यक्ष चुनिनुभएका ओली ७२ वर्ष पुग्नुभयो । संयोग कस्तो भने, अघिल्लो दिन शुक्रबार केन्द्रीय समिति बैठकको समापन पर्‍यो । त्यसैको मौका छोप्दै महासचिवले अध्यक्षको जन्मदिन मनाउन नेताहरूलाई औपचारिक निम्तो दिए । सोहीबमोजिम केन्द्रीय कार्यालयको व्यवस्थापनमा पार्टी मुख्यालय च्यासलमा शनिबार ‘बर्थ डे’ कार्यक्रम आयोजना गरियो । त्यहाँ पुगेका केन्द्रीय सदस्यहरूलाई कार्यालयले नै फूल उपलब्ध गराएको थियो । उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकरलगायतले त्यही फूल हातमा राखिदिएर अध्यक्षलाई शुभकामना दिए । 

जन्मदिन मनाउनुलाई नै सामन्तवादी संस्कृति ठान्ने कम्युनिष्टहरूले केक काट्ने कल्पनासमेत गरिंदैन । तर, कार्यकर्तामाझ ‘बा’ भनिन रुचाउनुहुने अध्यक्ष ओलीको हकमा भने कम्युनिष्ट संस्कृति अपवाद बन्ने गरेको छ ।

२०७७ सालमा प्रधानमन्त्री हुँदा जन्मभूमि तेह्रथुम पुगेर ओलीले नेपालको नक्सा अंकित केक काटी ६९ औँ जन्मदिन मनाउनुभएको थियो । त्यसबेला हेलिकोप्टर चार्टर गरेर केक ओसारिएको विषय चर्चासँगै चर्को आलोचनामा परेको थियो । त्यस्तै, सरकारी निवास बालुवाटारमा राजा–महाराजाको शैलीमा जन्मदिन मनाएको भन्दै धेरैले विरोधसमेत गरेका थिए ।

यसपटक पनि ओलीको जन्मदिन राजा–महाराजाको शैलीमा नाचगान गरेर मनाइएको छ । केन्द्रीय कार्यालयमा औपचारिक कार्यक्रम गरिनुसम्म ठीकै मान्न सकिएला । तर, साँझ बालकोटमा ‘बर्थ डे’ पार्टी आयोजना गरिएको बताउँदै केही नेताले असन्तुष्टि जनाएका छन् । राजाको जन्मोत्सवमा नर्तकीहरूले नाचेको शैलीमा केही युवतीले नाचगान गरेको भिडियो बाहिर आएको छ । त्यहाँ ‘बा’ भनेपछि हुरुक्कै हुने युवाको उपस्थिति देखिन्छ ।

नेताहरू भानुभक्त ढकाल, युवासंघका अध्यक्ष किरण पौडेललगायत पनि बालकोट पुगेका थिए । दिउँसो बाध्यताले च्यासल पुगेका एक जना सचिवले कटाक्ष गर्दै भने, ‘केटीहरू छमछमी नाचेको कति मन परेका हाम्रा बा लाई !’

 

टिप्पणीहरू