नबिकेको दूध बेच्न अनेक उपाय

नबिकेको दूध बेच्न अनेक उपाय
सुन्नुहोस्

चितवनमा दूध उत्पादनको अवस्था राम्रो छ तर उत्पादित दूधको खपत राम्रो भएन, जसकारण यस क्षेत्रका कृषक र व्यवसायीहरुले नोक्सानी बेहोर्नुपरिरहेको बताइन्छ । उत्पादन भएजति दूध नबिकेर बाटोमै पोखिएको स्थिति छ । हालै केही अघिमात्र चितवनका दुग्ध उत्पादक कृषक तथा व्यवसायीहरुले सडकमा दूध खन्याएर दुःख पोखेका थिए ।    

चितवनमा अहिले दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन भइरहेकोमा दिनकै ६० हजार लिटर दूध नबिकेर खेर गइरहेको चितवन जिल्ला दुग्ध उत्पादक कृषि सहकारी संघका अध्यक्ष किशोर बगाले बताउँछन् । ‘प्रतिदिन ५० लाखको नोक्सान छ’, उनले भने ।  किसानले गत भदौदेखि दूधको भुक्तानीसमेत नपाएको गुनासो छ । भनिन्छ, ५२ करोड रुपैयाँ भुक्तानी बाँकी छ । 

दूधको आन्तरिक खपत बढाउन यतिबेला उनीहरुले शिक्षक, कर्मचारी, सुरक्षानिकाय, होटलव्यवसायी, सञ्चारकर्मी लगायतलाई गुहारेका छन् । विद्यालयमा विद्यार्थीलाई नियमित दूध पिउन अभिप्रेरित गरिदिन शिक्षकहरुलाई आग्रह गरिएको छ । विद्यार्थीहरुको दिवा खाजामा पनि दूध र दहीलाई समेट्न भनिएको छ ।

प्रहरी तथा आर्मी ब्यारेकहरुमा दूध एवम् दुग्धजन्य पदार्थको उपभोग बढाइदिन ती सुरक्षा निकायका प्रमुखलाई पनि उनीहरुले अनुरोध गरेका छन् । सरकारी हाकिम, कर्मचारी, डाक्टर तथा ठूलाबडाले खाना–खाजा खाने ठाउँमा एक गिलास दूध पनि मागेर खाइदिने हो भने अरुले पनि देखासिकी गर्दै दूध पिउन थाल्ने अध्यक्ष बगाले बताउँछन् । कार्यालयहरुमा खाजा खाँदा होस् वा अफिसियली कार्यक्रमहरुमा खाना–खाजामा दूध र दुग्धजन्य पदार्थ समावेश गरिदिन आग्रह गरिएको छ । मायाको चिनोमा पनि चितवनको पनिर, घिउ आदि दिन सकिने उपाय उनीहरुले सुझाएका छन् । 

‘जिल्लाका होटलमा जानेबित्तिकै ग्राहकलाई एक गिलास मोहीले स्वागत किन नगर्ने ? खानाको सेटमा अलिकति भएपनि दही किन नराख्ने ?’ अध्यक्ष बगालेले भने, ‘होटलहरुमा खाना सर्भ गर्दा घिउलाई पनि प्रायोरिटीमा राखिदिन अनुरोध गर्छाैं ।’ अब गर्मीमा कोक, फेन्टाको सट्टा मोही र लस्सीको उपभोग बढाइदिन सम्पूर्णमा उनीहरुको आग्रह छ ।  

‘दुग्धजन्य पदार्थ उत्पादक र व्यवसायीहरुमा देखिएका समस्या र समाधान सम्बन्धी’ हिजो जिल्ला समन्वय समिति चितवनमा आयोजित कार्यक्रममा सहभागीहरुलाई दूधकै चिया, ४० रुपैयाँ पर्ने ‘भेनिला लस्सी’ र खिर खाजा दिइएको थियो । ‘खपत बढाउनु पर्‍या छ, स्वास्थ्यका लागि चाहिने पनि हो’, अध्यक्ष बगालेले भने । 

दूधबाट चकलेट बनाउने कारखाना पनि दीर्घकालीन उपाय होला ¤ अहिले तत्काल दूधको खपत बढाउन सहयोगको उपेक्षा गरिएको केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष भागीरथ तिमिल्सिना बताउँछन् । परिस्थिति र आवश्यकता हेरी एकले अर्कोलाई सहयोग गर्नुपर्ने जिल्ला समन्वय समितिका अध्यक्ष नारायणप्रसाद अधिकारीको भनाइ छ ।          

हिजोआज पशुलाई दिइने विभिन्न हार्माेन, एन्टियोबायोटिक र भिटामिनको असरले दूधको गुणस्तर पनि राम्रो नहुने भन्दै कतिपयले दूध पिउनै छोडिरहेको अवस्थामा उद्योगमा परीक्षण तथा स्टान्डर्ड कायम गरेर लेबलसहित बिक्रीवितरण गरिनेमात्र नभई चितवनतिर प्लाष्टिकमा त्यसै रबरले बाँधेर पोको बनाउँदै पनि दूध र दुग्धजन्य पदार्थहरु खुलेआम बिक्रीवितरण गर्ने गरिएको छ । किसानहरुले घुमिफिरी खुला रुपमा दूध बेच्न पाउने निर्देशिका रहेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले उद्योगीले समेत त्यसरी खुला रुपमा दूध बेच्ने गरेको जानकारीमा आएको बताए ।

स्थानीय उत्पादन प्रवद्र्धनका लागि प्रमुख जिल्ला अधिकारीको हैसियतमा आफूले सक्दो सहयोग गर्ने सिडिओ भूपेन्द्र थापाले बताएका छन् । दूध तथा दुग्धजन्य पदार्थको उपभोग बढाउन अरु कार्यालयका प्रमुखलाई पनि आफूले सहयोगका लागि भन्ने उनले बताए । उद्योगीहरुले जहिलेपनि मागको ख्याल गरेर उत्पादन गर्नुपर्ने तथा क्वालिटी, क्वान्टिटी, समय र मूल्यलाई विशेष ध्यान दिएर बजारीकरण गर्नुपर्ने बताउँदै सिडिओले तत्काल बिक्री नभएको दूधबाट खुवा, पेडा लगायतका परिकार बनाउनेतिर लाग्न सुझाए । 

पूर्वतिर दूध र दुग्धजन्य पदार्थको बजार अत्यन्त राम्रो रहेको, बाहिरका मान्छेले समेत उता जाँदा २–४ किलो पेडा लगायत दूधका मिठाइ किनेर ल्याउने गरेको भन्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले दूधको खपत बढाउन त्यस्तै बजार यहाँ पनि बसाउन सकिने धारणा राखे । उनले भने, ‘चितवन नेपालकै केन्द्र पनि हो ।’ सहकारीहरुको आफ्नै डिपो भएमा बजारको पडक किसानकै हातमा हुनसक्ने चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेको भनाइ छ ।

चितवनमा ६÷७ वटा डेरीमा उद्योग स्थापना भएको बताइन्छ । गंगा ब्राण्डबाट दुग्धजन्य पदार्थ बजारमा पु¥याइरहेको गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले शक्तिखोर ब्यारेक, कसरा ब्यारेक र भरतपुर ब्यारेकमा ठेकेदारमार्फत् भएपनि पु¥याउन सफल भएको बताए । दही, पनिर, बटर, खुवा, पेडा आफूहरुले उत्पादन गरिरहेको भन्दै उनले सभा, सम्मेलन र गोष्ठीहरुमा अर्डर समेत अनुसार पु¥याउन सकिने जनाए । ‘गोरखा बजार र गोरखा ब्यारेकमा पनि पुर्‍याउँदैछौं,’ उनले भने ।  

सहकारीमा उद्योग सञ्चालनका लागि मेसिन किनिएको तर किसानहरुले दूधमा मनलाग्दी पानी मिसाएर ल्याउने हुँदा उत्पादन राम्रो नभएको, क्वालिटीमा असर परिरहेको बताउँदै पिठूवा दुग्ध उत्पादक सहकारी संस्थाबाट आएका प्रतिनिधिले भने ‘रबरले बाँधिएको ‘टुप्पी दूध’ नै चल्छ भने हामीले किन खर्च गरेर प्याकिङ गर्ने ?’ 

चितवन मिल्क लिमिटेडमा अहिले सहकारीहरुबाट लिएको एक करोड ३० लाख लिटर दूधलाई पाउडरमा कन्भर्ट गरेर राखिएको बताइएको छ । ठूलो गोदाम नहुँदा समस्या भएको र त्यसलाई व्यवस्थित गर्न लागिएको उक्त उद्योग बताउँछ । 

बाहिरबाट आएका गुणस्तरहीन पाउडरदूध यहाँका सुपरमार्केटहरुमासमेत धमाधम बिक्रीवितरण भइरहेको भन्दै कडाइकासाथ अनुगमन हुनुपर्ने बताइएको छ । अहिले दुग्ध उद्योगहरुले थोरै स्टक भएर पनि धेरै स्टक छ भनी आतंक सिर्जना गरिरहेको भन्दै यसतर्फ पनि कडा अनुगमन हुनुपर्ने सरोकारवाला बताउँछन् ।

     
    
 

टिप्पणीहरू