बिदा हुने बेला हाकिममाथि बबाल

बिदा हुने बेला हाकिममाथि बबाल
सुन्नुहोस्

प्रायः लमजुङबाट सरुवा भई जाने कार्यालय प्रमुखहरूलाई दिइने साझा उपहार हो भगवान गौतम बुद्धको मूर्ति । जिल्ला प्रशासन कार्यालय परिसरभित्र प्रजिअले बुद्धको मूर्ति र अरु कार्यालय प्रमुखले मायाको चिनो दिने । माघ २४ गते राष्ट्रिय अनुसन्धानका प्रमुख धीरज बानियाँलाई पनि उसै गरी बिदाइ गरियो ।

बुद्धको मूर्ति बोक्दै २५ गते कुम्लो कसेर गाडी चढ्न ठिक्क परेका उनलाई फोन आयो– तपाईंंको बारे अनुसन्धान गर्नुपर्ने देखियो, जहाँ हुनुहुन्छ त्यहीँ रोकिनु । सबैसँग बिदा भइसकेका बानियाँ शीतांग भए । गाडीबाट सामान निकाल्नुपर्‍यो  । भर्खरै आएका प्रजिअ उमाकान्त अधिकारीले पनि चित खाए । अनुसन्धान अधिकारीमाथि नै अनुसन्धान गर्नुपर्ने, त्यसमा पनि घोटाला काण्डको । 

खासै काम नहुने सरकारी अड्डाका रूपमा परिचित गुप्तचरको लमजुङमा बडेमानको भवन छ । आधा दर्जन पनि कर्मचारी नभएको सो कार्यालयमा १३ वर्षदेखि रजगज छ लेखापाल भोजबहादुर राना मगरको । पछिल्ला दिनमा राना र बानियाँबीच खासै राम्रो मिल्ती नभएपछि एउटा समाचार बाहिरियो– नक्कली घर भाडाको । आफ्नै भवन छ । त्यसमा पनि केही कर्मचारी प्रशासन कार्यालयको आवासमा बस्दै आएका छन् । स्वास्थ्यले खासै साथ नदिएका युवराज कुमालजस्ता तल्लो तहका कर्मचारी आफ्नै खर्चमा कोठा भाडामा बसेका छन् । तर, हाकिम बानियाँले मासिक ७ हजार र ५ हजारका दरले बेसीशहर–८ र राइनास नगरपालिका –४ मा कोठा भाडाको सम्झौता बनाई रकम खाएको समाचार आयो ।

०८० साउनदेखि ०८१ असार मसान्तसम्म कोठा भाडामा लिइएको भनिए पनि अनुसन्धानका कुनै कर्मचारी नबसेको र घरबेटीसँग मिलाएर रकम खाएको खुलेपछि अबिर माला र मायाको चिनो बोकेर बरफबाग, सिंहदरबार छिर्न लागेका बानियाँ छानबिनमा तानिए । प्रदेश कार्यालय पोखराबाट खटिएका एक अनुसन्धान अधिकृतका अनुसार ०८१ साउनसम्मको घर भाडा सम्झौता गरिए पनि बानियाँको हातमा पुससम्मको रकम ६४ हजार ८ सय मात्र परेको छ । बेंसीशहरको कोठाबाट करकट्टा गरी ६ महिनाको ३७ हजार ८ सय र राइनास नपाको कोठाको २७ हजार लिएको र सम्झौता भने मंसिर २१ गते मात्रै गरिएको देखिन्छ । 

नौ महिनाअघि लमजुङ आएका बानियाँ कम चतुरो त थिएनन् तर आफ्नै कर्मचारी दुश्मन निस्केपछि चतु¥याइँ पर्दाफास भयो । बानियाँले बेसीशहरका घरधनी चन्द्रबहादुर अधिकारीको रा.बा. बैँक खाता नं. ३०४०१०००२४९४७०१० र अर्का घरधनी राइनास नपाका टसबहादुर गुरुङको सिटिजन्स बैँकको खाता नं. ०८७०१०००००५१४०४५ मा रकम जम्मा गरेको देखिन्छ । घरधनीकै खातामा रकम जम्मा भए पनि केही कमिसन दिएर  आफैं उठाएको रहस्य रानाबाट पर्दाफास भएको अनुसन्धानका क्रममा खुलेको छ ।

१३ वर्षदेखि लमजुङमै बसेका राअका लेखापाल (असई) रानाले विगतमा बेनपा–२ भकुण्डेतिर आफन्तकोमा कोठा भाडामा लिएको भन्दै रकम खाने गरेको, कार्यालय नजिकैको मेडिकलबाट फर्जी बिल बनाएर रकम असुली मात्रै नभई रासन पसललाई समेत बिल बढाएर बनाउन लगाई असुली गर्ने गरेको रहस्य खुलेको छ । फागुन ८ गते ११ बजे प्रदेश कार्यालय पोखरा पुगेका उनै रानाको खाईपाई आएको दुई ग्रेड घटाइएको खबर छ । उनी पोखरा तानिएका छन् भने लमजुङ फर्कन पावर एक्ससाइज गरेको भन्ने छ ।

सईको लाइनमा भएका राना असईमै बिदा हुनसक्ने देखिन्छ भने एसपीको सपना देखेका बानियाँलाई यसै काण्डले माथिको बाटो छेकिने उस्तै सम्भावना छ । बानियाँको सरुवापछि यो कार्यालयमा तनहुँका विष्णु पण्डित प्रमुख र विष्णु अधिकारी सई छन् । राना पनि फर्किएपछि तीन जना नै तनहुँका भए ।
 

टिप्पणीहरू