बिचौलिया भट्टहरूको अर्को ठूलो बदमासी

बिचौलिया भट्टहरूको अर्को ठूलो बदमासी
सुन्नुहोस्

स्रोत नखुलेको ४५ करोड रूपैयाँ हिमालयन रिइन्स्योरेन्समा लगानी गरेका बिचौलिया दीपक भट्टहरूले रचेको अर्को नयाँ खेल हाललाई रोकिएको छ । पुनर्बिमा कम्पनीको पुँजी वृद्धि गर्ने बिमा प्राधिकरण बोर्डको विवादास्पद निर्णयमा टेकेर हिमालयन रिको हकप्रद सेयर जारी गर्न खोजिएकोमा हाललाई बिराम लागेको छ ।

बिमा प्राधिकरणले पुनर्बिमा कम्पनीको पुँजी बढाएर २० अर्ब रूपैयाँ पुर्‍याउने निर्णय गरेको थियो । उक्त निर्णयसमेत भट्टहरूको लगानी रहेको हिमालयन रिका मुख्य हर्ताकर्ताको योजनामा बनाइएको तथ्य खुलेको छ । बिना आधार पुँजीवृद्धि गर्न लागिएकोमा चौतर्फी विरोध भएपछि अर्थ मन्त्रालय प्राधिकरणलाई निर्देशन दिन बाध्य भएको बताइन्छ ।

बोर्डका अध्यक्ष सूर्य सिलवालको निर्देशनमा पुनर्बिमासम्बन्धी दुई वटै कम्पनीको पुँजी वृद्धिको निम्ति १५ दिनको समय दिएर क्यापिटल प्लान मागिएको थियो । जबकि सोही प्राधिकरणले करिब वर्ष दिनअघि मात्रै दोस्रो पुनर्बिमा कम्पनी हिमालयन रिलाई १० अर्ब रूपैयाँ चुक्ता पुँजी कायम गरेर इजाजतपत्र दिएको थियो । लगत्तै कम्पनीले सर्वसाधारण सेयर जारी गर्‍यो । दुई वर्ष पनि नपुग्दै १० अर्ब पुँजीलाई बढाएर २० अर्ब पुर्‍याउने र सर्वसाधारणमा भार थपेर आफूहरू मस्ति गर्ने मार्गमा हिमालयन रिका ठूला लगानीकर्ता भट्टलगायत तम्सिएका थिए ।

उक्त कम्पनीको पुँजी वृद्धि गर्दा नेपाल रिमा सरकारले समेत करिव पाँच अर्ब रूपैयाँ हकप्रद सेयरबापत जम्मा गर्नुपर्ने हुन्छ । सरकारलाई राजश्व आम्दानीमा अप्ठेरो परेको बेला पाँच अर्ब फलामको चिउरा हुने भएपछि अर्थ मन्त्रालय बोर्डको उक्त निर्णयप्रति उग्र भएको बताइन्छ । बिना अध्ययन चुक्ता पुँजी वृद्धि गर्नुको कुनै औचित्य नभएको जनाउँदै मन्त्रालयले बोर्डलाई निर्णय सच्चाउन निर्देशन दिएको थियो । 

हिमालयन रिले सञ्चालक समितिबाट रातारात निर्णय गराएर सेयरको दोस्रो बजारको मूल्यमा असर पुर्‍याउने गरी ८० प्रतिशत हकप्रद सेयर जारी गर्न खोजेको थियो । उक्त घोषणा प्राधिकरणबाट स्वीकृति नै नलिई गरेको तथ्य पनि खुलेको छ । 

विगतमा विवादास्पद तवरले लाइसेन्स हत्याइएको हिमालयन रिइन्स्योरेन्समा भट्टको एकल स्वामित्वको इन्फिनिटी होल्डिङ्सको ४५ करोड रूपैयाँको स्रोत शंकास्पद छ । शंकर अग्रवालको जगदम्बा स्टिल्स कम्पनीको ओभरड्राफ्ट कम्पनीको खाताबाट एक घण्टाको लागि लिइएको उक्त रकमलाई लगानी रकम देखाइएको छ । तर, एकाध घण्टामै उनले सो रकम अग्रवाललाई फिर्ता गरेको बताइन्छ । उक्त रकम अग्रवालले दिनुपर्ने र भट्टले लिनुपर्ने कुनै कारण नभएको अनुसन्धानबाट खुलेको छ । त्योसहित भट्टले अन्यत्रसमेत लगानी गरेको साढे ६७ करोडको फिट एण्ड प्रपर टेष्ट हालसम्म भएको छैन ।

हिमालयन रिमा धेरै रकम लगानी गर्ने व्यक्ति र कम्पनीको संख्या ३० छ । पछिल्लो विवरणअनुसार कम्पनीका ३० ठूला लगानीकर्तामध्ये आठ व्यक्तिगत र २२ संस्थागत हुन् । लगानीको हिसाबले एक नम्बरमा एम्बर प्रोभेष्टमेन्ट छ । एम्बरको ९.६९ प्रतिशत सेयर हिस्सा छ भने नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको समान ७.१४ प्रतिशत छ । भट्ट हर्ताकर्ता रहेको इन्फिनिटी होल्डिङ्सको ६.४३ प्रतिशत सेयर स्वामित्व रहेको देखिन्छ ।

जगदम्बा मोटर्सको ४.५७ प्रतिशत, जगदम्बा स्टिल्स र विकास दुगडको ३.१४ प्रतिशत सेयर स्वामित्व छ । जगदम्बा सबै अग्रवालका कम्पनी हुन् ।त्यसैगरी, हंसराज हुलासचन्द र सफ्रोन सिके इन्भेष्टमेन्टको समान २.८६ प्रतिशत, आर एमसी कन्स्ट्रक्सन एण्ड इन्भेष्टमेन्ट र शशीकान्त अग्रवालको समान २.१४ प्रतिशत सेयर हिस्सा छ ।
 

टिप्पणीहरू