राजनीतिमा त्यो रात देखिएको यो रमिता

राजनीतिमा त्यो रात देखिएको यो रमिता
सुन्नुहोस्

एक साताअघि मात्रै एमाले महासचिव शंकर पोखरेलले वाम एकताको सम्भावना इन्कार गर्दै भनेका थिए– ‘माओवादी केन्द्रसँग सहकार्यको कुनै सम्भावना छैन ।’ वाम गठबन्धनको आवश्यकता र औचित्यसमेत नरहेको दाबी गर्ने उनै पोखरेल त्यसको चार दिनपछि आइतबार साँझ नयाँ गठबन्धन बनाउने सूत्रधारका रुपमा प्रकट भए, प्रधानमन्त्री निवास बालुवाटारमा । 

भरतपुर मेलाको उद्घाटनदेखि अन्तिम घडीसम्म प्रचण्ड ढुक्क नहुनुको कारण एमाले–माओवादी सहकार्यको तीतो विगत नै हो । तत्कालीन कांग्रेस सभापति स्वर्गीय सुशील कोइरालाले पूर्वसहमति तोडेर एमालेलाई सत्ता हस्तान्तरण गर्न अस्वीकार गरेपछि विकसित परिस्थितिमा एमाले र माओवादीबीच नौ–नौ महिना सरकारको नेतृत्व गर्ने समझदारीसहित बनेको गठबन्धन ओलीकै कारण टुटेको माओवादी नेताहरूको गुनासो रहँदै आएको छ । त्यसबेला एमालेमै रहेका माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमसमेतलाई राखेर गरेको सहमति ओलीले ‘हुँदै होइन’ भनेपछि सहकार्य टुटेको अहिले पनि नेताहरू बताउने गर्छन् । 

एमालेबाट विष्णु पौडेल र माओवादीबाट जनार्दन शर्मालाई साक्षी–किनारमा राखेर गरेको आलोपालो प्रधानमन्त्रीको समझदारी कार्यान्वयन नहुँदाको राजनीतिक क्षति अहिले पनि वाम आन्दोलनले व्यहोरिरहेको छ । गत वर्ष पुस १० मा बनेको गठबन्धन पनि आपसी अविश्वासकै कारण टिक्न सकेन । ‘एमालेले संसद विघटनको पक्षमा नबोल्ने र माओवादीले प्रतिगमन नभन्ने’ भद्र सहमतिविपरीत ओलीले संसदको रोस्ट्रमबाटै विघटनको पक्षमा घण्टौँ लामो भाषण गरेपछि गठबन्धन भत्किएको दुबैतिरका नेता बताउँछन् । ‘विगतका यी घटनाले अहिले पनि प्रचण्डमा एक प्रकारको सन्देह देखिन्छ । त्यसलाई मेट्न शंकरलाई खटाइएको होला !’, एमाले नेता बताउँछन् । 

यता, गत वर्ष अप्रत्यासित रुपमा बनेको गठबन्धन तत्कालै टुटेपछि पुनः जोड्ने प्रयासमा थिए, विष्णु र वर्षमान । राष्ट्रियसभा चुनावमा कोशी प्रदेशको परिणामपछि यी दुई थप सक्रिय भए । कांग्रेसको महासमिति बैठकले टुटेको कडी जोड्न मलजलको काम गर्‍यो ​​​​​​ । महासमिति बैठकले पारित गरेको महामन्त्री गगन थापाको ‘आगामी निर्वाचनमा गठबन्धन नगर्ने’ प्रस्तावलाई माओवादी बैठकले ‘गठबन्धनबाट फाइदा लिने तर सहकार्य गरिन्न पनि भनिरहने’ कुरा स्वीकार्य नहुने मत बनायो ।

माओवादीलाई सबैभन्दा बढी झस्काएको चैं, कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नीति प्रतिवेदनमा उल्लेख जनयुद्धप्रतिको टिप्पणीले हो । कांग्रेस–माओवादी सहकार्यको पक्षमा रहँदै आएका र सभापति शेरबहादुर देउवाका विश्वासपात्र खड्काले नै जनयुद्धलाई अपराधीकरणका रूपमा व्याख्या गरेपछि घटनाक्रम नयाँ ढंगले विकास भएको बताइन्छ । 
 

टिप्पणीहरू