सत्ता राजनीतिमा अझै मडारिँदो संकट
सोमबार दिनभरिका यस्ता थिए संवाद
सत्ता राजनीतिको रंग त ‘छेपारो शैली’ मा बदलियो, तर रंग बदल्नेको ढंग नपुग्दा आपतमाथि आपत आइलाग्यो । नेपाली कांग्रेसले ‘३ वर्ष प्रधानमन्त्री खानुस्, राष्ट्रियसभा अध्यक्ष पनि लानुस्’ भन्दाभन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थामिनुभएन, गठबन्धन तोडेरै छोड्नुभयो । यसो गर्नका निम्ति सघन सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) र उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग एक बचन सल्लाह लिनुभएन । घरी हुन्छ, घरी हुँदैन भन्दै नयाँ गठबन्धनको विषयमा जसपा अध्यक्ष उपेन्द्र यादवसमेत स्पष्टसँग पेश भएनन् ।
यो कुराले सोमबार बिहानैदेखि माधवको मनमा झस्का पस्यो । पूर्वसहमतिअनुसार प्रचण्डपछि एक वर्षका निम्ति माधव प्रधानमन्त्री हुने कुरा थियो । तर, पानी बाराबारको स्थितिका केपी ओलीतिरै प्रचण्ड सत्तासाझेदारी गर्न पुग्नुभयो । यस्तो स्थितिमा पुरानो गठबन्धन भत्किनु, नयाँ गठबन्धनका सन्दर्भमा कुनै सल्लाह नहुनुले माधव र उहाँको पार्टीका नेताहरु माओवादीसँग आक्रोशित रहे । तर, आक्रोशको त्यो पारो रातिसम्म घट्दैघट्दै करिव करिव आधामा पुग्यो । त्यसैले सोमबार मुलुकको राजनीतिले मात्रै रंग फेरेन, त्यो रंग फेराउने पात्रका ढंग पनि त्यही रफ्तारमा बदलिँदै गए ।
बिहानै माधव नेपाललाई प्रचण्डको तर्फबाट नारायणकाजी श्रेष्ठले फोन गरेर ‘तपाईंसँग भेट्छु है’ भनेका थिए । ‘यसो गर्दैछौं, उसो गर्दैछौं, के गरौं, कसो गरौं भन्ने हैन, भेट्छु है भन्नुको के अर्थ छ ?’ भाइरल संक्रमणका कारण रुघा र खोकीले ग्रस्त माधव नेपाल यसो भन्दै एकछिन बम्किनुभयो । ‘तपाईंसहित नै अगाडि बढ्ने हो, पार्टीमा निर्णय पनि गरेका छौं, सल्लाह गरौंला,’ फेरि नारायणकाजीले उही फास्लाङफुस्लुङ पार्ने गरी बोलेपछि माधवले ‘ल–ल कुरा गरौंला’ भन्दै फोन काट्नुभयो ।
‘अब के गर्ने ?’ माधव नेपालसहित एकीकृत समाजवादीका नेता–कार्यकर्ताबीच एकापसमा यस्तोखाले जिज्ञाशा राख्ने क्रम शुरु भयो । बिहान आठ बजेलाई पुरानो सत्ता गठबन्धनको बैठक बालुवाटारमा बोलाइएको थियो । एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष सहभागी हुन नसकेपछि महासचिव घनश्याम भुसाल बालुवाटार पुगे । तर, पुग्दापुग्दै बैठक स्थगित भएको थाहा पाएर सीधै अध्यक्ष निवास कोटेश्वर पुगे । तर, खासै कुरा हुन पाएन । किसान महासंघका महासचिव प्रमेश पोखरेलको विवाहमा जानुपर्नै थियो ।
माधवका सचिवालय हेर्ने केन्द्रीय सदस्य मोहन गौतमसँगै घनश्याम पनि उक्त समारोहमा भाग लिन भनी निस्किए । त्यहाँबाट हिँडेदेखि विवाहबाट फर्किंदासम्म फोनमा घण्टी बज्न छोडेन । यसपछि केही त गर्नुपर्ला, भन्नुपर्ला भनी उनीहरु अध्यक्ष नेपालसँग सल्लाह गर्न कोटेश्वर फर्किए । माधवले दिउँसो ३ बजे त्यहीँ बैठक बोलाउनका निम्ति कार्यालय सचिव जीवनराम श्रेष्ठलाई अह्राउनुभयो । बैठक शुरुमात्रै भएको थियो, फोन आयो । ‘मैले सम्झिराखेको छु । भेटेर कुरा गरौं है’, प्रचण्डले भन्नुभयो । ‘गर्ने कुरा गरिसक्नुभयो, अब सम्झिएर के हुन्छ ?’ माधवको व्यंग्यमिश्रित जवाफ थियो । उहाँले बैठक शुरु गरिसकेको भन्दै पछि कुरा गरौं भन्नुभयो ।
सिद्धान्ततः वाम गठबन्धन, त्यसको नेतृत्वमा सरकार भन्ने कुरा मीठासपूर्ण नै छ । तर, त्यसको अन्तर्य कुरुप प्रकारको भयो भन्ने अधिकांश नेताको धारणा थियो । ‘प्रचण्डलाई चाहिँदा वाम गठबन्धन हुनुपर्ने, नचाहिँदा हामीले पार्टी फुटाएर आइदिनुपर्ने, यस्तो चालाले भोलि कहाँ लगेर डुबाउने हुन्, टुंगो छैन’, एकजना नेताले यस्तो भनेपछि प्रचण्डको चरित्रलाई इंगित गर्दै माधवको भनाइ थियो, ‘शंका र विश्वास दुबै कुरा ठिक्क गरौं, कुनै कुरा बढी नगरौं †’ उहाँको भनाइ थियो, ‘कुनै सल्लाह गरेका छैनन् । फोन गरेका छन् । कुरा गरौं भनेका छन् । उनीहरु साझा सहमति बनाएर सरकार गठन गर्न शीतल निवास जाँदैछन् । हामीसँग चाहिँ कुरा गरौंमात्रै भनेका छन् । यो तरिका त ठीक भएन ।’ यिनै विश्लेषण, संश्लेषणका आधारमा उक्त पार्टीले सरकारबारे ‘पर्ख र हेर’ को नीति तय गर्यो ।
बैठकमा नयाँ गठबन्धनको संख्याबारे चर्चा भयो । एमाले ७७, माओवादी केन्द्र ३२, रास्वपा २१ र जसपा १२ जोड्दा १ सय ४२ मत पुग्छ । त्यसमध्ये जसपाले मधेस सरकारको सुनिश्चिततासहित संघीय सरकारमा आफ्नो भागलाई लिएर अप्ठेरा शर्त अगाडि सारिसकेको थियो । ऊ पूरै बाहिर गयो र १२ सीट गुम्यो भने सरकार अल्पमतमा पर्छ । त्यसमाथि उपेन्द्रको मधेसी फ्याक्टर र अशोक राईहरुको पहाडे फ्याक्टरबीच त्यसै पनि ठाकठुक चलिरहेको छ । पार्टी फुटेर चार–पाँच सीट तलमाथि भयो भने पनि आपत ! त्यसैले यस्तो पार्टीको भरमा गठबन्धन चलाउन मुश्किल पर्ने भएपछि प्रचण्डदेखि केपी ओलीसम्मको आँखा लाग्यो, माधव नेपालतिर ।
यदि एकीकृत समाजवादी र जसपा कांग्रेसतिर मिल्ने हो भने प्रचण्ड सरकारका निम्ति ठूलो नोक्सानी हुने अवस्था छ । त्यसरी गठबन्धन बन्ने गरी घटनाक्रम विकास भयो र रेशम चौधरीको उन्मुक्ति पार्टी पनि त्यसमा सामेल हुने हो भने उतैतिर पल्ला भारी हुँदै थियो । किनभने, रेशमले माधवलाई सोमबार बिहानै फोन गरेर कसरी अगाडि जाने भन्नेबारे सल्लाह मागिरहेका थिए । उपेन्द्र र रेशम निरन्तर माधवको सम्पर्कमा छन् भन्ने सूचना बालुवाटार पुगेर पनि हुनुपर्छ, सोमबार दिउँसोदेखि एकाएक सबै नेताको आँखा माधव नेपालतिर सोझिएको !
माधवको घरमा दिउँसो ३ बजेदेखि बसेको बैठक साढे ४ बजे सकियो । त्यसबीचमा पार्टीसम्बद्ध केही पत्रकारसँग छलफल गरेर माधव आराम गर्न ओछ्यानतिर लागिसक्नुभएको थियो । ढल्किन नपाउँदै फेरि फोन आयो । प्रचण्डले ‘म आउँदैछु’ भनेपछि माधवले कोठाबाटै सुरक्षाकर्मीलाई भन्नुभयो, ‘प्रधानमन्त्री आउँदै हुनुहुन्छ रे, हेर्नुस् है !’ आउँदैछु भनेको ८ देखि १० मीनेटको बीचमा प्रचण्ड माधवको घरमा पुग्नुभयो ।
त्योभन्दा अगाडि नै केपी ओलीले फोन गरेर भन्नुभयो, ‘तपाईंको स्वास्थ्य बुझ्नलाई आउन खोजेको, आउन पाइनँ ।’ माधवले भन्नुभयो, ‘त्यस्तो केही होइन, हल्का रुघा–खोकीमात्रै छ !’ केपीले भन्नुभयो, ‘स्वास्थ्यलाभको कामना गरेँ । अनि, त्यहाँ अहिले प्रचण्ड पुग्दै हुनुहुन्छ, उहाँले भन्ने कुरा मेरो पनि हो है...!’ एक त धेरै लामो समयपछि ओली आफैंले फोन गरेकोमा माधव छक्क पर्नुभयो । त्यसमाथि प्रचण्डको कुरा नै आफ्नो भनेपछि त्यसमा विश्वास गर्ने कि शंका ? दोधारमा पर्नुभयो ।
प्रचण्डमात्रै पुग्नुभएन, नारायणकाजी साथमा हुनुहुन्थ्यो । साथमा गएका अरु सबैलाई बाहिर राखेर उहाँहरु तीनजना मात्रै कुराकानीमा जुट्नुभयो । करिव एक घण्टा छलफल चल्यो । पहिलो १५–२० मीनेट त माधव एक्लैले बोल्नुभयो । उहाँको भनाइको सार थियो, ‘पहिला कुनै सल्लाह गर्नु परेन । जब अप्ठेरो पर्यो, अनि माधव नेपाल चाहियो ?’ माधवका कुरा सुनिसकेपछि नारायणकाजीले भने, ‘कांग्रेसलाई लिएर कतिञ्जेल जान सकिन्थ्यो र ? त्यसैले अब कोर्ष फेरेर जाऔं भनिएको हो ।’ माधवले फेरि पनि विश्वसनीयताको कुरा उठाउनुभयो । ‘ओलीजीसँग मिल्ने, मलाई थाहा पत्तो नदिने ! के ओली पनि कुनै विश्वास गर्न लायकका मान्छे हुन् ? यो कुरा थाहा हुँदाहुँदै तपाईंहरु किन बिना सल्लाह यस्तो काम गर्दै हुनुहुन्छ ?’ माधव यसो भन्दै फेरि बम्किएपछि प्रचण्डले कुरा राख्न थाल्नुभयो । उहाँले सल्लाह गर्न ढिलो भएकोमा क्षमा माग्नुभयो । जे–जति कुरा अन्य दलसँग भएका छन्, ती कुरा नै अन्तिम निश्कर्ष नभएको भन्दै बलियो सरकार बनाउने मूल्यमा अन्य दलसँग भएका सहमति तलमाथि पार्नुपरे त्यसमा पनि सल्लाह गरौं भन्ने उहाँको धारणा थियो ।
दुःखमाथिका दुःख
एकीकृत समाजवादी नयाँ गठबन्धनमा सामेल नहुँदा प्रचण्ड सरकारका निम्ति दुःखमाथि दुःखका भारीमात्रै छन् । साझेदारमध्ये जसपा यसै पनि भरपर्दो रहेन । त्यसमाथि प्रदेश सरकारसम्म साझेदारी गरिने कुरासँग एकीकृत समाजवादीको भूमिका नभई सम्भव छैन । किनभने, राप्रपालाई नयाँ गठबन्धनले ‘प्रथम दृष्टिमै अस्वीकार’ गरिसकेको छ । त्यसैले ऊसँग संघदेखि प्रदेशसम्म सहकार्य नहुने नै भयो । त्यसले कोशी र बागमतीको प्रदेश सरकार बनाउने कुरामा सीधै असर गर्छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा प्रदेश सरकार यताउता गर्नका लागि एकीकृत समाजवादी नै निर्णायक छ । कर्णाली प्रदेशमात्रै हो, समाजवादीबिना चलाउन सकिने ।
एमालेभित्र यतिसम्म गुपचुप
सोमबार बिहान पटाक्षेप भएको नयाँ सत्ता गठबन्धनको भित्री तयारी अलि पुरानै हो । छापामार शैली माओवादीको तर कार्यान्वयन भयो एमालेमा । यसक्रममा विशेषतः थुप्रै नेताले अन्तिम स्थितिमा मात्रै चाल पाए, कतिपयले समाचार हेरेर कुरा बुझे !
यहाँसम्म कि ‘वरिष्ठ’ उपाध्यक्ष ईश्वर पोखरेललाई समेत आइतबार रातिमात्रै ओलीबाट जानकारी दिइयो सो–यसो हुने भयो भन्नेर ! सोमबार बिहानै १५ मीनेटलाई बसेको पदाधिकारी बैठकमा अध्यक्ष ओलीले भन्नुभयो– शंकर र वर्षमानले यसबीच धेरै गृहकार्य गर्नुभयो । ईश्वरलाई पनि मैले हिजो बेलुका मात्रै थाहा दिएको हुँ । राप्रपालाई सरकारमा ल्याइन्न । गृह पाउनै पर्ने रविको मागवाला लफडामा हामी पर्दैनौं । यो काम सल्टाउने जिम्मा प्रचण्डजीलाई नै दिऊँ ।
अध्यक्ष ओली आइतबार जनकपुर जाने कार्यक्रम थियो । तर, सोमबार नै नयाँ घटनाक्रमको विकास हुने भएपछि २ सय किलोको मालामा अल्मल्याउन विष्णु पौडेललाई पठाउनुभयो । जबकि, अध्यक्षपछिको जिम्मेवारी सम्हाल्ने उपाध्यक्ष ईश्वर मानिन्छन् ।
एमाले मुख्यालय च्यासलमा चलेको चर्चाअनुसार, ओलीले वर्षमानसँग ट्युनिङ मिल्नेगरी सरकारमा शंकर पोखरेललाई पठाउने मनस्थिति बनाउनुभएको त हैन ? त्यसो गर्दा नारायणकाजी स्टाइलमा बीचमा राष्ट्रियसभाको कुनै सदस्य पद खालि गराएर वा दुर्गा पौडेललाई मनोनीत गर्ने पुरानो गठबन्धनको निर्णय उल्टाई शंकरलाई सांसद बनाउने अवस्था पनि हुनसक्ने एक नेताको अनुमान छ ।
प्रतिनिधिसभाको एक कार्यकालमा चुनाव हारेको व्यक्ति ५ वर्षभित्र मन्त्री बन्न नपाइने प्रावधान भएपछि यसअघि रेखा शर्मालाई उपराष्ट्रपति बनाएर दाङको त्यो क्षेत्रबाट शंकरलाई ल्याउने कोशिश भएको थियो । यसरी हेर्दा ओलीले अहिले पहिलो नम्बरमा शंकर र त्यसपछि विष्णुको बढी भर गर्नुभएको छ । जबकि, लुम्बिनीको पार्टी गतिविधिमा शंकर र विष्णु परस्पर प्रतिस्पर्धीझैं देखिन्छन् ।
टिप्पणीहरू