कम्युनिष्ट नेता न परे, सधैं कलह

कम्युनिष्ट नेता न परे, सधैं कलह
सुन्नुहोस्

त्यस्तो खुशी कि जहाँ नाच्ने आँगन पनि छैन ! एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको हकमा हो, यस्तो भएको ।सोमबार पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ बन्यो ।

कांग्रेससहितको गठबन्धन बेठिक हो भन्ने तर्क गर्दै आउनुभएका झलनाथका निम्ति सोमबारको भत्काई सुखद् विषय त बन्यो । तर, त्यही नाममा खुशी बाँड्ने मैदान उहाँको हकमा उपलब्ध छैन । ‘मैले जितेँ’ भनौं भने त्यो जितप्रति उहाँको भूमिका छैन । आफ्नो भूमिका खोज्दै हिँड्दा अकस्मात भएको घटनालाई चित्रित गर्ने शव्द पनि रहेन । 

गत साता भरतपुर भ्रमण वर्षको उद्घाटनका क्रममा चितवन पुग्दा र त्यहाँबाट फर्किंएलगत्तै झलनाथले आफ्नो राजनीतिक भूमिका खोज्दै केही ‘नागबेली’ कदम चाल्नुभयो । भरतपुर भ्रमण वर्षको उद्घाटनमा सबै पूर्वप्रधानमन्त्रीको उपस्थिति थियो । त्यसमध्ये एमाले अध्यक्ष केपी ओली हेलिकोप्टरमा जानुभयो र ढिलो पुग्नुभयो । त्यतिबेलासम्म सबै नेता मञ्चमा बसिसकेका थिए ।

ढिलो पुग्नुभएका ओली कोहीसँग नबोली आफ्नो सीटमा बस्नुभयो । लहर कस्तो थियो भने, ओली, त्यसपछि झलनाथ र माधव । कोहीसँग नबोल्नुभएका ओली झलनाथसँग भने बेला बेलामा मञ्चमै बोलेर देख्नेहरुले के के न कुरा गरेजस्तो हाउभाउमा हुनुहुन्थ्यो । बजारमा चलेको चर्चाअनुसार, आगामी वैशाख १५ मा हुने उपनिर्वाचनअन्तर्गत सुवास नेम्वाङको निधनपछि रिक्त रहेको इलाम– २ मा चुनाव उठ्ने चाहना झलनाथको छ । त्यस निम्ति उहाँ एमालेले टिकट दिए पनि तयार भएको भन्ने गरिन्छ । यद्यपि, स्वयं झलनाथले त्यस्तो चाहना वा रुची छ भनी सार्वजनिक रुपमा भन्नुभएको छैन । बजारमा त्यसरी हल्ला चल्नु र मञ्चमा ओलीले उहाँलाई महŒव दिएजस्तो देखिनुलाई संजोगमात्रै मान्न नसकिने कतिपयको ठम्याई थियो । 

उहाँले अर्को मुड देखाउनुभयो, त्यही सन्दर्भमा । प्रचण्ड कार्यक्रम सिध्याएर काठमाडौं फर्किनुभयो । अघिपछिजसो झलनाथ पनि काठमाडौं उत्रिनुभयो । तर, पार्टी अध्यक्ष माधव नेपाल चितवनमै रहनुभयो । त्यसरी हस्याङ्फस्याङ् गर्दै काठमाडौं फर्किनुभएका झलनाथ भोलिपल्टै बिहान बालुवाटार पुग्नुभयो । पार्टी अध्यक्षपछिको हैसियतका सम्मानित नेताले देशका प्रधानमन्त्रीलाई भेट्न जाने कुरा व्यक्तिगत हुनुपर्ने हो । तर, पार्टीका कोही पनि नेता उक्त भेटघाटबारे पूर्वसूचित थिएनन् । भेटमा उहाँको सरोकार थियो, इलामकै उपचुनावबारे । प्रचण्डको सल्लाह थियो, ‘गठबन्धन (तत्कालिन) को उम्मेदवार बनेर एमालेको समर्थन लिन सक्नुभयो भने राम्रो ! तर, एमालेको उम्मेदवार भएर चुनाव हार्नु हुन्छ । त्यो हार शर्मनाक हुन्छ ।’

उता, पार्टीभित्र झलनाथ विचारमा पनि एक्लिनु भएको छ । आसन्न महाधिवेशनका निम्ति पेश गरिनुपर्ने दस्तावेज तयार पार्न गठित मस्यौदा कमिटीमा एक्लो भएपछि दस्तावेज बाँडेर लेखौं, आ–आफ्नो जिम्माको काम गरौं भन्नुभयो । यसरी महाधिवेशनमा दस्तावेज नै अलग नआउने त भयो नै तर, उहाँको तर्फबाट केही न केही फरकपन आउने सम्भावना छ । किनभने, उहाँ द्विविधामा पर्नुभएको छ । पार्टीमा करिव–करिव एक्लै हुँदै गएको, अरुले मतलब नगरेजस्तो महसूस गर्नुभएको छ । यस्तो स्थितिमा त्यत्तिको व्यक्तित्वलाई पार्टीबाट धकेल्नु हुँदैन कुरामा नेताहरु त सचेत छन् । तर, उहाँलाई मनमनै लागेको छ कि, ‘म धकेलिँदैछु ।’

पार्टीभित्र तीन किसिमका विचारमा चलेको बहसमा झलनाथको कुरा कसैले मानेनन् । मुख्य शत्रुका रुपमा नेपाली कांग्रेसलाई किटान गरिनुपर्छ भन्ने उहाँको भनाइ थियो । यदि सत्ता साझेदारी रहेकै समयमा त्यस किसिमको किटानीका साथ जाँदा कांग्रेससहितको सरकारमा बस्नु भनेको वर्ग समन्वय गर्नु हो भन्ने अर्थ लाग्थ्यो । उहाँले भन्न थाल्नुभएको थियो कि, ‘जोसँग वर्गसंघर्ष गर्ने हो, ऊसँग सत्ता साझेदारीमा बस्नुहुँदैन । त्यो समर्पण हुन्छ ।’ यो कुरालाई पार्टीभित्र कसैले मानेनन् ।

उहाँको अर्को तर्क थियो, ‘जनताको बहुदलीय जनवाद कालातीत भयो । त्यसको कुनै अर्थ छैन ।’ जनताको जनवादी क्रान्ति सकिएपछि जबज पनि सकियो भन्दै उहाँले नेपाली विशेषताको समाजवादमा कहिल्यै प्रतिस्पर्धा हुँदैन र पछि गएर वर्ग, पार्टी केही पनि हुँदैन भने तर्क गर्नुभएको थियो । त्यसलाई पनि कसैले स्वीकार गरेनन् । जबजलाई पुरानै अर्थमा लिने हैन, तर बहुदलीय प्रतिस्पर्धाका हिसाबले, लोकतान्त्रिकरणका हिसाबले अहिले पनि लिएर जानुपर्छ भन्नेमा पार्टीभित्र एक मत देखिएको थियो ।

नेताहरुको भनाइ रह्यो, ‘नेपाली विशेषताको समाजवादमा बहुदलीय प्रतिस्पर्धा हुन्छ । वर्ग हुँदासम्म दल रहन्छ, दल रहेसम्म दलीय प्रतिस्पर्धा हुन्छ ।’ नेपाल चीन, उत्तर कोरिया, क्युबाजस्तो हैन, जहाँ जनवादी गणतन्त्र स्थापना भएको छ । चिनियाँँ विशेषताको समाजवाद भनेको खुला बजार अर्थतन्त्र हो । र, हाम्रो विशेषता बहुदलीय प्रतिस्पर्धा नै हो । त्यसअन्तर्गत तीन खम्बे अर्थनीति छ– सरकारी, सहकारी र निजी । 

अर्कातिर, कांग्रेससहितको गठबन्धन हुँदा झलनाथले इलाममा जित्ने सम्भावना थिएन । किनभने, ०७९ को निर्वाचनमा क्षेत्र नं. १ बाट हारेपछि उहाँले कांग्रेसलाई गर्नुभएको गाली उनीहरुले अझै बिर्सिएका छैनन् । अहिले सत्तारुढ गठबन्धन फेरियो । त्यसमा एकीकृत समाजवादी सामेल हुन्छ कि हुँदैन, टुंगो छैन । गठबन्धनमा उक्त पार्टी सामेल भएछ नै भने पनि त्यहाँको टिकट उहाँले नै पाउन संभव हुन्छ कि हुँदैन ? त्यो पनि टुंगो छैन ।

टिप्पणीहरू