आगलागी नियन्त्रणमा बागमती गुल्मको नमूना प्रदर्शन

आगलागी नियन्त्रणमा बागमती गुल्मको नमूना प्रदर्शन
सुन्नुहोस्

गर्मी चढ्दैछ, अब सुक्खायाममा आगलागीको जोखिम पनि बढ्दैछ । विभिन्न ठाउँमा आगलागीका घटना हुन थालिसके । सम्भावित दुर्घटना एवम् खतराबाट बच्न, बचाउन के छ पूर्वतयारी ? बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौंडाबाट टोली ठाउँ–ठाउँमा पुगेर सतर्कता र सचेतनामूलक गतिविधि सञ्चालन गरिँदै आएको छ । गुल्म प्रमुख आफैं पनि फिल्डमा खटेर प्रभावकारी ढंगले आगलागी नियन्त्रणको नमूना प्रदर्शन व्यापक रुपमा गरिएको छ ।


आगो के हो ? कसरी लाग्छ ? कसरी निभ्छ ? आगलागी नियन्त्रणमा प्रयोग हुने सामग्रीहरुको परिचय अनि आगलागी भएमा सुरुवाती अवस्थामा कसरी कुन साधनको प्रयोग गरी निभाउन सकिन्छ ? Fire Extinguisher को प्रयोगबाट ठोस, तरल, ग्यास र विद्युत लाइन सट भई आगलागी भएमा कसरी निभाउने ? भन्ने सैद्धान्तिक तथा व्यवहारिक ज्ञानसहितको नमूना प्रदर्शन गत फागुन २३ गते मकवानपुरको थाहा नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा सम्पन्न भएको थियो । 

बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म प्रमुख प्रहरी निरीक्षक चुडाकुमारी खड्काको कमाण्डमा प्रहरी अधिकृत तथा जवानसहित ११ जनाको टोलीबाट विद्यालय प्राङ्गणमा अग्नि सुरक्षा सम्बन्धी सचेतनामूलक नमूना प्रदर्शन गरिएको थियो । जिल्ला समन्वय समिति मकवानपुर र विपद् व्यवस्थापन गुल्मको संयुक्त आयोजनामा भएको कार्यक्रममा जिससका प्रमुख तथा पदाधिकारीहरु, थाहा नगरपालिका प्रमुख, विद्यालय पदाधिकारी, शिक्षक, विद्यार्थी र स्थानीय जनसमुदाय समेत गरी करिब ३०० जनाको उपस्थिति रहेको थियो ।

विपद् पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी सामुदायिक सचेतना कार्यक्रम अन्तर्गत विद्यार्थी भाइबहिनी तथा स्थानीय जनसमुदायलाई लक्षित गरी आगलागी नियन्त्रण सम्बन्धी यस्तै सचेतनामूलक नमूना प्रदर्शन कार्यक्रम फागुन ६ गते चितवनको माडी नगरपालिका–१ स्थित शोमेश्वर माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो । बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म प्रमुख खड्काको कमाण्डमा प्रहरी अधिकृत तथा जवानसहित १३ जनाको टोलीबाट विद्यालय प्राङ्गणमा करिब ५०० जनाको उपस्थितिमा नमूना प्रदर्शन गरिएको थियो । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मको समन्वयमा चितवनको रत्ननगरस्थित नेपाल नमूना उच्च माविमा आगलागी सम्बन्धी सचेतनामूलक कार्यक्रम पुसमै गरिसकिएको छ । रत्ननगर–२ को विद्यालय प्राङ्गणमा गुल्म प्रमुखको कमाण्डमा १३ जनाको प्रहरी टोलीबाट नमूना प्रदर्शन गरिएको थियो । 

वडा प्रहरी कार्यालय नारायणगढ र बागमती प्रदेश विपद् व्यवस्थापन बेश नारायणगढ, चितवनको संयुक्त आयोजनामा फागुन १७ गते भरतपुर–३ क्षेत्रपुरस्थित बकैना बाल बाटिका विद्यालय र २१ गते भरतपुर–१ को बालकुमारी इंग्लिस बोर्डिङ स्कूलको प्राङ्गणमा अग्नि सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको थियो ।

फागुन ११ मा मकवानपुरको हेटौंडा–१४ स्थित चुरियामाई उपभोक्ता समितिको नमूना भवनको प्राङ्गणमा स्थानीय जनसमुदायका लागि आगलागी सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको थियो । फागुन २४ गते हेटौंडा उपमहानगरपालिकाको आर्थिक  सहयोग तथा हातेमालो कन्सल्टिड्ड एण्ड रिसर्च प्रालिको आयोजनामा हेटौंडा–८, कमानेमा भएको कार्यक्रममा प्रहरी सहायक निरीक्षक सागर मोक्तानको कमाण्डमा खटिएको टोलीबाट विपद् पूर्वतयारी तथा प्रतिकार्य अन्तर्गत अग्नि सुरक्षा सम्बन्धी सचेतनामूलक नमूना प्रदर्शन गरिएको थियो । 

फागुन २७ गते हेटौंडाकै एशियन पेन्टस् नेपाल प्रालिमा विपद् पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया तथा नमूना प्रदर्शन कार्यक्रम गरिएको छ । प्रहरी निरीक्षक खड्काको कमाण्डमा खटिएको टोलीबाट उक्त उद्योगमा कार्यरत ६० जना कामदार, कर्मचारीहरुलाई विभिन्न संरचनामा हुने आगलागी, ताप प्रसारणको सिद्धान्त, अग्नि विपद् उद्धारमा प्रयोग हुने उपकरणहरु(Fire suit, BA set, fire Extinguisher) को परिचय, प्रयोग विधि, पहिलो उपचार सहयोगी (MFR) सम्बन्धी जानकारी गराउनुका साथै विपद् व्यवस्थापनमा विभिन्न निकाय एवम् संघ–संस्थाहरुसँगको समन्वय तथा भूमिका सम्बन्धमा सैद्धान्तिक तथा प्रयोगात्मक अभ्याससमेत प्रदर्शन गरिएको थियो । 

बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौंडामा गत फागुन २० गते काठमाडौंबाट विज्ञ आएर ३६ जना प्रहरी कर्मचारीहरुलाई अग्नि नियन्त्रण तथा चुनौती सम्बन्धमा अनुशिक्षण दिइएको थियो । हिजोमात्रै बागमती प्रदेश विपद् व्यवस्थापन बेश नुवाकोट र बेलकोटगढी नगरपालिका वडा नं. ७ को संयुक्त आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित महादेव माध्यमिक विद्यालयको प्राङ्गणमा स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक, विद्यार्थी लगायत सर्वसाधारणको उपस्थितिमा विपद् पूर्वतयारी तथा प्रतिकार्य (अग्नि सुरक्षा) सम्बन्धी सचेतनामूलक नमूना प्रदर्शन सम्पन्न गरिएको गुल्मले जनाएको छ ।

टिप्पणीहरू