‘प्रचण्ड’ र ‘अनन्त’लाई रोल्पालीको यो कस्तो बधाई

‘प्रचण्ड’ र ‘अनन्त’लाई रोल्पालीको यो कस्तो बधाई
सुन्नुहोस्

११ वर्षअघि बिबिसीले साझा सवालको एउटा एपिसोड माओवादी जनयुद्धको आधारभूमि रोल्पाको लिवाङमा तयार पारेको थियो । माओवादी केन्द्रका झक्कु सुवेदी, कांग्रेसका रमेश लेखक र हाल एकीकृत समाजवादीका प्रकाश ज्वाला वक्ता थिए ।

कार्यक्रम चलिरहेका बेला बीचमै एक महिलाले माओवादीप्रति कटाक्ष गर्दै झक्कुलाई प्रश्न सोधिन्– अब त जंगल पहिलाजस्तो छैन । पातलिएको छ । जनावरहरूलाई समेत लुक्न गाह्रो हुँदैछ । तपाईंंहरू चैं कता लुक्नुहुन्छ ?

झट्ट सुन्दा सामान्य लाग्ने तर मर्ममै प्रहार हुनेगरी सोधिएको प्रश्नको झक्कुले मुस्कुराउँदै जवाफ दिए– हामी लुक्नुपर्दैन । जनता आफैँ खोज्दै आउँछन् । माओवादीप्रतिको ‘क्रेज’ उचाईमा पुगेको बेला जनयुद्धको आधारभूमिमै उठेको यो प्रश्न चानचुने भने थिएन । माओवादीको ‘ओरालो यात्रा’को यौटा संकेत थियो त्यो । ०५२ साल फागुन १ गते होलेरी चौकी आक्रमण गर्दै सुप्रिमो पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको ‘रियल फेस’ शुरु गरे । त्यतिबेला रोल्पाली जनता नै हुन्, जसले ‘प्रचण्ड’हरूलाई आँखा चिम्लिएर विश्वास गर्थे ।

१० वर्षे जनयुद्धका बेला सबैभन्दा बढी क्षति रोल्पाले नै व्यहोर्‍यो – मानवीय होस् वा भौतिक । करिब ११ सयले ज्यान गुमाए । ७ सय ७४ जना अपाङ्ग छन् भने १ सय ६ जना बेपत्ता पारिए । जनयुद्धका २ सयभन्दा बढी घाइते उपचारको क्रममै छन् । उनीहरूसँग उपचार गर्ने पर्याप्त पैसा छैन । कतिपयले घर–खेत बेचेर ओखतीमुलो गरिरहेका छन् । २ सय ४१ जना बालिबालिका टुहुरा बने । १९ सय ८४ जना अपहरणमा परे । ५ हजार ३ सय जनाको सम्पत्ति लुटियो ।

युद्धकै कारण ४ सय २१ परिवारको भौतिक संरचना ध्वस्त भए । दुवै पक्षको यातनाबाट ४ हजार ७१ जना विस्थापित भए । अहिलेसम्म उनीहरू रोल्पा फर्केका छैनन् । अन्य जिल्लामा जसोतसो पेट पाल्दै छन् । ०६३ मंसिर ५ को शान्ति सम्झौतापछि माओवादी पटक–पटक सत्तामा पुग्यो । अहिले पनि सरकारको नेतृत्वमा छ, जनयुद्धका सुप्रिम कमाण्डर प्रचण्ड प्रधानमन्त्री छन् । तर, द्वन्द्व पीडितहरूको पुरानो घाउ निको हुने छाँटकाँट देखिएको छैन । एकातिर द्वन्द्व प्रभावितहरूको समस्या ‘ज्यूँ का त्यूँ’ छ, अर्कोतिर जिल्लामा भौतिक विकासको अवस्था लाजमर्दो छ । यद्यपि, केही नभएको भने होइन ।

कास्कीमा जन्मिएर चितवनमा हुर्किएका प्रधानमन्त्री प्रचण्डको राजनीतिक ‘टर्निङ पोइन्ट’ भने रोल्पाबाटै भएको हो । प्रचण्डको एक आह्वानमा रोल्पाली जनताले रगत र पसिना बगाए । तर, त्यसको बदलामा के पाए त ? भनिएला– गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता आदि । तर, नागरिकको जीवनमा के परिवर्तन भयो ? माओवादीको निरन्तर ओरालो यात्राको कारण खोज्दा यस्ता प्रश्नसँग जोडिएर आउँछ । ०६४ मा पहिलो संविधानसभा निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री हुँदा उत्सव मनाउनेहरूको मोर्चामा रोल्पाली नै अगाडि थिए । काठमाडौँमा प्रचण्ड प्रधानमन्त्री हुँदै गर्दा रोल्पामा विजय जुलुस निस्किएको थियो । सदरमुकाम लिवाङसहित जेल्वाङ, थवाङ, घर्तीगाउँ, होलेरी, गजुललगायत स्थानमा स्वतःस्फुर्त सडकमा निस्किएका रोल्पालीले आफ्ना सुप्रिमो देशकै कार्यकारी प्रमुख भएकोमा खुशियाली मनाएकै हुन् ।

तर, अहिले भने प्रचण्ड प्रधानमन्त्री हुँदा रोल्पालीहरूमा उत्साह छैन । विजय जुलुस त परको कुरा, उल्टै आलोचनाका आवाजहरू चर्किएका छन्् । कुनै समय ‘प्रचण्ड’को नाममै गौरव गर्ने रोल्पाली अहिले किन आलोचनामा उत्रिन थाले ? आत्मसमीक्षा गर्न जरुरी छ । रोल्पालीलाई ‘स्वीट्जरल्याण्ड’ चाहिएको छैन । चाहिएको छ त केवल पुरानो घाउहरूमा लगाउने मल्ह्म अनि जिल्लाको विकास ।

द्वन्द्ध प्रभावितको तथ्यांक हेर्ने हो भने रोल्पाबाट मात्रै करिब १६ हजारले राहतका लागि सरकारलाई गुहारेका छन् । तर, उनीहरूको दीर्घकालीन व्यवस्थापन गर्नुको साटो थोरै रकम फ्याँकेर पन्छाइएको आरोप छ । रोल्पाले प्रचण्डलाई मात्र होइन, कृष्णबहादुर महरा, वर्षमान पुन अनन्त, ओनसरी घर्ती, नन्दकिशोर पुन लगायत दर्जनौंलाई सत्ताको स्वाद चखाइसेको छ । तर, त्यहाँका नागरिकले भने अझै आफ्नो भोक मेटाउन सकेका छैनन् ।

भर्खरै वर्षमान अर्थमन्त्री बनेका छन् । तर, रोल्पाली जनतामा उत्साह देखिँदैन । जबकि ०६७ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्री हुँदा होस्, वा ०६८ सालमा अर्थमन्त्री बन्दा माडीचौरस्थित उनकै घरसम्म ¥याली निस्किएको थियो । २०६४ पछिका हरेक निर्वाचनमा क्रमशः जनमत घट्दै गएको र माओवादी आधार–इलाकामा पनि ह्रासोन्मुख अवस्थामा देखिन्छ । गत स्थानीय निर्वाचनमा रोल्पाका तीनवटा गाउँपालिका गुमाउनु माओवादी कमजोर हुँदै गएको उदाहरण हो । नेताहरू अझै नसच्चिए माओवादीका लागि आगामी दिन सहज नरहेको चुनावी परिणामले देखाउँछ ।

युवापुस्तामा माओवादीप्रति चर्को वितृष्णा देखिन्छ । युवालाई कसरी पार्टीप्रति आकर्षित गर्ने ? प्रचण्ड र वर्षमानसहित सरकारमा गएका नेताहरूले सोच्नुपर्छ– पहिलेझैँ भाषण गरेर युवा आकर्षित हुने स्थिति अब छैन । त्यसका लागि माओवादी मन्त्रीहरूले जनताको मनोविज्ञान बुझेर नयाँ ढंगले काम गर्न आवश्यक छ । 

पार्टीभित्रै असन्तुष्टि

जनता मात्र होइन, माओवादी कार्यकर्ता तथा पूर्वलडाकुमा समेत नेतृत्वप्रति असन्तुष्टि देखिन्छ । वर्षमान अर्थमन्त्री बनेकोमा मन नलागी–नलागी बधाई दिनुपर्ने अवस्था आएको पूर्वलडाकु अर्जुन सुवेदी बताउँछन् । पूर्ववडाध्यक्ष समेत रहेका उनी युद्धकै क्रममा हात गुमाएका द्वन्द्वपीडित हुन् । अर्जुन अहिले पार्टीका शीर्ष नेताहरूको कार्यशैलीसँग सन्तु्ष्ट छैनन् । आफ्ना कमाण्डरले गर्व गर्न लायक काम नगरेको उनको बुझाई छ । भन्छन्, ‘आफ्नै हातले मतदान गरेको जनयुद्धका नेता र कमाण्डर पटक–पटक मन्त्री बनेको देख्दा खुशी लाग्छ, तर मेरो नेताले गरेको काम भनेर गौरव गर्नलायक एउटा पनि भेटिँदैन ।’ आफ्नो कमाण्डर मन्त्री बनेपछि असन्तुष्टिका बाबजुद बधार्ई दिनुपर्ने उनको बाध्यता छ । 

माओवादीका अर्का नेता लेखमणि खड्का पनि वर्षमान अर्थमन्त्री बनेकोमा खासै उत्साही छैनन् । उनले घेराबन्दीमा पार्नेहरूबाट सजग रहन सुझावसमेत दिए । भन्छन्, ‘कतिपयले अनन्त अर्थमन्त्री हुनुभयो, अब हाम्रो मौका यही हो भनेर दैलो चहार्न थालिसके होलान् । कतिपयले व्यक्तिगत लाभ–हानीको क्याल्कुलेटर थिच्न शुरु गरिसके होलान् । तर कमरेड, तिनीहरूले डुबाउन सक्छन्, हाम्रै रोल्पाको शिर निहुर्‍याइदिन सक्छन् । हुन त परिपक्व राजनीतिको चेसगोटी चाल्ने मोर्चाको नेतृत्व स्वयं तपाईं गर्नुहुन्छ, गलत सञ्जालको घेरामा पक्कै पर्नुहुन्न होला । तर पनि सावधान रहनुहोला ।’ लेखमणिले ओरालो लागेको अर्थतन्त्रको गाडीलाई ड्राइभिङ गर्ने जिम्मा पाएकोले सही मार्गमा ल्याउन वर्षमानलाई सचेत गराएका छन् ।

देश र पार्टीको भविष्य तय हुनेगरी यो अवसरलाई सदुपयोग गर्न उनको सुझाव छ । भन्छन्, ‘पुनः शक्तिशाली अर्थ मन्त्रालयको ड्राइभिङ सिटमा बस्ने अवसर प्राप्त हुनु भनेको सिङ्गो रोल्पाको लागि गौरवको कुरा हो । पूर्वाधार र मानव सूचकाङ्कमा पछि रहेको रोल्पालाई माथि उकास्ने यो एउटा सुन्दर अवसर हो, सदुपयोग गर्नुहोला ।’ वर्षौँदेखि अलपत्र परेका शहीदमार्ग सडकखण्ड र माडी जलाशययुक्त हाइड्रोपावरलाई चाँडै सम्पन्न गरिदिन लेखमणिले वर्षमानलाई आग्रह गरेका छन्् । ‘शहीद मार्गले छिटै पूर्णता पाओस्, माडी जलाशययुक्त हाइड्रोपावर प्रोजेक्ट अगाडि बढोस्, अरु साना योजना थुप्रै छन्, अभिभावकत्व दिनुहोला’, उनी शुभकामना दिँदै भन्छन्, ‘अर्थविज्ञ र युवाहरूसँग आवश्यक सरसल्लाह लिन कञ्जुस्याइँ नगर्नुहोला, कम्रेड ।’

बर्मन बूढाको त्यो भविष्यवाणी

पछिल्लो समय रोल्पामा माओवादी शक्ति कमजोर बन्दैको सत्यलाई नजरअन्दाज गर्न सकिन्न । यदि नेता नसच्चिए अझै कमजोर बन्दै जाने पनि निश्चित छ । ९ वर्षअघि वर्मन बुढाले सुलिचौरमा आयोजित एक कार्यक्रममा माओवादीबारे भविष्यवाणी गरेका थिए । रोल्पामा पहिलो पटक कम्युनिष्टको ‘क’ भित्र्याउने उनै बर्मन (१९८७–२०७७) हुन् । कतिपयले उनलाई ‘कछाड बूढा’ पनि भन्छन् ।

कारण, उनले थवाङदेखि संसदसम्म गाउँको मौलिक पोशाक कछाड छाडेनन् । प्रचण्डले युद्धताका कयौँ पटक थवाङस्थित बर्मनकै घरमा पुगेर ‘वर्ग संघर्ष र सर्वहारको मुक्तिको लागि शुरु भएको क्रान्ति सफल गराउन’ आशीर्वाद लिए । उनै बर्मनले ०७१ सालमा माओवादी नेताहरू वैचारिक रूपमा स्खलित हुँदै गएको र पार्टीको भविष्य खतरामा पर्दै गएको बताएका थिए ।

माओवादी नेताहरूले संसद छिरेपछि रोल्पाली जनतासँग गरेका वाचा बिर्सिएको उनको दावी छ । जनताको मनोविज्ञान नबुझी राजनीति गरे पार्टी नै संकटमा पर्दै जाने उनको भविष्यवाणी माओवादीको हकमा मिल्दै गएको त होइन? भन्ने प्रश्न उब्जिएको छ ।
 

टिप्पणीहरू