अमिलोमा धमिलो, तेलमा झेल

अमिलोमा धमिलो, तेलमा झेल
सुन्नुहोस्

तपाईंले चुक अमिलो किन्ने गर्नुभएको छ ? वा कतै चुक अमिलो हालेका खानेकुरा किनेर खाँदै हुनुहुन्छ ? होशियार ! बजारमा नक्कली चुक अमिलोको बिगबिगी छ । कृत्रिम एसिड हालेर बनाइएको अस्वस्थकर तथा अखाद्य कालो झोल पदार्थ चुक अमिलोको नाममा पसलहरुमा छ्याप्छ्याप्ती पाइएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले हालै मात्र पनि चुक अमिलोका तीनवटा उद्योगविरुद्ध मुद्दा चलाएको छ । तीनवटा चुक अमिलोको नमूना परीक्षणका लागि पठाइएकोमा तीनवटैको रिपोर्टमा कैफियत देखिन आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख घननाथ अधिकारीले जानकारी दिए ।

लेबलमा निबुवा, कागती र ज्यामिरको रसबाट प्राकृतिक रुपमा तयार पारिएको चुक अमिलो भनी बिक्रीवितरण भइरहेको, ल्याब टेस्ट गरेर हेर्दा स्टार्च र कृत्रिम अमिलो पदार्थ साइट्रिक एसिड हालेर बनाएको पाइएपछि खैरहनी–१ को पहाडी चुक अमिलो, खैरहनी–४ को लक्ष्मी अचार तथा अमिलो उद्योग र रत्ननगर–३ को आचार्य फुड्स उद्योगविरुद्ध अदालतमा मुद्दा चलाइएको कार्यालयकी खाद्य निरीक्षक बन्दना पन्तले जानकारी गराइन् । 

कमसल खाद्य पदार्थ उत्पादन तथा बिक्री–वितरण कसुरमा चितवन जिल्ला अदालतमा गत मंसिर १३ गते दायर गरिएको मुद्दाको फैसला भने प्राप्त भइसनसकेको कार्यालय बताउँछ । खाद्य ऐन २०२३ को दफा ५ को उपदफा १ बमोजिम उनीहरुलाई ५० हजारसम्म जरिवाना अथवा ५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने खाद्य निरीक्षक पन्तले बताइन् । 

कृत्रिम एसिड हालेर बनाइएका यी नक्कली चुक अमिलो आधा–एक लिटरको बट्टामा ६०/७०, १००/२०० रुपैयाँमै बिक्री–वितरण भइरहेको उनले जनाइन् । ‘प्राकृतिक रुपमा निबुवा, कागती, ज्यामिरको रसबाट बनाउने हो भने त उसले त्यतिमा बेच्नै सक्दैन’, बन्दना भन्छिन्, ‘शुद्ध चुक अमिलोको मूल्य पनि घिउ जत्तिकै महँगो, किलोको १०००/१२०० सय पर्न जान्छ ।’ अप्राकृतिक पदार्थ प्रयोग गरी बनाइएका अखाद्यअमिलो सस्तोमा पाइने भएकोले चटपट, पानीपुरी, अचारहरुमा अत्यधिक मात्रामा प्रयोग भइरहेको पाइन्छ । हालै नमूना परीक्षणका लागि पठाइएको एउटा तोरीको तेलको रिपोर्ट पनि प्रतिकूल आएको कार्यालयले बताएको छ । 

यसैबीच, रंग हालेका कटन कैन्डीहरुमा ‘रोडामाइन बी’ भन्ने अखाद्य रंग प्रयोग भएको पाइएपछि देशभर रोक लगाइएको छ । विभागको परिपत्र अनुसार चितवनमा पनि कडाइ गरिएपछि अहिले त्यस्ता रंगीन कटनकैन्डी बजारमा खासै नदेखिएको खाद्य निरीक्षकको भनाइ छ । उनी भन्छिन् ‘बरु कतैकतै सेतो कटन कैन्डी चाहिँ देखिन आएको छ ।’

टिप्पणीहरू