भारतमा चर्चा बटुल्दै प्रजिना

भारतमा चर्चा बटुल्दै प्रजिना

पछिल्लो समय नेपाली गीत संगीतको क्षेत्र फराकिलो बन्दै गएको छ । गत महिना नेपाली मूलकी मेनुका पौडेलले ’इण्डियन आइडल’ मा सहभागी भएर तहल्का मच्चाइन् । उनलाई भारतीयहरुले नै ’दोस्रो लतामंगेशकर’ को उपमा समेत दिए । 

यतिखेर गायिका प्रजिना श्रेष्ठले भारतमा तहल्का मच्चाएकी छन् । चर्चित भारतीय पपस्टार बादशाहको नयाँ एल्बम ’एक था राजा’ मा उनले स्थान पाएपछि उनी एकाएक चर्चाको शिखरमा पुगेको बताइन्छ ।

बादशाहको नयाँ एल्बममा अर्जित सिंह, प्रजिना, आस्था गिल, एमसी स्टाट, रफ्तार, डिभाइनलगायतको सहकार्य छ । आगामी सोमबार रिलिज हुने एल्बममा १६ वटा गीत समावेश गरिएको छ । 

आफ्नो १२ वर्षे संगीत करिअरलाई सेलिब्रेसन गर्दै बादशाहले नयाँ अवधारणासहित यो एल्बम रिलिज गर्न लागेको जानकारी दिएका छन् । उनले गएराति सार्वजनिक गरेको एउटा ’अफिसियल अनाउन्समेन्ट’ को भिडियोमा अभिनेता शाहरुख खानको आवाज छ । 

यता प्रजिनाले भारतीय म्युजिकमा सुखद प्रवेश गरेसँगै नेपाली गायक–गायिकाहरुले प्रंशसा गरेका छन् । भारतीय संगीतका हस्तीहरुसँग सहकार्य गर्न पाउनु नेपालीको लागि राम्रो अवसर भएको भन्दै उनीहरुले प्रजिनालाई शुभकामना दिएका छन् । प्रजिनाको नेपाली गीतहरुमा ’यो शहर’ र ’हामी’ निकै चर्चित छन् ।
 

टिप्पणीहरू